काठमाडौँ – प्रमुख राजनीतिक दलले संसदीय नियमावली निर्माणमा देखिएको विवाद आज साँझसम्म सहमति जुटाउने प्रतिबद्धता जनाएका छन् ।
सभामुख ओनसरी घर्तीको कार्यकक्षमा आज भएको प्रमुख तीन राजनीतिक दलको बैठकमा विवादित विषयमा सहमति जुटाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त भएको हो ।
सो अवसरमा सभामुख घर्तीले आफूले प्रमुख तीन दलका शीर्ष नेतालाई विवादित संसदीय नियमावलीमा सहमति जुटाउन आग्रह गरेको र उनीहरुले आज साँझसम्म सहमति जुटाउने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिइन् ।
‘‘ मैले नियमावलीमा तत्काल सहमति जुटाउनुस् भनेर आग्रह गरें, शीर्ष नेताहरुले कुनै न कुनै रुपमा निकास दिन्छु भनेर प्रतिबद्धता जनाउनुभएको छ, अपेक्षा गरौँ, नियमावलीमा सहमति हुन्छ ।’’ सभामुखले भनिन् ।
बैठकमा विशेष गरी सार्वजनिक सुनुवाइ समितिको सदस्य सङ्ख्या कति राख्ने भन्नेमा कुनै सहमति हुन सकेन । नेपाली काँग्रेसले सुनुवाइ समितिमा ७३ सदस्यीय नै हुनुपर्ने बताउँदै आएको छ भने नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) लगायतले नयाँ संविधानको भावनानुसार नै १५ सदस्यीय बनाउनुपर्ने धारणा राख्दैआएका छन् ।
दलबीच सहमति हुन नसक्दा नियमावली निर्माण प्रक्रिया सात महिनादेखि अवरुद्ध हुँदै आएको छ ।
बैठकपछि एमाओवादीका अध्यक्ष प्रचण्डले छलफल जारी रहेका कारण छिट्टै सहमति हुने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपाली काँग्रेसका नेताहरुले संसदीय दलको कार्यसमितिको बैठक बसेर सहमतिको आधार तयार पार्ने विश्वास हामीलाई दिलाउनुभएको छ, आशा गरौँ, चाँडै सहमति जुट्छ ।’
बैठकमा सभामुखले नियमावलीको विषयमा सहमति हुन नसक्दा संसद्को कार्यसञ्चालन तथा विभिन्न संवैधानिक पदमा नियुक्तिका लागि समस्या पैदा भएकाले तत्काल सहमति गरिदिन आग्रह गरेकी थिइन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा अोली, एमाओवादी अध्यक्ष दाहाल र प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवाको सहभागिता थियो । नियमावली मस्यौदा समितिको बैठक सोमबारका लागि बोलाइएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...