-->
भारतलाई धेरै उत्ताउलो नबन्न गगन थापाले दिए यस्तो चुनौती

गोरखा, २० चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेर उत्ताउलोपना देखाएको बताए ।
असन्तुष्ट मधेसी, थारुलगायत समुदायलाई संविधान संशोधन गरेर हक, अधिकार दिइने भन्दै थापाले छिमेकीको उत्ताउलोपना आवश्यक नभएको टिप्पणी गरे ।
नेपाल स्वास्थ्यकर्मी सङ्घ गोरखाले छेवेटारमा आयोजीत शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने ‘हामी हाम्रो घर मिलाउन सक्षम छौँ । छिमेकीले उत्ताउलोपना देखाउनुपर्दैन ।’ जारी भएको संविधान कार्यान्वयन काँग्रेसको प्रमुख प्राथमिकता रहेको उनले बताए ।
‘संविधानप्रति असन्तुष्टि र आक्रोश देखिएको छ । मधेसी, थारुलगायत समुदायलाई चित्त बुझाएर मात्रै हामी अघि बढ्छौँ’ थापाले भने । काँग्रेस सरकारमा जान हतार नगर्ने भन्दै उनले संविधानको कार्यान्वयन गर्दै आउँदो २०७४ माघ ७ भित्र स्थानीय, प्रान्त र केन्द्रको निर्वाचन गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
विप्रेषणले मुलुक धानिएको भन्दै उनले जनताको आर्थिक स्तर परिवर्तन हुने गरी देशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए । ‘भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीले देशको अर्थतन्त्र डामाडोल भयो’, उनले भने ‘जनताको जिन्दगी परिवर्तन गर्नुपर्छ ।’ रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.