प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको कुर्ची जसलाई चाहिन्छ उसैले लगे हुने बताएका छन्। ओलीले आफ्नो ध्यान कुर्चीमा नभई काममा भएको बताए।
कास्कीको पुरन्चौरमा स्थापना भएको प्राकृतिक स्रोत व्यवस्थापन कलेज भवनको सिलन्यास तथा कक्षा सञ्चालनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई कुर्चीको कुनै लोभ नभएको बताए। ‘म प्रधानमन्त्री हुनका लागि हतारो पनि गरिनँ’, उनले भने,‘ कुर्ची जसलाई चाहिएको हो लागे हुन्छ, मेरो ध्यान काममा छ।’
उनले जनताको आदेश बाहेक अरू कसैको आदेश आफ्ना लागि स्वीकार्य नहुने बताए। उनले नेपाल र नेपालीकै हितका लागि काम गर्ने र कसैको इसारा वा दवावमा नपर्ने प्रष्ट पारे।
नेपाल आफैमा आत्मनिर्भर बन्न नसक्दा नाकाबन्दीको समस्या झेल्न परेको उनले उल्लेख गरे। तराई केन्द्रीत दल र तिनका नेताहरुको नाम नलिई ओलीले उनीहरुलाई सिखण्डीको उपमा दिए। ‘हामीले देखिहाल्यौं सीमामा दुई/चार जना सिंखण्डी बाटोमा बस्दा खान नपाउने अवस्था आयो, अव त्यस्तो अवस्था आउन दिइन्नँ,’ उनले भने ।
उनले नेपाललाई पाँच वर्ष भित्र आत्मनिर्भर बनाउने बताए। उनले खाद्यान्नमा दुई वर्ष भित्र, कपासमा ५ वर्ष भित्र आत्म निर्भर बनाउने बताए।
दुई वर्षमा खाद्यान्नमा आत्मनिर्भर बन्ने उनले दाबी गरे।’ पाँच बर्ष भित्रमा लगाउने र ओढ्ने लगाएतका आधारभूत अवश्यकता पूर्ति गर्ने गरी सरकार अगाडि बढिरहेको उनको दाबी छ।
कृषि विषयको पढाइ सञ्चालन गर्ने गरी पुरञ्चौरमा स्थापना भएको यस क्षेत्रकै पहिलो कृषि कलेज भवनको प्रधानमन्त्रीले शिलान्यास गरे।
यसै वर्ष त्रिवि विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको कलेजमा ‘बिएससी एजी’ तहमा ५० विद्यार्थी अध्ययनरत छन् । उनीहरुले चैत २२ गतेबाट अध्ययन थालेका हुन् । सिलान्यास पस्चात प्रधानमन्त्रीले विद्यार्थीलाई करिब ७ मिनेट पढाएको थिए।
कलेज सञ्चालनका लागि पुरन्चौरका बासिन्दाले महायज्ञ मार्फत सबा ४ करोड रुपैयाँ संकलन गरेका थिए । अर्थ मन्त्रालयले ५ करोड रुपैयाँ उपलब्ध गराएको छ। क्याम्पसको भवन ३ करोड बढी लागतमा २० कोठे दुईतालाको बन्ने क्याम्पस सञ्चालन तदर्थ समितिका अध्यक्ष हेमप्रसाद गौतमले जानकारी दिए।
क्याम्पस सञ्चालनार्थ आवश्यक ६० रोपनी जग्गा लिएको छ । क्याम्पसको भवन नबनुन्जेलका लागि भारती भवन उच्च माविमै कलेजको पढाइ हुनेछ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...