-->
पहिला दुलही थें, अब आमा भएँ : दिपाश्री निरौला

काठमाडौं, जेठ १२ – भनिन्छ, संसारको सबैभन्दा ठूलो खुसी नै हाँसो हो । मानिसलाई रुवाउन सजिलै सकिन्छ । तर हँसाउन साह्रै गाह्रो हुन्छ । यसरी मान्छेलाई संसारकै सबैभन्दा ठूलो खुसी हाँसो दिएर चर्चाको चुली कमाएकी दीपाश्री निरौला यतिबेला चलचित्रको निर्देशन गर्नमा व्यस्त छिन् । उनले खेल्ने गरेको हाँस्य श्रृँखला तितो सत्य बन्द भएको पनि एक वर्ष भइसकेको छ ।
तर उनको व्यस्तता भने झन चुलिँदै गएको छ । उनले पहिला खेलेको सिरियल र अहिले निर्देशन गरेको चलचित्रलगायतका विषयमा नारायण अधिकारीले गरेको कुराकानी :
एउटा कलाकार सधैं व्यस्त हुन्छ भनिन्छ ,तपाईं चाहिँ केमा व्यस्त हुनुहुन्छ ?
मेरो विभिन्न कामहरु भइरहेका छन् । विशेषत मेरो काँधमा अहिले एउटा निर्देशनको जिम्मेवारी थपिएको छ । छक्का पञ्जाको निर्देशनमा व्यस्त छु । भदौ २४ गते यो चलचित्र रिलिजको तयारी भइरहेको छ । अहिले सुटिङ सकिएको छ । त्यसको इडिटिङ डबिङलगायतका काममा व्यस्त छु । अरु भनेको विभिन्न स्टेज शो त भैहाल्यो, विज्ञापन पनि भइ नै हाल्यो । दर्शकहरुलाई हँसाउने काम छोडेको छैन, यसैमा व्यस्त छु ।
त्यो भन्दा पहिला त टेलिसिरियल खेलेर दर्शकहरुलाई हँसाउनुहुन्थ्यो नि । अहिले कस्तो लाग्छ ?
सिक्ने क्रममा सबै सिक्न पाइरहेको छु । मलाई त आफू एकदम भाग्यमानी मान्छे हुँ जस्तो लाग्छ । किनभने पहिलादेखि अहिलेसम्म निरन्तर काम गर्न पाइरहेको छु । त्यो पनि आफूले मन पराएको काम गर्न पाएको छु । अझै पनि म केही नयाँ कुरा सिक्ने क्रममा छु । मलाई नाच्न, हाँस्न मन प¥थ्यो पहिलादेखि नै । म जहाँ गएपनि कस्तो चञ्चले छे यो दीपा भन्थे । त्यो चञ्चलतालाई आफ्नो चलचित्रमा, टेलिसिरियलमा देखाउन पाएको छु, दर्शकको माया पाएको एकदमै खुसी लाग्छ ।
हँसाउनेको कुरा गर्दा उल्टो कपडा लगाएर हँसाउने, मुख बङ्ग्याएर हँसाउने, अनौठा नयाँ नाम राखेर हँसाउने गरिन्थ्यो । तर तितो सत्यले आफ्नै वास्तविक नामबाट तर्कद्वारा हँसाएको थियो । यसमा चाहिँ के फरक ?
वास्तवमा फरक भन्दा पनि आ–आफ्नै तरिका हो हँसाउने । पुराना विदेशी हाँस्य कालकार चार्ली च्याप्लिन वा मिस्टर विनको कुरा गरौं । नेपालको कुरा गर्दा हाडा दाई, गोपालराज दाई, हरिदाई, मदनदाई, सन्तोष पन्त हुँदै नयाँ आएका दिपा, दिपक, धुर्मुससुन्तली, जितुजी, किरणदाई, माग्नेबुढा, दमन रुपाखेती अहिले भद्रगोलसम्म आइपुग्दासम्म सबैले आआफ्नै हिसाबले हँसाएका छन् । आफू केमा पोख्त छु त्यो हिसाबले अगाडि बढ्ने हो । जस्तो तितो सत्यले चाहिँ के ग¥यो भने रियल नाम राखेर तर्कबाटै हँसायो । धुर्मुस सुन्तलीले आफ्नै तरिकाले हँसाए । माग्ने बुढाहरुले आफ्नै तरिकाले हँसाए । तर तितो सत्यले चाहिँ सत्य बिषयवस्तुलाई समाएर हँसायो । त्यसकारण हँसाउने भन्ने आआफ्नो तरिका हुन्छ । हाँस्यव्यङ्गलाई समय सापेक्ष बनाउनुपर्छ ।
तपाईहरुले पेट मिचीमिची हँसाउने गरेको तितो सत्य त बन्द छ । अब त्यस्तो सिरियल आउँदैन ?
हो तितो सत्य एक वर्षदेखि बन्द छ । तर बाटोमा हिँड्दा तितो सत्य नुहँदा शुन्य लाग्यो, हामीले खुराक पाएनौं भन्ने जस्ता गुनासोहरु सुन्छु । तर त्यसको लागि पनि हामी तत्पर भएर लागेका छौं । तितो सत्य र जिरे खुर्सानी मर्ज भएर सुनौलो हजार दिन सिरियल आउँदै छ । युनिसेफ र नेपाल टेलिभिजन सहकार्यमा यो सिरियल चाँडै आउँदैछ ।
पहिला तपाईहरुले तितो सत्यमा हँसाउने टे«न्ड र अहिलेको ट्रेन्डमा केही फरक भएको हो ?
परिवर्तन एकदमै धेरै भएको छ । दर्शहरु यति धेरै अपडेट हुनुहुन्छ कि उहाँहरुले आफूहरुलाई समयअनुसार अपगे्रड गर्दै जानुभएको छ । अब जे पायो त्यहीमा हाँस्नु हुँदैन । समय र स्थितिमा बाँधिएर हँसाउन सकियो भने त्यो अब्बल साबित हुन्छ । नभए त्यो आयो गयो । हामीसँग धेरै टिभी च्यानल छन्, धेरै बिकल्प छ, हातमै रिमोट हुन्छ, हामी चेन्ज गरिहाल्छौं । अब्बल साबित गर्न हामी नागरिकको मन मष्तिकमा घुसेर हँसाउनु पर्ने हुन्छ । पहिलाको जस्तो इजार लामो पारेर, केराको बोक्रामा चिप्लेर हँसाउन अहिलेको समयमा सान्दर्भिक छैन । यसरी हँसायो भने त्यस्को कुनै औचित्य हुँदैन । १०० भाग मनायो भन्छ त्यो कसैलाई थाहै हुँदैन । अहिलेको सन्दर्भमा हाँस्यको माध्यमबाट अनुशासित पनि बनाउनु सक्नु पर्छ । किनभने पहिला पहिला सरकारी कार्यालयमा यसो नगरौं है भरे तितो सत्यमा देखाइदेला भन्थे ।
तपाईहरुले दर्शकलाई हँसाइ राख्दा कोही टिभीको अगाडि रोहिरहेका पनि होलान । यस्तो स्थितीमा चाहिँ तपाईहरुलाई कस्तो लाग्छ ?
अब हेर्नु रुने मुडलाई हँसाउन एकदम गाह्रो छ । बरु हाँसेको मान्छेलाई रुवाउन सकिन्छ तर रोएको मान्छेलाई हँसाउन एकदम गाह्रो छ । हामीले अहिले हँसाएर पेट पाल्न पाइरहेका छौं एकदम भाग्यमानी लाग्छ आफूलाई । कोही मान्छे भावविह्ल भएर रोएको छ भने त्यो मान्छेलाई रुवाउने कुराबाटै हामीले हँसाउनु पर्छ । किनभने उसँग पनि त्यही पीडा छ, हामीसँग पनि त्यही पीडा छ । जस्तो भूकम्प पीडितको कुरा गरौं । भूकम्प प्रभावित क्षेत्रमा हामी गयौं । हामीले त्यहाँ नारा के दियौं भने राहत त जसले पनि दिए तर राहत वितरण भन्दा पनि मुस्कान वितरण आवश्यकता हो भनेर हामीले हाम्रो धर्भ निभायौ । तर त्यो बेला हँसाउन हामीलाई धेरै गाह्रो भएको थियो ।
तितो सत्यलाई एउटा के आरोप लाग्ने गर्थ्यो भने प्रत्येक वर्षको दशैं आउँछ त्यही कार्यक्रम, तिहार आउँछ त्यही कार्यक्रम । एक वर्षको तितो सत्य हेरेपछि अर्को वर्ष हेर्नु पर्दैन भन्ने दोष लाग्ने गरेको थियो । यसमा स्क्रिप्ट राइटरको खाँचो परेकाले तितो सत्य बन्द भएको हो ?
दर्शकहरुलाई एउटै कार्यक्रम कति दिने भनेर हामीले तितो सत्य बन्द गरेको हो । एउटै कुरा देखाउदा दर्शकलाई बोर लाग्छ । सधै दिपक दीपको झगडा कति हेर्ने, त्यो राज ठूलो भैसक्यो राजको लभ कति हेर्ने भन्नेकुरा पनि आएको थियो । जस्तो घरमा नयाँ दुलही आउदा मज्जा आउँछ । सबैजना हेर्न आउँछन् । तर ६ महिना–एक वर्ष भएपछि त्यही दुलही पुरानी हुन्छे भने जस्तै त्यही दुलहीलाई नयाँ दुलही बनाएर भित्र्याउँदै छौं हामी । नयाँ दुलही सुनौलो हजारलाई दर्शकले मन पराइदिनुहुन्छ भन्ने आशा छ । राम्रो कुराको थालनी गर्न केही ब्रेक पनि लिनु पर्ने भएकाले अहिले ब्रेक लिएको हो ।
अघि तपाईले सुनौला हजार दिन सिरियल आउँदै छ भन्नुभयो कस्तो सिरियल हो यो ?
वास्तवमा पहिला हामी हँसाइरहेका थियौं तर यो सिरियलमा चाहिँ स्वास्थ्यसँग सम्बन्धी, देशमा भएका राम्रा, नराम्रा कुराहरुलाई समेटर बनाइने छ । यसमा चाहिँ विशेषगरी गर्भवती महिलाको गर्भ रहेको समयदेखि बच्चा दुई वर्षको हुँदा सम्मको समयलाई कार्यक्रम समेटिने छ । यसमा पोषण कुराहरु पनि सम्मिलित हुन्छन् । हामीले पनि त्यसै अनुसार सहमति गरेका छौं ।
कहिलेदेखि दर्शकले हेर्न पाउँछन् त सुनौलो हजार दिन ?
ठ्याक्कै मिति त भन्न गाह्रो छ । तर एक हप्तामा फाइनल हुन्छ मिति । प्रसारण हुन चाँही लाग्छ होला एक डेढ महिना ।
तपाईं पहिला हास्य टेलिसिरियलमा व्यस्त हुनुहुन्थ्यो तर अहिले ठूला पर्दाका फिल्म खेल्नमा व्यस्त हुनुहुन्छ । फरक के पाउनु भयो ?
काम त काम नै हो । हामीले ६ एकान ६ बनायौं, वडा नं ६ बनायौं दर्शकले यति मनपराउनु भयो कि अब तिमीहरु यही बाटोमा लाग भने जस्तो लाग्यो । अहिले हामीले वडा नं ६ युट्युवमा राखेका छौं । दुई दिनमा आठ लाखले हेर्नु भएको छ । दर्शकले मन पराउनु भयो, भगवानको आशिर्वाद पाइरहेको छु खुसी लागेको छ ।
भदौ २४ गते प्रदर्शन हुने भनिएको छक्का पञ्जामा निर्देशनको भूमिका निभाउनुभएको छ कस्तो लागिराखेको छ ?
एकदमै ठूलो जिम्मेवारी छ । किनभने एउटा चलचित्र बनाउनु भनेको १० जना छोरा छोरीको विवाह गरे सरह हो । किन भने, पहिलामा आफू एउटा क्यारेक्टर वा हिरोइनको भूमिकामा हुँदा म एउटा दुलही भएको जस्तो फिल गर्थे । तर अहिले मेरो काँधमा बाबु आमा, दुलाहा दुलही, मेरो आफन्त, मान्यजन, सम्धी सम्धीना सबैको भएको जस्तो फिल भइरहेको छ । काम गर्ने जाँगर पनि बढेको छ । मसँग काम गर्ने समूह पनि राम्रो छ । मैले भनेको मानिदिनु हुन्छ । काम नौलो हैन मेरा लागि अनुभव नौलो हो ।
तपाईंको निर्देशनबाट दिपकजी पनि सन्तुष्टी हुनुभयो ? तपाईले त्यस्तो के जादू गर्नुभयो ?
वास्तवमा मेरो निर्देशक दिपक हो । किनभने मैले धेरै कुरा तितो सत्यबाट सिँके । मैंले गर्छु भनेपछि त्यो काम गरेरै छोड्नु पर्छ । म त्यही अनुसार निर्देशनमा लागे । मेरो कामको लगाव देखेर दिपकजी, जितुजी यो त कडा निर्देशक भएर निस्कने भई भन्नुहुन्छ ।
छक्का पञ्जा कस्तो फिल्म हो ?
यो हाँस्य कलाकारको वरपर घुमेको कमेडी फिल्म हो । जिन्दगीमा छक्का पञ्जा गरिरह्यो भने केहि हदसम्म राम्रो होला । तर सरल रुपमा गइयो भने त्यो मान्छे अविरल रुपमा बगिरहन्छ ।
तपाईले बनाएका चलचित्रमा यो ६ अंक किन जोडिने गर्छ ?
आहा ६ भन्ने कुरा गर्दा कति राम्रो छ हेर्नुत । ६ भन्ने पोजेटिभ कुरा हो । कुनै घरमा गएर दाइ चिनी छ भन्दा छ भन्ने जवाफ आयो भने ए चिनी रहेछ खान पाइने भइयो भन्ने आशा हुन्छ । ६ मा धेरै मज्जा छ । शुक्रबार अंकले हेर्दापनि ६ पर्छ । फिल्म रिलिज हुँदा पनि शुक्रबार नै पर्छ त्यो भएर ६ जोडिएको हो ।
अन्तमा छक्का पञ्जा हेर्न प्रतिक्षामा बसेका दर्शकलाई के भन्नुहुन्छ ?
यति धेरै माया गरेर बस्नु भएको दर्शकहरुले माया गर्दिनुस् । उहाँहरुले मन पराएको दिनसम्म हामीले काम गर्ने हो, त्यो भएर पनि मन पराइदिनुस् । लभ यु अल ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.