सोलुखुम्बु : सोलुखुम्बुको खुम्जुङ-९ स्थित फोर्चे यस्तो गाउँ हो जहाँका अधिकांश घरपरिवार हिमाल आरोहणको आम्दानीबाट चलेका छन्।
आलु र फापर मात्र उत्पादन हुने सो गाउँका सबै घरका पुरुष हिमाल चढ्न जान्छन् वा पर्यटकको भारी बोकेर विभिन्न हिमालको आधार शिविरसम्म पुग्छन् । पाँचपटक सगरमाथाको सफल आरोहण गरिसकेका फोर्चेका पासाङनुरु शेर्पाका अनुसार यसबेला हिमाल चढ्न गाउँका ५० भन्दा बढी युवा निस्किएका छन्।
सोलुखुम्बुको खुम्जुङ-९ फोर्चे गाउँलाई हिमालको काख भनेर चिनिन्छ। यस गाउँमा ८५ परिवारको बसोबास छ । हेर्दा निकै सुन्दर देखिने यो गाउँभित्रको पीडा डरलाग्दो छ। आलु र फापर मात्र उत्पादन हुने यो गाउँमा पढेलेखेका कमै मात्र छन्।
सक्ने हिमाल चढ्नेलाई सहयोग गर्दै शिखरसम्म पुग्छन् भने कोही पथप्रदर्शक भएर, कोही खाना पकाउने काम त कोही भारी बोक्ने काम लिएर हिमालको आधार शिविरसम्म पुग्ने गर्छन्।
“हिमालको काम एकदमै खतरा छ, कुन बेला के हुन्छ केही ठेगान छैन, कमाउने माध्यम केही छैन, अनि हिमाल नगएर कसरी परिवार पाल्नु र ?”- तीन पटक सगरमाथाको शिखर चुमेका फोर्चेकै आङ छिरिङ शेर्पाले भने।
यहाँ सामान्य चामलको प्रतिकेजी रु २३० पर्छ। नुन पनि एक केजीको १८० रुपैयाँभन्दा बढी तिर्नुपर्छ। महँगीको मार खेपिरहेका उनीहरू वर्षमा एक पटक हिमाल चढेर पाएको करिब रु तीन लाखले परिवार चलाउन बाध्य छन्। हिमालको शिखर पुग्नेहरूले त्यति कमाए पनि आधार शिविरबाट फर्कनेको कमाई भने निकै कम हुन्छ। रासस


0 comments
प्रतिक्रिया दिनुहोस्...