काठमाडौं, वैशाख – ३ काठमाडौंका थप तीन स्थानमा फोहोर पानी प्रशोधन केन्द्र बन्ने भएको छ । भने त्यो केन्द्रबाट झण्डै ४ सय ५० किलोवाट बिजुली बाल्ने योेजना रहेको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
बन्न लागेका तीन वटै स्थानमा र गुहेश्यरीस्थित रहेका केन्द्रलाई थप गुण्स्तरीय बनाउँदै आधुनिक किसिमको प्रशाधन केन्द्र हुने निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकालले जानकारी दिनुभयो । निर्देशनालयले ढल व्यवस्थापनका लागि विभिन्न स्थानमा आधुनिक फोहोरपानी प्रशोधन केन्द्रको निर्माण गर्ने र त्यहाँबाट विद्युत निकाल्न मिल्ने गरी गृहकार्य थालेको हो ।
निर्देशनालयका अनुसार यसको लागि काम अगाडि बढिसकेको छ । निर्देशनालयले मेलम्चीबाट पानीको आपुर्ति भएसँगै फोहोर पानीको मात्रामा हुने वृद्धिलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका ढल व्यवस्थापन आयोजना अन्तर्गत विभिन्न स्थानमा फोहोरपानी प्रशोधन केन्द्रको क्षमता अभिबृद्धि, पुनःस्थापना र निर्माण कार्यको प्रक्रियालाई प्राथमिकताका साथ अगाडि बढाएको हो ।
गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्रको स्तरोन्नतीका लागि निर्माण व्यवसायी छनौट गरीसकेको अवस्था छ । गुहेश्वरीस्थित फोहोर प्रशोधन केन्द्रलाई थप अभिवृद्धि गर्दै भक्तपुरस्थित सल्लाघारी, ललितपुरको बालकुमारीस्थित कोड्कु र धोवीघाटमा नयाँ र आधुनिक केन्द्रको प्रशोधन केन्द्रको निर्माण गरी उपत्यकालाई सफा, सुन्दरका साथै विजुली निकाल्ने लक्ष्यका साथ काम थालिएको निर्देशनालयका प्रवक्ता ढकालले बताउनुभयो ।
प्रवक्ता ढकालका अनुसार, गुहेश्वरीस्थितको केन्द्रलाई अभिवृद्धिका साथै पुनःस्थापनाका लागि भारतीय कम्पनी भा टेक वाब्याग लिमिटेडसँग सम्झौता भइसकेको छ । कम्पनीले दुई वर्षभित्र अभिबृद्धि र पुनर्निर्माण सम्पन्न गर्ने र १० वर्षसम्म सो कम्पनीले हेर्ने सम्झौतामा उल्लेख गरीएको छ ।
गुहेश्वरीस्थित प्रशोधन केन्द्रले हाल एक करोड ६० लाख लिटर फोहोर पानी प्रशोधन गर्न सक्ने क्षमता छ । निर्देशनालयले यस प्रशोधन केन्द्रको क्षमता अभिवृद्धि गरी दोब्बर अर्थात तीन करोड २० लाख लिटर फोहोर पानी प्रशोधन गर्ने लक्ष्यका साथ काम अगाडि बढेको जनाएको छ ।
यसैगरी, भक्तपुरस्थित सल्लाघारी, ललितपुर बालकुमारीस्थित कोड्कु र धोवीघाटमा गरी नयाँ कुल ६ करोड ८० लाख लिटर फोहोरपानी प्रशोधन गर्न सक्ने क्षमताको केन्द्र निर्माण गर्ने योजना लिएको छ । यस्को टेन्डर प्रक्रिया अगाडि बढिसकेको निर्देशनालयले जनाएको छ । उक्त टेन्डर अप्रिलमा सकाएर त्यसको चार महिनापछि ठेक्का पट्टामा जानेगरी रफ्तारमा काम भईरहेको छ ।
निर्देशनालयले फोहोर प्रशोधन केन्द्रमा आधुनिक प्रविधि अपनाई गुहेश्वरीस्थितको केन्द्र र सुन्दरीघाटमा बन्ने केन्द्रमा ढल र पानीबाट निस्केको ग्याँसमार्फत विजुली निकाल्ने कम्पनीसँग संझौता गरेको छ । टेन्डर आव्हानमा समेत सो कुरा खुलाइएको छ ।
गुहेश्वरस्थित तीन करोड २० लाख लिटर फोहोर पानी प्रशोधन गरेर करिब दुई सय ४० किलोवाट बिजुली निकाल्न मिल्ने निर्देशनालयले जनाएको छ । त्यस्तै गरी, करिब तीन करोड ७० लाख लिटर फोहोर पानी प्रशोधन गर्ने धोबीघाटको केन्द्रबाटमात्रै दुई सय चार किलोवाट बिजुली निकाल्ने जनाएको छ । दुबै गरी झण्डै चार सय ५० किलोवाट बिजुली राष्ट्रिय प्रशारण लाईनमा जोड्ने योजना समेत लिएको छ ।
यसका लागि बागमती नदीको सहायक खोला हनुमन्ते र मनोहरा खोलाको दुबै किनारमा करिब २५ किलोमिटर फोहोर पानी बग्ने प्रणाली निर्माणका लागि टेन्डर प्रक्रियामा रहेको छ । निर्देशनालयका अनुसार त्यसमध्ये हनुमन्तेको ठेक्का अवार्डको अवस्थामा छ भने मनोहराको टेन्डर आव्हान भएको छ ।
त्यस्तै दोस्रो चरणको कार्यक्रममा खोकनामा नयाँ प्रशोधन केन्द्र निर्माण गर्न करिब ४० हेक्टर जग्गा अधिग्रहण गरिसकेको र गोकर्णको विस्तृत अध्ययन गरेर दोस्रो चरणको कार्यक्रममा राख्ने योजना भईरहेको निर्देशनालयका प्रवक्ता ढकालले बताउनुभयो ।
निर्देशनालयको विभिन्न आयोजना मध्ये ढल व्यवस्थापन आयोजना मार्फत सन् २०१८ सम्म सम्पन्न गर्ने गरी नेपाल सरकार र एसियाली विकास बैकको करिब एक सय ३६ मिलियन युएस डलर लागत विनियोजन भइसकेको छ ।
विभिन्न स्थानमा फोहोर प्रशोधन केन्द्रको निर्माण मार्फत नागरिकले ढलको गन्धबाट मुक्त हुन पाउने, स्वच्छ वातावरणको प्रत्याभुति गर्न पाउने, फोहोरबाट हुने रोगको दर कम हुने लगायतका फाइदाहरु लिन पाउने प्रवक्ता ढकालले दाबी गर्नुभयो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...