खुट्टामा हिरो चप्पल। सामान्य कपडाले शरीर ढाकेका बालिकाहरूले बाटोभरि चामलको धोक्रो बोकिरहेको लामो लाइन भेटिन्छ । आफ्नै साथीसँग उनीहरूकै भाषामा बोल्दै जिस्किँदै ३० किलोदेखि ५० किलासम्म चामल शीतलपाटीको हेलुवादेखि नाम्लोकै भरमा घर पुर्याउँछन्।
जिल्लाको भोटखोलापछिको दुर्गम क्षेत्र मान्तेवा, ताम्कु, वाला र सिसुवाखोलाकी बालिकाहरूको दैनिकी यसरी नै चामल, नुन, तेलको भारी गाउँ पुर्याउने र गाउँबाट उत्पादित जडीबुटी, अन्न खाँदबारीसम्म ल्याउँदैमा बित्छ। कोही विद्यालय भर्ना नभएका र केही कक्षा अध्ययन गरी बीचैमा पढाइ छाडेका बालिका भेटिन्छन्। 'गाउँमा विद्यालय छ, पढेर भाइबहिनी पाल्न परो। माइतीहरूले मात्र काम गरेकाले पुग्दैन। बाँच्नकै लागि पनि भारी बोक्नुपर्छ' बालिकाहरू एकै स्वरमा भन्छन्।
३० किलोग्रामको भारीसँग बाटोमा भेटिएकी सिसुवाखोला-२ की १६ वर्षीया सुनिता राई भीमसेन निम्न माध्यमिक विद्यालयमा कक्षा-८ की विद्यार्थी हुन्। उनी विद्यालय कमै जान्छिन्। उनकी छिमेकी साथी २२ वर्षीया विष्णु राईले सोही विद्यालयमा कक्षा-६ सम्म पढेर बीचैमा छाडे। उनलाई पनि विद्यालय जाने रहर छैन। काम नगरे जीविका चल्दैन भन्ने विवशता र चिन्तनले यहाँ काम गरेको छ।
जीवन जिउनकै लागि बालिकाहरू बिहान-बेलुकी नै भारी बोक्ने गर्छन्। सिसुवाखोला गाविसका सचिव गोपीशमशेर राई भन्छन्- 'साना नानीले पनि काम नगरे यस क्षेत्रमा हातमुख जोड्नै समस्या छ । आधारभूत र निःशुल्क शिक्षा, विद्यालय भर्ना अभियान प्रभावकारी बनाउन राज्यले थप कार्यक्रम ल्याउनुपर्ने आवश्यकता छ।'
महिला तथा बालबालिका कार्यालयका प्रमुख सुनिता सुवेदी भने बालबालिकाका लागि थप कार्यक्रम लैजाने सोचाइमा छिन्। तर, कहिले उनैलाई थाहा छैन । यता वाला याम्दाङ माध्यमिक विद्यालयमा कक्षा-६ सम्म अध्ययन गरी बीचैमा पढाइ छाडेकी सिसुवाखोला-१ छुदाककी १८ वर्षीया प्रमिला राईले घरायसी समस्याले दिक्क भएपछि पढ्न छाडेको बताइन्।
कालिका माध्यमिक विद्यालय सिसुवामा कक्षा-१० मा अध्ययनरत सिसुवाखोला-२ की १९ वर्षीया साजना राईका दुई दिदी र एक भाइ छन्। सबैजना खेती गर्छन् । भारी बोकेरै भए पनि उनी पढाइ खर्च जुटाउँछिन्। सोही गाउँकी २० वर्षीया सविता राईले पाँच वर्षअघि वीरेन्द्र उच्च माध्यमिक विद्यालय कुलुङमा कक्षा-१० सम्म अध्ययन गरेकी थिइन् तर गरिबीकै कारण पढाइलाई निरन्तरता दिन सकिनन्। र, उनी पनि तानिइन् मजदुरीमा।


0 comments
प्रतिक्रिया दिनुहोस्...