भुकम्पमा मृत्यु भएकाको तिथि अनुसार बर्खान्त गरियो
बैशाख ३१
३९ वर्षिया सानीकान्छी बस्नेत टहराको एउटा कुनामा सुँक्क–सुँक्क गर्दै थिइन्। अर्को कुनामा ब्राम्हण पढ्दै थिए। उनी एक्का लगाइरहेका थिए। पाठअनुसार ब्राम्हणले मृत्यु भएको व्यक्तिको नाम उच्चारण गर्दा सानीकान्छी झनै भक्कानिन्थिन् श्रीमान् सम्झेर।
जिल्लाको विकट गाउँ सेलाङ-७ आरुबोटेस्थित बस्नेतकी श्रीमान् गणेशबहादुरले भुईंचालोमा ज्यान गुमाएका थिए। गाउँमा रहेको कच्ची घर भुईँचालोको एकै झट्काले ढालेपछि गणेशबहादुर त्यहीं पुरिएर उनको मृत्यु भएको थियो। आज (शुक्रबार) श्रीमान्को बर्खान्त गर्दै गर्दा सानीकान्छी श्रीमान् सम्झिँदै भक्कानिएकी हुन्। गणेशबहादुरको मृत्यु वैशाख १२ मा भएपनि तिथि अनुसार आज(शुक्रबार वैशाख ३१)मा बर्खान्त गरिएको हो।
‘याद आइहाल्छ मन थाम्नै गाह्रो हुन्छ, के भनेर सम्झाउनु हामीले?’, सानीकान्छीका भाई शैलेन्द्र शिलवालले टेलिफोनमा भने, ‘चित्त बुझाउन रुनु बाहेक विकल्प पनि त छैन।’ उनले आफ्नो दिदीको अवस्था सुनाउँदै भने, ‘विपत्तिमा भिनाजुको मृत्यु भएको अवस्था देख्दा अहिले बर्खान्तमा दिदीको मन नथामिएको हो।’
आफ्ना श्रीमान्को बर्खान्तमा सानीकान्छी जस्तै स्याउलेकी चन्द्रकुमारी खत्रीसमेत धेरै बेर रोइन्। दुई दिन एक्का लगाएर शुक्रबार उनका श्रीमान् निलध्वजको बर्खान्त गरिएको हो। स्याउलेमा रहेको घर भुईंचालोले भत्किएपछि उनी चौतारामा परिवारसँगै बस्दै आएकी थिइन्। निलध्वजका परिवारले चौतारामै बर्खान्त गरे। ‘बुढेशकालमा बुढा साहारा बन्थे, पापी भुईंचालोले लगिहाल्यो,’ ७२ वर्षिया चन्द्रकुमारीले आँखामा आँसु पुछ्दै भनिन्, ‘के गर्नु, याद आउँछ, मन थाम्नै सक्दिन,’ उनका श्रीमान्लाई घरले किचेको थियो।
दुई जना ब्राम्हण पढाएर खत्री परिवारले एक्का लगाएका थिए। मृतक निलध्वजको फोटोमा माला राखेर आफन्तले श्रद्धाञ्जलीसमेत व्यक्त गरेका थिए। निलध्वजको तस्वीर देखेर उनकी श्रीमति धेरै भक्कानिएकी थिइन्।
उता बतासे गाविसका कुमार थापासमेत आफूले मन थाम्न नसकेको बताउँछन्। उनका बुबा ५७ वर्षिय इन्द्रबहादुर थापाको भुकम्पमा परि मृत्यु भएको थियो। ‘मन बाँध्न नसकिँदोरहेछ,’ कुमारले भने, ‘गाउँभरि धेरै ठाउँमा बर्खान्त हुँदा त्यो डरलग्दो दिनको याद आउँदा आँसु झरिहाल्दोरहेछ।’ उनले गाउँका सबैले भुईँचालो सम्झिएको सुनाए। बतासेमा मात्रै भुईँचालोबाट १ सय १६ जनाको मृत्यु भएको थियो। आधाजसो घरमा तिथिको दिन ब्राम्हण पढिरहँदा आफन्त सबैका आँखा रसाएका स्थानीयवासी बताउँछन्।
‘गाउँ सिंगै फेरि शोकमा डुब्यो,’ बाबुको वर्षदिनको किरिया सकेका कुमारले थपे, ‘जसको निधारमा पनि पहेंलो टीका देखिएपछि मन भक्कानिँदोरहेछ।’ जिल्लाका सबै गाउँमा आज (शुक्रबार) भुईँचालोमा परि मृत्युहरुको वर्खान्त गरिएको छ। आफन्तले मृत्यु भएको दिनको तिथिअनुसार परम्परागत रुपमा बर्खान्त गरेका छन्।
गत सालको वैशाख १२ गते भुईँचालो जाँदा जिल्लाको ९५ प्रतिशत घर भत्किएका थिए। पछिका पराकम्पले पनि जिल्लामा क्षति पुर्याएको थियो। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार सिन्धुपल्चोकमा भुईँचालोमा परि ३ हजार ५ सय ७० ले ज्यान गुमाएका छन्।
तस्वीर:चौतारामा चन्द्रकुमारी खत्रीका श्रीमान् निलध्वजको बर्खान्त गरिदैं।
- सेतो पाटी


0 comments
प्रतिक्रिया दिनुहोस्...