-->
राष्ट्रपतिको सूचना बिक्री गर्ने को ? कमल–नेत्रबीच गोप्य मिलाप

काठमाडौं, ६ जेठ । उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापा र उनको पार्टी राप्रपा नेपालले आफ्नो सिद्धान्तलाई भुली बामपन्थीहरूको पछि लागेर सत्तामा हालिमुहाली गर्न पुगेपछि मन नपाराएकाहरूले थापालाई ठेगान लगाउने जुक्ति खोजेका छन् ।
थापाको व्यक्तिगत स्वभाव र चरित्रले गर्दा राप्रपा नेपाल भताभुङ्ग भएको भन्दै चिन्ता गर्ने केही नेता तथा कार्यकर्ताले गोप्य रुपमा अभियान नै चलाउन थालेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
आफ्ना सहोदर दाजुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षा सल्लाहकारमा नेपाली सेनाका पूर्व रथी नेत्रबहादुर थापालाई नियुक्त गर्न भ्याएका कमल थापाले आजकाल शीतल निवासको गोप्य सूचनाहरू बाहिर लगेर बिक्री गर्ने गरेको आरोप एमालेका केही नेताहरूले लगाउन थालेका छन् । नेत्रबहादुर थापाको एमालेभित्रै सुरुवाती दिनदेखि विरोध हुँदै आएको छ ।
पार्टीको सिद्धान्तअनुसार हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाका पक्षमा जोडदार रुपमा आवाज उठाउँदै आएका केशरबहादुर विष्ट र बिराजबहादुर विष्टलाई कारबाही गरेपछि थापाको चारैतिरबाट आलोचना भएको छ । विष्ट परिवारप्रति आक्रामक देखिएका थापाले ललितपुरको राप्रपा नेपालको कार्यसमिति नै बिघटन गरिदिएका छन् । विष्ट परिवारको घर ललितपुरमा पर्छ । ललितपुरको कार्यसमितिले राजसंस्थाको पक्षमा भेला गरेपछि रिसाएका थापाले कार्यसमिति नै बिघटन गरिदिएका हुन् ।
पार्टीको सिद्धान्त भुलेर आफ्ना अराजक क्रियाकलाप गर्दै आएका थापालाई साइजमा ल्याउन राप्रपाका केही नेताहरू पनि सक्रिय भएर लागेका छन् । राप्रपा र राप्रपा नेपालबीच हुने भनिएको पार्टी एकीकरणको विषय थापाको रवैयाका कारण तुहिएको छ । थापाले धमाधम पार्टीका नेता तथा कार्यकर्तालाई निष्काशन गर्न थालेपछि डराएका राप्रपाका नेताहरूले यस्ता व्यक्तिसँग पार्टी एकीकरण गर्दा झन् बेफाइदा हुने भन्दै एकता प्रक्रियालाई थाँती राखेका हुन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.