काठमाडौं, २५ वैशाख । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले एमाले नेतृत्वको सरकारले आफूसँग दूरी बढाउन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेर ठूलो गल्ती गरेको आरोप लगाएको छ ।
कांग्रेस केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले कांग्रेस र भारतसँग दूरी बढाउन प्रधानमन्त्री केपी ओलीले गर्नै नहुने काम गरेको आरोप लगाउनुभयो । आज बिहान दैनिक नेपालसँग कुरागर्दै केन्द्रीय सदस्य चौधरीले भन्नुभयो, ‘सरकारले गर्दै नहुने काम गरेको छ । राष्ट्रपतिको भारत भ्रमण रद्द गर्ने, राजदूतलाई फिर्ता बोलाउने जस्ता कार्य राम्रो कुरा होइन ।’
राजदूत उपाध्यायलाई राजनीतिक आक्षेप लगाएर फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध कांग्रेसले सदनमा जोडदार रुपमा कुरा राख्ने केन्द्रीय सदस्य चौधरीले चेतावनी दिनुभयो । ‘सरकारको स्वयच्छाचारिताको कांग्रेसले जोडदार रुपमा कुरा उठाउँछ’, उहाँले भन्नुभयो, ‘आवश्यक प-यो भने कडा कमद पनि उठाउन सक्छ ।’
उहाँले यस विषयमा सभापति शेरबहादुर देउवासँग पार्टीका नेताहरूले छलफल गरिरहेको बताउनुभयो ।
सरकार परिवर्तनको खेलामा सक्रिय भएको आरोप लगाउँदै शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले भारतका लागि नेपाली राजदूत उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । निर्णयको कांग्रेसले विरोध सुरू गरेको छ ।
राजदूत उपाध्यायलाई फिर्ता बोलाउने निर्णयले नेपाल–भारतबीचको कुटनीतिक सम्बन्धमा पनि असर पर्ने केन्द्रीय सदस्य चौधरीले बताउनुभयो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...