राजविराज— भारतीय दूतावासका उच्च अधिकारीले सप्तरी जिल्लाका मधेसवादी दलका नेतासँग भेटघाट गर्दै घोषित आन्दोलन चर्काउन आग्रह गरेका छन्। काठमाडौंस्थित भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन विनयकुमारले एक निजी स्टाफ नर्स पढाउने इन्स्टिच्युटमा मधेसवादी दलका नेतासँग मंगलबार राति भेटघाट गर्दै त्यस्तो अाग्रह गरेका हुन्।
नेपाल–भारत मैत्री संघले आयोजना गरेको पाठेघर र स्तन क्यान्सर परीक्षण शिविर उद्घाटन गर्न उनी मंगलबार राजविराज आइपुगेका थिए। स्वास्थ्य शिविर उद्घाटनका लागि आइपुगेका उनले मधेसवादी दलका जिल्ला स्तरका नेता कार्यकर्तासँग भेट गरी घोषित आन्दोलनबारे जिज्ञासा राखेका हुन्।
राजविराजस्थित छिन्नमस्ता ऐजुकेशनल ऐकेडेमीमा मधेशवादी दलका नेताहरुसँगको छलफलका क्रममा ड्युपटी चिफ अफ मिसन विनयकुमारले आन्दोलन सफल पार्न काठमाडौं केन्द्रीत आन्दोलनको विकल्प नरहेको भन्दै दृढतापूर्वक आन्दोलनमा होमिन आह्वान गरे।
झन्डै दुई घन्टा लामो घेटघाटमा मधेसवादी दलका स्थानीय र केन्द्रीय नेतासँग उनले सामूहिक र अलग–अलग गोप्य भेटघाट गरेको एक सहभागी नेताले नागरिकन्युजलाई जानकारी दिए।
स्टाफ नर्सको पढाइ हुने छिन्नमस्ता एकेडेमी संघीय समाजवादी फोरम नेपाल निकट शैलेन्द्र मोहन झा स्वामित्वको हो। भारतीय दूतावास निकट मानिने उनी नेपाल—भारत मैत्री संघका केन्द्रीय सदस्य हुन्। भारतीय अधिकारीसँग मधेसवादी दलका नेताहरुको भेटघाट उनैले मिलाएका हुन्।
मधेसवादी दलका नेताहरुसँग छलफल गर्नुपूर्व उनले जिल्लास्थित दलहरु, पत्रकार, समाजसेवी तथा नागरिक अगुवासँग छलफल गरेका थिए। स्वास्थ्य शिविरको उद्घाटन तथा एक दशकदेखि अलपत्र रहेका पाँच विकास आयोजनाबारे जानकारी लिन सप्तरी आएको भनिए पनि विनयकुमारको राजविराज बसाइको अधिकांश समय राजनीतिक भेटघाटमै ब्यतित हुन पुग्यो। उनी स्थानीय डिलक्स होटलमा बसेका थिए।
भारतीय दूतावासका अधिकारीसँग मधेशी मोर्चा सप्तरीका संयोजक एवम् राष्ट्रिय मधेश समाजवादी पार्टी सप्तरीका अध्यक्ष गजेन्द्र मण्डल, पार्टी वरिष्ठ केन्द्रीय उपाध्यक्ष शेखरकुमार सिंह, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साह, सदभावना पार्टी सप्तरीका अध्यक्ष सुनिलकुमार झा छलफल गरेका हुन्। यसैगरी सदभावना पार्टीका नेता दिपेन्द्र चौधरी, तराई मधेश सदभावना पार्टी सप्तरीका अध्यक्ष कपिलदेव यादव, बरिष्ठ नेता एवं विश्लेषक खुशिलाल मण्डल सहितकाहरुको उपस्थित रहेको थियो।
'अधिकार नपाएसम्म अान्दोलन चर्काउनोस्'
भारतीय दूतावासका डिसिएम विनयकुमार (बायाँ) मंगलबार रातिको बैठकमा। बायाँ मधेसवादी नेताहरु
मधेसवादी दलका एक जिल्ला अध्यक्षले नाम नबताउने सर्तमा बताएअनुसार मधेश आन्दोलनकै कारण भारत नेपालमा बद्नाम भएको भन्दै विनयकुमारले आन्दोलनको विकल्प नरहेको उल्लेख गरेका थिए। 'उनले आन्दोलनलाई काठमाडौं केन्द्रित गर्न कुनै कसर बाँकी नराख्न भनेका छन्', ती नेताले नागरिकन्युजसँग भने, 'आन्दोलन मधेशको अधिकारका लागि हो भने अधिकार नपाएसम्म आन्दोलन जारी राख्नुस्', विनयकुमारको भनाई उदृत गर्दै उनले भने। राजधानी केन्द्रित आन्दोलनमा सहभागिता बढाए सरकार माग पूरा गर्न बाध्य हुने विनयकुमारले सुनाएका थिए।
मधेसवादी दलका जिल्ला नेताहरुले भारतीय डिसीएम विनयकुमारसँग भएको भेटलाई स्वीकार गरेका छन्। विनयकुमारकै आग्रहमा जिल्लास्थित मधेसी नेतासँग गोप्य छलफलको प्रबन्ध मिलाइएको स्रोतले बतायो। नयाँ संविधानको विषयलाई लिएर आक्रोसित बनेको भारतले नेपालमाथि ६ महिना लामो नाकाबन्दी गरेको विषय सेलाउन नपाउँदै भारतीय दूतावासका उच्च कर्मचारीले मधेस आन्दोलनलाई पुनः उक्साएका हुन्।
बैठकमा सहभागी मधेशी मोर्चा सप्तरीका संयोजक गजेन्द्रकुमार मण्डलले भारतीय दूतावासका कर्मचारीसँग गोप्य भेटघाट भएको बताउँदै मधेस आन्दोलनबारे छलफल भएको बताए। भेटमा दूतावासका सप्तरीमा भारतीय दूतावासद्वारा सञ्चालित योजनाबारे छलफल भएको एवं आन्दोलनको विषयमा कुराकानी भएको उनले सुनाए।
विनयकुमार-सुरक्षा प्रमुखबीच राति भेटघाट
भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन विनयकुमारसँग जिल्लाका सुरक्षा प्रमुखहरुले राति नै छिन्नमस्ता एकेडेममा छलफल गरेका छन्। सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, प्रहरी प्रमुख भीमप्रसाद ढकाल, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सप्तरीका उपरीक्षक दमनबहादुर थापा, नेपाली सेनाको कृष्ण दल गणका प्रमुख कर्णेन भुवनेश्वर आचार्यले राति नै भारतीय दूतावासका विनयकुमारसँग भेट गरेका हुन्।
भेट के विषयमा केन्द्रित थियो भन्ने सुरक्षा तथा प्रशासनिक प्रमुखहरुले खुलाउन चाहेनन्। 'म सिडिओ सा'बको निर्देशन बमोजिम गएको हुँ', सहायक प्रजिअ अर्यालले भने। घोषित मधेस आन्दोलनको मिति नजिक आइरहेका बेला भारतीय दूतावासका उच्च अधिकारी मधेसमै अाएर राजनीतिक दल एव सुरक्षा अंगका प्रमुखसँग गरेको भेटघाटलाई अर्थपूर्ण रुपमा लिइएको छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...