जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले अवैध रुपमा हातहतियार बनाउने मेशिन सहित मसुरिया ईन्द्रपुर बस्ने पूर्व माओवादी लडाकु बाबुराम विकलाई पक्राउ गरेको छ । बढी आपराधिक गतिविधि हुने मसुरियामा प्रहरीले पहिलदेखि नै निगरानी बढाउदै आएको थियो । आफ्नै घरमा अवैध रुपमा हातहतियार निर्माण गरिरहेको सुचनाका आधारमा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो ।
पक्राउ गरिएको सामग्रीहरुमा हातहतियार निर्माण गर्ने मेशिन थान १, हातहतियार निर्माण गर्ने पुस्तक थान १, एस.एल.आर. राईफलको म्याग्जिन थान १, ३०३ राईफलको म्याग्जिन थान १ र गोली ५ राउण्ड, ७७ पेस्तोलको म्याग्जिन थान १, नट कटुवा पेस्तोल थान २, भरुवा बन्दुकको नाल थान ३, सानो हतियारमा प्रयोग हुने गोली ५ राउण्ड, सर्टगन थान १, भरुवा बन्दुकको तयारी अवस्थामा रहेको कुन्दा थान ३ लगायत हतियार निर्माण तथा मर्मतमा प्रयोग हुने किलाकाटी, खाँचा, पेस्तोल फ्रेम रहेको जानकारी पनि प्रहरी उपरीक्षक विष्टले दिनुभयो । तत्कालीन माओवादी लडाकु समेत रहेका विकले मुलुक शान्ति प्रक्रियामा आएपछि कैलालीको मसुरियामा रहेको माओवादीको तलबन्द शिविरबाट सो मेशिन आफुसंगै ल्याएर गाउँघरमा साना हातहतियारहरु मर्मत गर्ने कार्य गर्दै आईरहेको बताए । उनले आफु माओवादीमा रहदा प्राविधिक फाँटमा रहेको र त्यहि हतियार बनाउने तालिम लिएको समेत बताए ।
खुला सीमाका कारण साना हातहतियारहरु भित्रिन सक्ने भन्दै प्रहरीले सीमामा कडाईका साथ चेकजाचँ समेत भइरहेको बताएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...