-->
बलियो राष्ट्र नामिबियामाथि यसरी खेल्दैछ नेपाल

काठमाडौं । आइसिसी वल्र्ड डिभिजन लिग क्रिकेट प्रतियोगितामा शनिबार नेपालले नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ–नामिबिया दक्षिण अफ्रिकाकै बलियो राष्ट्र मानिन्छ । चार खेल गुमाएर नेपाल लिग अंकतालिकाको पुछारमा छ । नामिबियाले २ अंक हात पारेको छ । नेपालले नामिबियालाई हराए शीर्ष चारभित्र प्रवेशको बाटो खुल्नेछ ।
तीनपटक भिडन्त
१५ वर्ष माथिल्लो डिभिजनमा प्रतिस्पर्धा गरेको नामिबियाले सन् २००३ मा एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितासमेत खेलिसकेको छ । लामो समय डिभिजन– १ मा रहेको नामिबियाविरुद्ध नेपालले १५ महिनाअघि डिभिजन– २ मा प्रतिस्पर्धा गरेको थियो । आधिकारिक मानिएको सो खेलमा नेपालले तीन विकेटको जित निकाल्यो । यसअघि आइसिसीले मान्यता प्रदान नगरेको दुई अभ्यास खेलमा नेपालले बराबरी नतिजा हात पारेको थियो ।
घरेलु मैदानको फाइदा
नेपाललाई घरेलु मैदानको फाइदा हुनेछ । टर्निङ पिचमा नेपाली स्पिनर चम्कन सक्छन् । नेपालले तीन युवा खेलाडीलाई मौका दिएको छ । शक्ति गौचन, वसन्त रेग्मी, सुशन भारी तथा सन्दीप लामिछाने चम्के भने नामिबियाको ब्याटिङ लाइन धरापमा पर्न सक्छ । अर्कोतिर घरेलु समर्थकको साथ पनि पाउनेछन् । हजारौँ घरेलु समर्थक र मैदानमा नेपाली टोलीको प्रदर्शन अब्बल नै रहँदै आएको छ । अहिले पनि नेपाली खेलाडीले त्यसैको फाइदा उठाउन कोसिस गर्नेछन् ।
विदेशी प्रशिक्षक र कप्तान नेपाली समर्थकसँग सचेत
नेपालझैँ नामिबियालाई पनि शीर्ष चारभित्र प्रवेश गर्न दबाब छ । पहिलोपटक दक्षिण अफ्रिकी टोलीका रूपमा नामिबियाले त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नामिबियाका प्रशिक्षक डी ठाकुर र कप्तान स्टेफन बार्ड नेपाली समर्थकसँग सतर्क छन् । ठाकुर र बार्डले घरेलु समर्थक तथा मैदानमा नेपालको प्रदर्शन उत्कृष्ट हुने बताइसकेका छन् । करिब १५ हजार दर्शकमाझ नामिबियाका खेलाडी ‘नर्भस’ हुन सक्ने उनीहरूको अनुमान छ । ‘हामी यस किसिमको वातावरणमा अभ्यस्त छैनौँ, यसकारण नेपाली हजारांँ समर्थकबीच प्रतिस्पर्धा गरिरहँदा चर्को दबाब सामना गरिरहनुपर्छ,’ प्रशिक्षक ठाकुरले भने ।
खेलाडी फिट
नेपाली क्रिकेटरले गत सेप्टेम्बरमा पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गरेपछि अन्य अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाएका छैनन् । सात महिना चुपचाप बसेका नेपाली खेलाडीले प्रतियोगिताका लागि कडा मिहिनेत गरेका छन् । उनीहरूले दिनको सात घन्टा अभ्यास गरेको नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले जानकारी दिए । ‘सात महिना खेलाडी चुप नै बसे, तर एक महिनाभित्र उनीहरूले आफूलाई फिट पारे,’ टमाटा भन्छन्, ‘दिनको सात घन्टा अभ्यास गर्छन् ।’
स्पिनरमाथि विश्वास
त्रिवि मैदानको पिचमा सिमरभन्दा स्पिनरले फाइदा लिएको उदाहरण धेरै छन् । तर, अपवादका रूपमा यहाँ सिमरले ‘म्याच विनिङ पफर्मेन्स’ दिएका छन् । टोलीका पुराना र अनुभवी स्पिनरद्वय शक्ति गौचन र वसन्त रेग्मीको प्रदर्शनमाथि नेपालले आशा गरेको छ । त्रिवि मैदानको पिचसँग राम्ररी परिचित भएकै कारण गौचन र रेग्मीबाट उत्कृष्ट प्रदर्शन हुने विश्वास टमाटाको छ ।
विवादबीच तयार
नेपालले नामिबियाविरुद्ध खेल्न एक महिनाअघि मात्र तयारी थालेको हो । नेपाल क्रिकेट संघ ९क्यान०को विवादका कारण नेपालको तयारी ढिला भएको हो । राष्ट्रिय खेलकुद परिषद्ले रमेश सिलवालको अध्यक्षतामा क्यान तदर्थ कमिटी बनाएपछि विवाद माथिल्लो स्तरमै पुग्यो । यसको प्रत्यक्ष असर खेल तयारीमा पर्यो । परिषद् र क्यानबीच विवाद चलेकै कारण आइसिसीले नै हस्तक्षेप गर्नुपरेको छ । प्रतियोगिता नेपालमै आयोजना भइरहे पनि यसको सबै जिम्मेवारी आइसिसीका पदाधिकारीले नै गरिरहेका छन् । नेपाली पदाधिकारी केवल मूकदर्शक मात्र हुन् । आइसिसीको तीन प्रस्ताव पूरा भएपछि मात्र नेपालले प्रतियोगिता आयोजना गर्न पाएको हो ।
त्रिवि मैदानमा कडा सुरक्षा
नेपाल र नामिबियाबीच हुने दुवै खेलमा सुरक्षा व्यवस्था कडा बनाएको प्रहरीले जनाएको छ । खेललाई शान्तिपूर्वक सञ्चालन गर्न एसपीको कमान्डमा सात सय ७४ जना प्रहरी खटिने महानगरीय प्रहरी आयुक्त एआइजी प्रतापसिंह थापाले जानकारी दिए । ‘आइसिसी स्वयंले खेल आयोजना गरेको हुँदा क्यानलगायत निकायको खेलमा प्रस्ट भूमिका नहुँदा हामीले थप संवेदनशील भई सुरक्षा योजना बनाएका छौँ,’ थापाले भने, ‘खेलाडीको सुरक्षादेखि दर्शकबाट हुन सक्ने गतिविधि नियन्त्रणका लागि योजना बनाएर प्रहरी खटाउनेछौँ ।’ प्रहरीका अनुसार बम डिस्पोजल टिमदेखि विपत् उद्धारमा खटिने विशेष टोलीसमेत खटाइनेछ । नेपालमा खेल गराउन आइसिसीले राखेका तीन सर्तमध्ये एक सुरक्षा पनि भएकाले प्रहरीले खेलको सुरक्षामा विशेष जोड दिएको हो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.