
आमा, म सहज अनुमान गर्न सक्छु : तपाईंले नारी भएकै कारण थुप्रैथुप्रै सास्तीको सामना गर्नु भएको छ । तपाईंलाई नारी हुनुका निक्कै पश्चाताप हुन सक्छ । तर मलाई तपाईंकै छोरो हुनमा खुब गर्व छ । यो ब्रम्हाण्ड, यो पृथ्वी, यो देश, यो जिल्ला, यो गाविसहुँदै तपाईंकै छोरो हुने सौभाग्य जुट्नु मेरो चानचुने जित होइन । मेरो जितमा सबैभन्दा खुसी कोही छ भने तपाईं नै हो ।
जन्मनेवित्तिकै म रोएँ कि रोइनँ थाहा छैन । तर म जन्मनुभन्दाअघि पक्कै तपाई रुनु भयो, म जन्मिएपछि तपाईंले सन्तुष्टिको लामो स्वास लिनु भयो । त्यो मेरै जितको खुसीयालीमा लिनुभएको सानदार स्वास थियो ।
तपाईंले मलाई नै जन्मउँछु भनेर जन्माउने कर्म गर्नु भएको नहुनसक्छ । जो जन्मे पनि, जस्तो जन्मे पनि छोराछोरीका रुपमा स्विकार्ने तपाईंको बिशाल छात्ति थियो, छ ।
लेखक : विमल नेपाल
तर तपाईंको कोखमा म नै हुर्किरहेको थिएँ । जन्मिएँ । र त आज दुनियाँलाई सगर्व भनिरहेछु, म माता फणिन्द्रकुमारीको छोरो हूँ । तपाईंले छोरी, श्रीमती, बुहारी, नन्द, भाउजू, काकीहुँदै आमाको भूमिका निर्बाह गर्नु भयो । ती प्रत्येक भूमिका तपाईको लागि कष्टप्रद नै थियो सायद । तर अरुभन्दा तपाईंलाई सबैभन्दा मन परेको भूमिका आमाको नै हुनपर्छ । किनकि, अरु भूमिकामा तपाईंलाई मान्छेहरुले निक्कै दुख दिए होलान् । तर, आमाको भूमिकामा दुख लिनु भयो । दुख स्विकार्नु भयो । त्याग गर्नु भयो ।
साँच्चै, त्यागमा कतिधेरै आनन्द छ है आमा ? मलाई यतिधेरै माया लगानी गर्नुभयो, तर कहिल्यै प्रतिफल खोज्नु भएन । ब्याज खोज्नुभएन । एकोहोर खन्याईमात्रै रहनु भयो । तपाईंको स्वार्थै भने पनि म फक्रियोस् भन्ने मात्रै थियो ।
फल लागेर खान पाउँला भन्ने कहिल्यै सोच्नु भएन । म फूलेँ, फूलिनँ थाहा छैन । फल लाग्यो, लागेन थाहा छैन । तर तपाईं अझै मलाई माया खन्याइरहनु भएको छ । अहिले यत्ति मात्रै लाग्छ कि, कतै तपाईंले खन्याउनु भएको माया मैले सम्हाल्न पो नसक्ने हूँ कि । आमाको माया ओभरफ्लो पो हुने हो कि । म यस्तो कुरा गरेर तपाईंको मायालाई मिनिमाइज गर्न सक्दिनँ– जस्तो, आफूले नखाईनखाई मलाई खुवाउनु भयो, रातभर नसुतेर मलाई सुताउनु भयो, कति गुहूमुत स्याहार्नुभयो, पहिलो पटक आमाभन्दा कति खुसी हुनु भयो, पहिलोचोटी बामे सर्दा कतिजनालाई सुनाउनु भयो, पहिलोचोटी तातेताते गरेर हिँड्दा खुसीको आँशु भर्यो कि झरेन, पहिलोचोटी स्कुल जाँदा, स्कुलमा पुरस्कार जित्दा, एसएलसी पास गर्दा, मेरो बिहे गर्दा तपाईंले कति हर्षाश्रु झर्नु भयो ? यस्तो लाग्छ, यि त सब प्राविधिक कुरा हुन् । योभन्दा हज्जारौंहजार गुणाबढी माया गर्नु भएको छ ।
कहिलेकाँही त सोध्न मन लाग्छ, मलाई किन यतिधेरै माया गर्नुभएको आमा ? अलि कम गर्न मिल्दैन र ? के सबैका आमाहरुले तपाईँले मलाई जत्तिकै माया गर्छन् होला त ?
हाम्रो समाज, धर्म, राजनीति सबैसबैले नारीलाई हेपेको छ । मेरी आमालाई हेपेको छ । यो देशको नीति निर्माण तहमा वस्नेहरुले किन आफ्नो आमालाई बुझेनन् । बुझेको भए त आमामैत्री नीति बनाउनथे होलान् नि । नारीमैत्री संस्कार बनाउने होलान् नि । किन यिनीहरु आमाविरोधी छन् । त्यसैले त भन्दैछु नि, मलाई मेरी आमाले जति अरुका अमाले छोराछोरीलाई माया गर्दैनन् कि क्या हो ।
यो ब्रम्हाण्डको सृष्टिगर्दा पनि नारीशक्तिकै भूमिका प्रधान हुनु पर्छ । पुरुषशक्तिले त यति सुन्दर सिर्जना गर्नै सक्दैन भन्ने मेरो ठम्याई छ । तर कसरी यो समाजमा पुरुष हाबी भयो ? कुन भिजिलान्तेले भिलेन रोल खेल्यो ? अब भिलेनको हत्या गर्नपर्छ ।
मेरी आमालाई नायिका होइन, नायक बनाउनु पर्छ । यस्तो लाग्दैछ, आमाले जन्माएकाहरुको भीडमा म मात्रै आमापक्षमा छु । तर म पनि वर्षौदेखि जकडिएको पुरुषसत्ताको ह्याङओभरमा छु । म यहाँबाट फुत्कन चाहन्छु । तर सकिरहेको छैन ।
आज म सहरमा समाचार, अक्षर र भावनाको खेती गरिरहेको छु । आमा भूकम्पले घर भत्काएपछि बनाएको टहरोमा वसेर मलाई सम्झिँदै रोइरहनु भएको होला । त्यो टहरोमा गर्मीले शरीरबाट निस्केको पसिना र आमाको आँशु दुवै तपतप झरिरहेको होला । अहिले आमालाई गम्ल्याङ्ग अंगालो हालेर धीत मर्ने गरी रुन मन छ । अनि पालैपालो आमाछोराले आँशु पुछ्ने मन छ । तर म यहाँ संस्कार र नीति बनाउनेहरुलाई आमामैत्री, नारीमैत्री संस्कार र नीति बनाउन नैतिक दबाब दिइरहेको छु । मेरी आमासँगै सम्पूर्ण आमाको न्याय होस् भन्ने चाहिरहको छु । त्यसैले पीडामा पनि म तपाईंकै छोरो हनुमा गर्व गर्नुस् आमा ।
म चाहेर पनि यो जुनीमा आमा बन्न सक्दिनँ, नारी हुन सक्दिनँ । मान्छेहरुले भन्ने ‘आइमाई’ बन्न सक्दिनँ । साँच्चै नारी हुनुसँगै आफ्नो गर्भसँग गर्व गर्नुस् । यहाँका केही मान्छेहरुले नबुझे पनि सत्य डग्दैन । आमाको मायाभन्दा विशाल र विशुद्ध सत्य अरु केही हुन सक्दैन । हुनै सक्दैन ।


0 comments
प्रतिक्रिया दिनुहोस्...