-->
जब अाेलीले अंग्रेजीमा भाषण गरे

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा अाेलीको अंग्रेजीको पकड स्वतस्फुर्त भाषण गर्ने तहको छैन। भारतीय कुटनीतिज्ञसँग उनी हिन्दीमै कुरा गर्छन्। अन्य कुटनीतिज्ञ तथा विदेशी प्रतिनिधिमण्डलसँग भेट गर्नुपर्दा अंग्रेजी भाषामा दक्खल भएकाहरुको सहयोग लिन्छन्।
तर मंगलबार विद्यालय तहका विद्यार्थी माझ उपस्थित भएर उनले अंग्रेजीमा भाषण गरे। कसैले लेखेको भाषण पढेका पनि होइनन्। स्वतस्फूर्त अंग्रेजीमै भाषण दिए।
'हेल्लो विद्यार्थीहरु, तिमीहरु खुसी छौ ? म विश्वास गर्छु, आज खुसी छौ।' प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रेजीमा सोधेका थिए। विद्यार्थीले भने, 'खुसी छौं।'
प्रधानमन्त्री निवास बालुवाटार नजिकैको महेन्द्र राष्ट्रिय उमाविका विद्यार्थी माझ प्रधानमन्त्री ओलीले अङ्ग्रेजीमा भाषण दिएका हुन्। 'हेल्लो स्टुडेन्ट्स, आर यु ह्याप्पी?, आइ ट्रस्ट यु आर ह्याप्पी टुडे, बिकज टुडे इज द बुक डिस्ट्रिब्युसन डे' मुलुकका प्रधानमन्त्रीले अंग्रेजीमा सोधेको सुनेपछि विद्यार्थीले जवाफ पनि अंग्रेजीमै दिए- यस।
शिक्षा मन्त्रालयले नयाँ शैक्षिक सत्रका लागि अभियानका रुपमा थालनी गरेको निःशुल्क पाठ्यपुस्तक वितरण कार्यक्रमका लागि प्रधानमन्त्री ओली सो विद्यालय पुगेका थिए। बालुवाटारमै रहेर पनि प्रधानन्त्री वा शीर्ष नेतृत्व कमै पुग्ने सो विद्यालयमा प्रधानमन्त्री ओली पुगेर कक्षा १ देखि १० सम्मका विभिन्न विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक विरतरण गरे।
आफ्नो छोटो मन्तव्य प्रधानमन्त्री ओलीले आफ्नो मन्तव्य पूर्णतः अङ्ग्रेजीमा दिएका थिए। 'आर यु डुइङ एन्ड रिडिङ वेल ?' उनले सोधेका थिए, ' यु ह्याभ टु डु हार्ड वर्क एन्ड सुड डु समथिङ फर दिस नेसन' (तिमीहरुले कडा मेहनत गर्नैपर्छ र यो राष्ट्रका लागि केही गर्नैपर्छ) प्रधानमन्त्रीको अंग्रेजी सुनेर विद्यार्थी छक्क परेका थिए।
आफू सो विद्यालयमा पुनः समय मिलाएर आउने बताउँदै प्रधानमन्त्री ओली बाहिरिएका थिए। तत्कालै फर्किँदा भने विद्यार्थीहरु सन्तुष्ट देखिएनन्। उनीहरु प्रधानमन्त्रीसँग नजिक भई तस्बिर खिचाउन खोजिरहेका थिए तर मन्त्रिपरिषद्को बैठक भएकाले उनले फोटो खिचाउन भ्याएनन्।
हरेक शैक्षिक सत्रमा माध्यमिक तहसम्म सरकारले निःशुल्क पाठ्यपुस्तक वितरणको जिम्मेवारी निर्वाह गरिहेको छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.