एनसेलले समयमै कानुनबमोजिम कर नतिरेमा नयाँ शक्ति नेपालले देशव्यापीरुपमा एनसेल बहिस्कार गर्ने चेतावनी दिएको छ। नयाँ शक्ति नेपालले आइतबार ठूला करदाता कार्यालय हरिहर भवनका प्रमुख करअधिकृत शोभाकान्त पौडेललाई ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो चेतावनी दिएको हो।
नयाँ शक्तिकी नेतृ कल्पना धमलाको नेतृत्वमा कर कार्यालय पुगेको एक टोलीले कानुन बमोजिम राज्यलाई घाटा पर्ने गरी कर नतिरेमा देशव्यापीरुपमा एनसेलको प्रयोग बहिस्कार गर्ने अभियान चलाउनेसमेत बाध्य हुँने भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।
ध्यानाकर्षण पत्र बुझाउँदै नेतृ धमलाले भने, ‘एनसेलको सम्पूर्ण शेयर स्वामित्व बिक्री भएको तर स्थानीय स्वामित्वको २० प्रतिशत मात्र पूँजिगत लाभकर असुल भएको कुरा सार्वजनिक जानकारीमा आएको छ ।’ उनले प्रचलित कानुनविपरीत राज्यलाई घाटा वा नोक्सान पर्नेगरी वा कर दायित्व कम गर्ने वा कर असुली गर्न आलटाल गर्ने काम हुनु मुलुककालागि दुःखदायी भएको बताइन्। ‘यदि यस्तै गरियो भने हामी एनसेलको सेवा बहिस्कार गर्ने राष्ट्रव्यापी अभियान चलाउँछौं ।’
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘ठूला करदाता कार्यालयले सुशासन कायम गर्न आफनो ध्यान केन्द्रित गर्दै राज्यको तर्फबाट ठूला करदाताहरुवाट कानुनबमोजिम कर असुली गरी देश विकासका निम्ति र आधारभुत जनताको सेवाकानिम्ति श्रोत परिचालन गर्न आफनो ध्यान केन्द्रित गरोस् भन्ने पनि हामी गंभिर ध्यानाकर्षण गराउन चाहन्छौं ।’
‘नयाँ शक्ति नेपाल कुनै मोलाहिजा वा दवावमा नपरी चाँढो पूँजिगत लाभकर असूल गर्न ठुला करदाता कार्यालयलाई अनुरोध गर्दछ,’ पत्रमा भनिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...