-->
म जागिर खोजीरहेको छैन, तर नेपालका निम्ति उपलब्ध छु: पुबुदु

नेपाली क्रिकेट कोचका रुपमा लामो समय काम गरेका श्रीलंकाली मुलकका क्यानेडियन पुबुदु दासानायके छोटो समयका लागि नेपाल आएका छन् । विश्व क्रिकेट च्याम्पियनसिप अन्तरगत नामिबिया विरुद्धको खेलका लागि नेपाली टोलीलाई सघाउन आइसीसीले उनलाई नेपालमा बोलाएको हो ।
पुबुदुले छोडेपछि नेपाली राष्ट्रिय टीमले टीमले पहिलोपटक महत्वपूर्ण म्याच खेल्दैछ । सोमबार अबर काठमाडौं अवतरण गरेका पुबुदु भोलिपल्टै कीर्तिपुर पुगेका थिए । अनलाइखबरले उनीसँग त्रिवि क्रिकेट मैदानमा पुगेर कुराकानी गर्यो ।
कुराकानीका क्रममा पुबुदुले नेपाली टोलीप्रति त्यही प्रेम दर्शाए जुन उनी नेपालको कोच छँदा दर्शाउँथे । प्रस्तुत छ, पुबुदुसँग गरिएको कुराकानीः
फेरि नेपाल फर्कँदा कस्तो अनूभव भयो ?
रमाइलो महसुस भयो । काठमाडौंमा अवतरण गर्नु घर जस्तै लाग्छ । राम्रो लागिरहेको छ ।
तपाईंसम्म आइसीसीको प्रस्ताव कसरी पुग्यो र नेपाल आउनु भो ? पर्दापछाडि के-के भए ?
नेपाल फेरि आउने कुनै योजना थिएन, किनकी मैले नेपाल छाडेपछि कुनै सम्पर्क नै थिएन । डिभिजन वान खेल्दै गरेका खेलाडीहरु ३/४ महिना खेलविहीन थिए । अब उनीहरु फेरि नियमित र्फममा आउन गाह्रो हुन्छ । त्यो केही यहाँ थिएन ।
तर, यो बीचमा क्याम्प सुरु भयो । बन्दुला र अरुले मलाई सम्पर्क गरे । ‘फ्रि हुनुहुन्छ भने टिमलाई सहयोग गर्नुस’ भनेर मलाई प्रस्ताव राखे । छोटो समयका लागि म आउन तयार भएँ । दुई सातामा मैले के सहयोग गर्न सक्छु थाहा छैन । तर, आफ्नो तर्फबाट राम्रो गर्न प्रयास गर्छु ।
नेपाल छाडेर क्यानडा गएपछि तपाईँलाई अन्य देशबाट पनि प्रस्तावहरु आए होलान् नि
केही प्रस्ताव आएको थिएँ । तर, मैले नर्थ अमेरिकामा अवसर पाए काम गर्ने, नत्र अन्यत्र नजाने निर्णय गरेको थिएँ । नेपालको हकमा भने म आउन तयार थिएँ । केही एसियन देशले इच्छा देखाएका थिए, तर मैले मानिँन । किनकी फेरि लामो समय परिवारबाट टाढा रहन चाहन्नँ ।
उसो भए नेपाल तपाईँका लागि विशेष देश हो ?
हो । मेरो मन सँधै नेपालमै रहन्छ । म उनीहरुले राम्रो गरेको हेर्न चाहन्छु । उनीहरुले धेरै मेहनत पनि गरेका छन् । उनीहरु एसोसिएट देशमा टपमा छन् ।
केही साताअघिसम्म नेपालमा खेल हुनेमा शंका थियो । यदि खेल भारतमा सरेको भए के असर पर्थ्यो ?
विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा पर्न चाहने हो भने केही गर्नुपर्छ । र, घरेलु मैदानमा खेल हुँदा हामीलाई फाइदा हुन्छ ।
हामीले पपुवा न्यूगिनीसँग घरेलु मैदानमा खेल्ने मौका गुमायौं । हाम्रो सिंगो टिमलाई थाहा छ कि यदि हामीले यहाँ खेल्न पाएको भए दुबै अंक पाउथ्यौं । हामीले त्यो मौका गुमायौं । अहिले नामिबिया नेपाल आउने भएको छ, मलाई खुसी लागेको छ । यसको श्रेय आइसीसी र स्टाफहरुलाई जान्छ ।
भिडियो
क्रिकेट संघको विवादका बीच आईसीसीले नेपालमा नै खेल गर्ने निर्णय गर्यो । क्रिकेट समर्थक, नेपालको वातावरण वा के कारणले हो ?
यहाँ जुन खालको वातावरण छ, जुन क्रिकेट फ्यान छन्, अन्तर्राष्ट्रिय क्रिकेटका लागि ठूलो ‘मार्केटिङ टुल’ हो । एसोसिएट देशमा क्रिकेट हेर्न १५/२० हजार दर्शक आउँछन् भने यसले नै खेल कति लोकप्रिय छ भनेर देखाउँछ ।
मलाई लाग्यो यो पटक खेल हेर्न ठूला अधिकारीहरु नै आउनेछन् । म तपाईमार्फत क्रिकेट समर्थकलाई आहृवान पनि गर्न चाहन्छु कि यो दुई दिन क्रिकेट हेर्न आउनुस् र हामीलाई समर्थन गर्नुस् ।
हामीले दुई चरणका खेल गुमायौं र बाँकी टिम पनि कमजोर छैनन् । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको अवस्था चाहीँ कस्तो छ ?
हामी अहिले पनि धेरै पछाडि छैनौं । मैले अघि नै भनेँ कि पपुवा न्यूगिनीसँग घरेलु मैदानमै खेल्न पाएको भए हामीले जित्न सक्थ्यौं ।
तर, स्कटल्याण्डसँगको खेल भने मेरा लागि पनि निकै निराशाजनक रहृयो । हामीले पहिलो खेल जित्नुपथ्र्यो । युरोपमा खेल जित्न त्यति सजिलो पनि छैन, किनकी हामी धेरै एसियन कन्डिसनसँग परिचित छौं । यो त विगत भइसक्यो र त्यसलाई अब फेरि फर्काउन सम्भव छैन ।
तर, हाम्रो अझै सम्भावना छ । यदि हामीले यो दुई खेल जित्यौं तथा हङकङ र नेदरल्याण्डसँगको एक खेल जित्यौं भने शीर्ष चारमा पर्ने सम्भावना छ ।
उसो भए यो खेल नेपालको लगातारको खराव प्रदर्शनमा टर्निङ प्वाइन्ट बन्न सक्छ ?
हो । हामीले यो खेल जित्नैपर्छ । नत्र निकै कठिन हुनेछ । तर, टिमका हिसावले हामी पछाडि छौं । किनकी नेशनल टिमका खेलाडीहरु ३/४ महिना ब्रेकमा बसे ।
तपाईंले अन्तर्राष्ट्रिय क्रिकेटमा सुन्नु भएकै होला कि टप खेलाडी पनि घाइते भएर एक महिना बाहिर रह्यो भने टीममा फर्किँदा उ आफ्नो लेभलमा छैन भनिन्छ । हाम्रो पनि त्यही हो । हामीले त्यो वातावरण बनाउन सकेनौं । यो अँध्यारो पक्ष भयो ।
तर, अबको बाँकी केही समयमा हामीले मेहनत गर्नुपर्छ । किनकी तपार्इँले यो भनेर क्षमा पाउनुहुन्न ।
नेपाल र डिभिजन वान खेलिरहेका टिमहरुको कस्तो अन्तर छ ?
डिभिजन ४/३ खेल्दा जितका लागि खेलाडीहरुको प्रतिभा पर्याप्त हुन्छ । तर, डिभिजन २ र त्यसभन्दा माथि ट्यालेन्टले मात्र पुग्दैन, किनकी हरेक टिममा ट्यालेन्ट हुन्छ । खेलाडीहरु कसरी दबाब हृयाण्डल गर्छन्, सही समयमा सही निर्णय गछैन्, यस्ता धेरै फ्याक्टर हुन्छन् र यसका लागि लगातार क्रिकेट खेल्नुपर्छ ।
हाम्रो र युरोपियन टिममा त्यही फरक छ । नेदरल्याण्ड, आयरल्याण्ड र स्कटल्याण्डका धेरै खेलाडी इंग्लिस लिग खेल्छन् । उनीहरु सिजनभर खेल्छन्, चाहे त्यो लिग वन होस कि टु । नेपालमा त्यही छैन । अफगानिस्तानले केही वर्ष त्यहाँ खेल्यो । तर, हामीले कहिल्यै त्यो अवसर पाएनौं । त्यसैले हामी पछाडि छौं । हाम्रो खेलाडीहरुको दृढता जस्ता कुराले केही मद्दत त गरेको छ । तर, धेरै गाह्रो छ ।
त्यसो भए अघिल्लो र अहिलेको नेपालको खेलमा के फरक हुन्छ त ?
नामिबियामा भएको डिभिजन टुमा हामीले तीन खेल जित्यौं र दुई खेल हार्यौं । यदि थप एक खेल जित्न सकेको भए हामी आइ कपमा पुग्थ्यौं । यदि आइकपमा पुगेको भए झन् समस्या हुने रहेछ । हामी तयार नै भइसकेका रहेनछौं ।
हो, हामी त्यहाँ पुग्न चाहन्छौं । तर, हामीले चार दिवसीय खेल गुमाउने रहेछौं, किनकी खेलाडीहरुमा अनुभव छैन । त्यस्तो संरचना नै बनेको छैन ।
उसो आइलिगमा पुगेको भए पनि हतारो हुने रहेछ ?
हतारो हुने त म भन्दिँन । हामी खेल्न चाहन्छौं । खेलाडीहरुमा क्षमता पनि छ । तर, त्यसका लागि आवश्यक संरचनाहरु नै बनेको छैन । उदाहरणका लागि विनोद भण्डारी, महेश क्षेत्रीहरुले राम्रो गरिरहेका छन् र प्रदर्शन गर्न संघर्ष गरिरहेका छन् । तर, उनीहरुले खेल्न पाइरहेका छैनन् । यहि समस्या हो ।
क्रिकेट संघको विवादले गर्दा अमेरिकाले प्रतिवन्ध ब्यहोर्यो । यहाँ पनि विवाद देखिएको छ र अदालतसम्म पुगेको छ । तपाई त्यो खतरा देख्नुहुन्छ ?
आइसीसीले के चाहन्छ मलाई थाहा छैन । यसबारे कुनै टिप्पणी गर्न चाहन्न । तर, समय वितिरहेको छ । हामीले राम्रोसँग काम गर्न सकेका छैनौं ।
अन्तिममा, तीन वर्षभन्दा बढी नेपालमा काम गरेर जानु भो । अहिले छोटो समयका लागि भनेर आउनु भएको छ । यसले नेपाल र्फकने ढोका खोल्यो ?
म मेरो लागि जागिर खोजिरहेको छैन । तर, नेपालको टिमप्रति मेरो सहानुभूति छ । मैले भन्दै आएको छु कि नेपालले माथिल्लो स्तरको क्रिकेट खेलेको हेर्न चाहन्छु । र, यदि नेपालले मेरो सेवा आवश्यक छ भन्ने ठान्यो भने म कुनै पनि बेला खुसी साथ आउन तयार छु र हुन्छु ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.