-->
ह्यारी पोर्टर कुर्सीको मूल्य छ करोड

न्युर्योक- बेलायती लेखिका जे.के. रोलिङको संसारभर रुचाइएको उपन्यास 'ह्यारी पोर्टर' लेख्न उनले जुन कुर्सी प्रयोग गरेकी थिइन्, न्युयोर्कमा त्यो कुर्सीलाई लिलामी गर्दा ३ लाख ९४ हजार पाउन्ड तोकिएको छ।
सन् १९३० को दशकमा बनाइएको सिमलको रुखको त्यो कुर्सीमा बस्न स्कटल्यान्डको एडिनबर्गस्थित कफी हाउसले उनलाई कुनै शुल्क लिँदैनथ्यो। दिनभरि उनी त्यही कुर्सी र टेबुलमा बसेर 'ह्यारी पोर्टर'को पहिलो र दोस्रो शृंखला लेखेकी थिइन्।
हेरिटेज अक्सनले सो कुर्सी सबै करसमेत गरेर ३ लाख ९४ हजार पाउन्ड (५ करोड ९१ लाख रुपैयाँ)मा बेचिएको बताएको छ। गएको २००९ मा पनि यसरी नै लिलामीमा बेचिएभन्दा यो १४ गुणा बढी रकम भएको अक्सन कम्पनीले जनाएको छ।
५० वर्षे लेखिका रोलिङले 'ह्यारी पोर्टर एन्ड फिलोसोफर्स स्टोन' र 'ह्यारी पोर्टर एन्ड द च्याम्बर अफ सेक्रेट्स' पुस्तक लेखेकी थिइन्। यी पुस्तक १९९७ र १९९८ मा प्रकाशन भएका थिए।
'त्यो कुर्सी ज्यादै आरामदायक थियो,' लेखिका रोलिङले कुर्सी मालिकलाई लेखेको पत्रसमेत प्रदर्शनमा राखिएको थियो, जसमा लेखिएको थियो, 'त्यस्तो नहुँदो हो त मैले टाइपराइटरमा घन्टौं लेख्न सक्तिन थिएँ होला!'
'यो कुर्सी अब मभन्दा निकै टाढा हुन लागेको छ र अब त्यसमा म कहिल्यै बसेर केही लेख्न पाउने छैन,' उनले लेखेकी छन्।
रोलिङले कफी हाउससँग त्यो कुर्सी मोटो रकममा किनेकी थिइन्। सन् २००२ मा नेसनल सोसाइटी अफ द प्रिभेन्सन अफ क्रुएल्टी टु चिल्ड्रेन नामक संस्थालाई दानमा दिएकी थिइन्।
'मैले यसैमा बसेर ह्यारी पोर्टर लेखेकी थिएँ,' भनेर रोलिङ आफैँले लेखेर हस्ताक्षर गरेको यो कुर्सी २००९ मा बेचिँदा २९,११७ पाउन्ड (४३ लाख ६७ हजार ८ सय ५० रुपैयाँ) तिरिएको थियो।
सात शृंखलाको ह्यारी पोर्टर संसारभर ६७ भाषामा अनूदित भएको छ। नेपाली भाषामा समेत अनूदित यो पुस्तकको अंग्रेजी संस्करण मात्रै ४ करोड ५० लाख प्रति बिक्री भएको छ। यस पुस्तकको प्रकाशनपछि संसारभर बाल पुस्तक पढ्नेको संख्या ह्वात्तै बढेको बताइन्छ।
ह्यारी पोर्टरको फिल्मसमेत अति सफल भएपछि लेखिका रोलिङ अर्बपति बनेकी थिइन्। २०१२ मा भने उनी अर्बपतिको सूचीबाट निकालिएकी थिइन्। उनले आफ्नो रकममध्ये अधिकांश दान दिएकाले उनको सम्पत्ति अर्बबाट घटेर करोडमा झरेको सम्पत्तिको गणना गर्ने पत्रिका फोर्ब्सले जनाएको छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.