आगामी जेठमा हुने अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको तीव्र तयारी
२५ सय ६० औं बुद्ध जयन्तीको अवसरमा सरकारले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको तयारीलाई तीव्रता दिइएको छ । पर्यटन मन्त्रालयको संयोजनमा २०७३ साल जेठ ६ र ७ मा काठमाडौंमा हुने गोष्ठीको पर्यटन मन्त्रालय माताहतको नेपाल पर्यटन बोर्डले तयारीलाई तीव्रता दिएको हो ।
शान्तिका अग्रदुत गौतम बुद्धको जन्म र कर्मथालो भएकोले नेपाल बौद्ध दर्शनको मुहानको रुपमा रहेको छ । तर बुद्धको जन्मस्थलकै बारेमा विश्वमा अझै केही भ्रमहरु यथावत रहेकोले त्यही भ्रम चिर्ने उदेश्यले गोष्ठीको आयोजना गर्न लागेको हो । यसको तयारी तीव्र रुपमा भइरहेको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुखले बताउनुभयो ।
मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्र गत वर्षको बैशाख १२ गते गएको विनासकारी भुकम्पका कारण तहसनहस भएको थियो । भुकम्पले थला परेको मुलुकको पर्यटन क्षेत्र केही तंग्रीन नपाउदै भारतको नाकाबन्दीले फेरि यस क्षेत्रलाई थप असर पारेको थियो । यसले गर्दा २०७२ मा पर्यटकको आवगमनमा निकै कमि भएको थियो ।
यही कुरालाई समेत मध्यनजर राखी आगामी जेठमा बुद्ध जयन्तीको अवसरमा करिव २३ देशका राष्ट्रिय स्तरका बौद्ध संघ संस्थाहरुको सहभागीतामा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी नेपालको पर्यटन क्षेत्रलाई पुनः गति दिन महत्वपूर्ण रहने कार्यकारी प्रमुखको विश्वास छ ।
उहाँले गोष्ठीमा सहभागी हुनेले गौतम बुद्धको जन्मस्थल नेपालमा रहेको कुरा थाहा पाउँने र यसबाट विश्वमा रहेका धेरै भ्रमहरुको अन्त्य हुने दाबी गर्नुभयो । यसले गर्दा बुद्ध भूमिका रुपमा थप विदेशी पर्यटकहरु नेपाल भित्र्याउँन सहज हुने विश्वास छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...