रौतहट—पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पूर्व प्रधानन्त्रीहरुको अन्तरार्ष्ट्रिय संगठन निर्माण गर्न काम गरिरहेका छन्। उनको संयोजकत्वमा सार्क राष्ट्रका पूर्व प्रधानमन्त्रीहरुको साझा संगठन बनाउने तयारी भइरहेको हो।
सार्क राष्ट्रबीच एकता र समझदारी बढाउन तथा यो क्षेत्रबीच अन्तरक्रिया तीब्र पार्न पूर्व प्रधानमन्त्रीहरुको संगठन आवश्यक रहेको उनको बुझाइ छ।
एसियाली राष्ट्रका राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय सम्मेलनका संस्थापक समेत रहेका नेता नेपालले सार्कका पूर्वप्रधानमन्त्रीहरुको एउटा अलग्गै संगठन हुनुपर्ने धारणा बनाएर सम्मेलन गराउन लागेको बताए। एसियाली राष्ट्रका राजनीतिक दलहरुको संगठन बनाउन आफ्नो अहं भूमिका रहेको बताउँदै उनले सार्कका पूर्वप्रधानमन्त्रीहरुको संगठनले पनि चाँडै मूर्तरुप लिने विश्वास व्यक्त गरे।
सार्क राष्ट्रका पूर्व प्रधानमन्त्रीहरुको संगठन बनाउने समितिका संयोजक रहेका नेपाल यतिबेला सार्क मुलुकका पूर्वप्रधानमन्त्रीहरुसँग सम्पर्क गरिरहेका छन्। नेपालका सात जना पूर्वप्रधानमन्त्रीहरुसँग आफूले कुरा गरिसकेको जानकारी दिँदै उनले पाकिस्तानका पनि पाँचजना पूर्वप्रधानमन्त्रीसँग भएको कुराकानी सकारात्मक रहेको नागरिकन्युजलाई बताए।
'देशी एवं विदेशी शक्तिहरुबीचको सम्वन्ध अझ प्रगाढ बनाउन लागि यस्तो संगठन आवश्यक छ', नेता नेपालले नागरिकन्युजसँग भने, 'पूर्वप्रधानमन्त्रीहरुको गरिमा र आत्मबल बढाउने यो किसिमको संगठन विश्व राजनीतिकै दृष्टिले महत्वपूर्ण हुनेछ।'
पूर्वप्रधानमन्त्रीको साझा मञ्च निर्माणका लागि भारतमा काम गर्न भारतीय जनता पार्टीका नेता विजय जोलीलाई जिम्मेवारी दिइएको छ। बंगलादेशका पूर्वमन्त्री महबुबसित त्यहाँका पूर्व प्रधानमन्त्रीहरु संगठित गर्न सम्पर्क भइरहेको उनले जानकारी दिए।
मकवानपुरको हेटौँडामा नागरिकन्युजसँग विशेष कुराकानी गर्दै नेता नेपालले पूर्वप्रधानमन्त्रीहरुको संगठन आफैँमा एउटा गरिमापूर्ण संगठन हुने र सार्कको प्रतिष्ठामा वृद्धि हुने विश्वास व्यक्त गरे। पाकिस्तानका पूर्व प्रधानमन्त्री सुजत हुसैन चौधरीले पाकिस्तानमा पूर्वप्रधानमन्त्रीहरुको सम्मेलन बोलाउने र यसका लागि आफू आन्तरिक गृहकार्यमा जुटेको उनले बताए।


0 comments
प्रतिक्रिया दिनुहोस्...