-->
लुम्बिनीमा अब पर्यटकको बसाइ ३० मिनेट

वैशाख २४, २०७३- दशकौंदेखि बुद्ध जन्मस्थल लुम्बिनी आउने स्वदेशी र विदेशी पर्यटकको संख्या उत्साहजनक रूपले वृद्धि भइरहेको छ ।
पछिल्लो तथ्यांकअनुसार सन् २०१४ मा ११ लाख १२ हजार ९ सय ७१ जना आन्तरिक, भारतीय र तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका थिए । यति धेरै पर्यटकको भ्रमणको रोजाइमा परेको लुम्बिनीमा उनीहरूको बसाइ अवधि भने ३० मिनेटभन्दा कम छ ।
युनेस्कोको जापान फाउन्डिङ ट्रस्ट प्रोजेक्ट (जेफिट) ले गरेको ‘भिजिटर सर्भे एन्ड अब्जरभेसन’ ले लुम्बिनी आउने पर्यटकको बसाइबारे यस्तो अध्ययन गरेको हो ।
उसले सन् २०१३ को जनवरीमा लुम्बिनी आएका कुल २ सय ९३ वटा समूहमा सर्भे गर्दा लुम्बिनीमा ३० मिनेटभन्दा कम बस्ने पर्यटकको संख्या ७२ दशमलव ६ प्रतिशत, एक घण्टाभन्दा कम अडिने २१ दशमलव ८ र १ घण्टाभन्दा बढी समय बिताउने पर्यटक ५ दशमलव ५ प्रतिशत छन् ।
‘अहिले पनि लुम्बिनीमा पर्यटक बसाइको अवधि खासै लम्बिन सकेको छैन,’ लुम्बिनी विकास कोषका प्रमुख इन्जिनियर सरोज भट्टराईले भने, ‘लुम्बिनीमा पर्यटकलाई भुलाउने खालका पर्यटनमुखी कार्यक्रम सञ्चालन गर्न सकिएन ।’
विभिन्न बुद्धिस्ट मुलुकबाट आफ्नो मुलुक हुँदै लुम्बिनी आउने पर्यटकको समूहलाई भारतीय टुरगाइडले केहीबेर लुम्बिनी घुमाएर तत्काल भारततिरै फर्काएर लैजाने प्रवृत्ति भएको र सरकारी र निजी स्तरबाट पर्यटनमुखी नयाँ आकर्षक कार्यक्रम ल्याउन नसकिएको उनले बताए ।
लुम्बिनीमा पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने र विश्वकै प्रमुख गन्तव्य स्थलका रूपमा प्रचारप्रसार गर्ने भन्दै सरकारी स्तरबाट सञ्चालन गर्ने गरिएका पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम पनि उपलब्धिमूलक बन्न सकेका छैनन् ।
बरु यस्ता कार्यक्रमका नाममा करोडौं रुपैयाँ खर्चेर विदेश भ्रमण गरिने र लुम्बिनीको पर्यटन प्रवद्र्धन भन्दै काठमाडौंमै बजेट सिध्याउने गरेको आरोप स्थानीयबाट आयोजकमाथि लाग्ने गरेको छ ।
केही वर्षअघि मात्रै लुम्बिनी भ्रमण वर्ष र नेपाल भ्रमण वर्षको आयोजना गरी भ्रमण वर्ष अत्यन्त फलदायी भएको दाबी गरिएको थियो ।
स्थानीय पर्यटन व्यवसायी तथा सिद्धार्थ होटल एसोसिएसन अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले लुम्बिनी आएका पर्यटकलाई भुलाउने स्थल प्रशस्त भएर पनि स्तरीय यातायातका साधन, ती स्थलबारे प्रचारप्रसारको कमी, नेपाली ट्राभल एजेन्सीले प्याकेज टुर नगराउनु, स्तरीय सडक र होटल लगायत पूर्वाधारको कमी भएको बताए ।
लुम्बिनी आउने तेस्रो मुलुकका पर्यटकलाई भिसा नि:शुल्क हुनुले पनि लुम्बिनी आएका अधिकांश पर्यटक उही दिन फर्किने गरेकाले भिसा शुल्क कि अनिवार्य कि न्यूनतम बस्नुपर्ने नियम बनाउन जरुरी भएको उनले बताए ।
‘लुम्बिनीको झन्डै २ किमि लामो नहरको दुवैतर्फ किनारामा हरेक दिन साँझ नियमित विशेष ध्वनि र प्रकाश सहितको आकर्षक पूजा कार्यक्रम समावेश गर्ने हो भने पर्यटकले पूजाकौ निम्ति रात बिताउँछन्,’ श्रेष्ठले भने, ‘यसबाहेक दैनिक बुद्धको जीवनीमा आधारित नाटक वा सांस्कृतिक कार्यक्रमजस्ता नयाँ कार्यक्रम समावेश गरेर पर्यटकलाई आकर्षण गर्न जरुरी छ ।’
लुम्बिनी आएका स्वदेशी र विदेशी पर्यटकलाई लुम्बिनी विकास कोषको तीन वर्ग माइल क्षेत्र पर्खाल भित्रको स्थलबाहेक अन्य पर्यटक रम्ने स्थल नहुनुले पनि बसाइ अवधि लम्बिन नसकेको हो । मायादेवी मन्दिर, अशोक स्तम्भ र पाँच–सात देशका मोनास्ट्रीबाहेक पर्यटक आकर्षण गर्नेस्थल तथा कार्यक्रम लुम्बिनीमा सञ्चालित छैन ।
न त लुम्बिनी आएका पर्यटकलाई कपिलवस्तु, देवदह, रामग्रामलगायत स्थलमा लगेर बुद्धसँग सम्बन्धित स्थलबारे प्रचारप्रसार गरेर पुर्याउन सकिएको छ ।
‘लुम्बिनी आएका पर्यटकको बसाइ अवधि लम्ब्याउन नसक्नुमा लुम्बिनी विकास कोष, पर्यटन बोर्ड, सरकार सबैको कमजोरी रहेको र लुम्बिनी विकास कोषले मात्रै यो गरेन र त्यो गरेन भन्दै पन्छिन नमिल्ने लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङ बताउँछन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.