काठमाण्डौ,चैत २० – गत चैत्र १७ र १९ गते उनी बारे कान्तिपुर दैनिकमा र विभिन्न अनलाइनहरुमा एलीले ३ लाख ८३ हजार रकम बुझाउन नसक्दा स्कुलले चारित्रिक प्रमाणपत्र रोके पछि उनी “स्टाफ नर्स”को लाइसेन्स लिनका लागि जाँच दिनबाट वञ्चित भएको खबर बाहिर आएको थियो।
(तस्बीरमा : बायॉं माथि शरिङ ख्युङवा तामाङ,दाहिने माथि कविता सिंजापति मगर र तल एली तामाङ)
इटहरी ४ का लालबहादुर तामाङकी छोरी एलीलाई रकम नबुझाएको भन्दै चारित्रिक प्रमाणपत्र नदिइएकाले उनी नर्सिङ काउन्सिलको परीक्षाबाट वञ्चित भएकी थिइन् ।
इटहरीकै पिपुल्स मल्टिपल कलेजमा स्टाफ नर्स अध्ययनरत छोरीका लागि बुबा(जो आफै गरिबी र शारीरिक अशक्त छन्) एक खुट्टाले नाच्ने र ‘चटक’ देखाउँदै मुलुकका विभिन्न ठाउँमा समेत पुगे तर उनले सोचेजस्तो पैसाको जोहो गर्न सकेनन् । ‘कलेजले बांकी रकम नतिरी चारित्रिक प्रमाणपत्र नदिने भएपछि एलीले नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा सामेल हुन पाइनन् । अहिले उनलाई डिप्रेसनको औषधि खुवाउनु परेको बुबाले बताए ।
समाचार बाहिर आए पछि बैदेशिक रोजगारीको शिलशिलामा हाल इजरायलमा कार्यरत शरिङ ख्युङवा तामाङ र हङकङमा रहेका कविता सिन्जापति मगरद्वारा एलीको कलेजलाई तिर्न बांकी रहेको उक्त रकम रु ३ लाख ८३ हजार तिरिदिने भएपछि अहिले एली र बुबा लालबहादुर तामाङ काठमाडौंमा आइपुगेका छन्। आज विहान उनीहरुसँग भेटेर वास्तविक स्थिति अवगत गरिएको तामांग भाषाविद् अमृत तामांग योन्जनले जानकारी दिएका छन् साथै कसैले एलीको नाममा कुनै रकम सङ्कलन गर्नु भएको भए जानकारी दिन र अब उप्रान्त कसैले एलीको नाममा सहयोगको लागि रकम नउठाउनु हुन पनि अनुरोध गरिएको छ ।
यसरी हामी जस्तो दु:खी,गरिब र शारीरिक अशक्तता भएका ब्यक्ति को लागि जात,धर्म,साइनो भन्दा माथि उठेर परदेशी चेलीहरुले मेरो छोरीको लागि जुन् सहयोग गरिदिनु हुंदैछ,साँच्चै भगवान हुन्छ-हुंदैन तर म र मेरो छोरीको लागि वहांहरु भगवान बनेर आउनु भएको छ,एलीको बुबाले भने ।
रकम हस्तान्तरण कार्यक्रम आउँदो बिहिबार चैत्र २५ गते विहान ८:०० बजे नेपाल घेदुङको कार्यालय, पुतलीसडक काठमाण्डौमा सम्पन्न हुने अमृत योन्जन तामाङ ले बताउनु भएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...