-->
मादलजस्तै बज्छ ढुङ्गा !

पाल्पा, चैत २५–तेल्घा–४ गुफाचौरमा गुफामा ढुङ्गाले हान्दा मादलजस्तो बज्ने गरेको छ । ढुङ्गाले हान्दा मादलजस्तो ट्वाङ् टवाङ् गर्ने भएपछि मानिसले त्यसलाई निकै चाखलाग्दो गरी हान्ने गरेको स्थानीयवासी चिन्ताबहादुर कार्कीले बताए।
हाँगाजस्तै बाहिर निस्केको ढुङ्गाको भित्री भागमा खाली भएकाले नै मादल जस्तो बज्ने गरेको भनाइ पाइन्छ । उनले भने–“पहिला गुफा नै थियो हामीहरु स्कुलबाट हेर्न भनी आउने गर्दथ्यौँ, अहिले पुरिएछ ।” गुफाको ढुङ्गा हाँगाजस्तो बाहिर निस्केको छ, जुन हाँगालाई मानिसले हान्दै आएका छन् । तानसेनदेखि १० किलोमिटर दक्षिणमा अवस्थित सो मादलजस्तो ढुङ्गा बज्ने भएपनि यसको प्रचारप्रसार हुन नसकेको स्थानीय बासिन्दा कार्कीको भनाइ छ ।
प्रचारप्रसारको अभावमा यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन सकेको छैन । यहाँबाट जिल्ला सदरमुकाम तानसेन र सुन्दर माडीफाँटको दृश्यालोकन गर्न सकिने शीतल जलवायु भएकाले गर्मीका समयमा पर्यटक आकर्षण गर्न सकिनेछ । यो गुफा १८ फिट अग्लो र आठ फिट चौडाइ भएको र सो स्थानमा गणेशको मूर्ति स्थापना हुने भएको छ ।
भुरे राजाले राज्य गरेकाले पनि यो क्षेत्र अत्यन्त महत्वपूर्ण भएकाले यस क्षेत्रको विकास गर्न आवश्यक रहेको स्थानीयको भनाइ छ । गुफाचौरमा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने सम्भावना रहेपनि त्यहाँ पुग्न पर्यटकका लागि सडकको उचित व्यवस्था छैन । खानेपानीको समस्या गाउँलेले समेत भोग्दै आएकाले गुफाचौरमा पानीको समस्या उस्तै रहेको स्थानीयवासी कृष्ण रानाले बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.