देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको पर्यटन क्षेत्रका लागि २०७२ साल समग्र रूपमा निकै त्रास, अभाव र तनावकाबीच बित्यो । २०७२ सालको सुरुवातकै महिना गत वैशाखमा गएको विनाशकारी भूकम्प, त्यसपछि लगातार लामो समयसम्म गएको भूकम्पको पराकम्पनले पर्यटन क्षेत्रलाई मात्र नभएर सिंगो मुलुकलाई नै आर्थिक रूपले चौपट पा¥यो ।
गत बैशाख १२ गते गोरखाको बारपाकलाई मुख्य केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पमा परि करिब ८ हजारभन्दा बढीको ज्यान गयो । सो भूकम्पमा परी धेरै विदेशी पर्यटकको समेतको ज्यान गयो । राजधानी लगायत मुलुकभरका लाखौं घर, भवन, होटल तथा ऐतिहासिक सम्पदास्थल ढलेर ध्वस्त भए । जसका कारण नेपालमा भएका पर्यटकबीच भागदौड नै मच्चियो । जतिसक्दो छिटो यहाँ भएका पर्यटकले नेपाल छोड्न थाले भने संसारभर नेपालको पर्यटकीय सम्पदा खत्तम भएको खबर फैलियो र विदेशी सञ्चारमाध्यामले अब नेपालको भ्रमण सुरक्षित छैन भन्ने नकारात्मक सन्देश व्यापक रूपमा फैलाइदिए । त्यसले विदेशीलाई मात्र नभएर स्वदेशी पर्यटकलाई समेत त्रास र तनाव बढाइदियो ।
त्यहीबीच गत असोजमा संविधान जारी भएपछि भारतले गरेको अघोषित नाकाबन्दीका कारण मुलुकको पर्यटन क्षेत्र निकै नराम्रोसँग थला प¥यो । आर्थिक समृद्धिको दरिलो आधार पर्यटन क्षेत्रको दयनीय अवस्थाले पर्यटन क्षेत्रमा मात्र नभई पूरै मुलुकलाई नै चरम आर्थिक संकटमा पा¥यो । देशका हरेक क्षेत्रमा निकै नराम्रो असर पुग्यो । हिमाल आरोहण र साहसिक पदयात्रा पर्यटनका लागि वर्षकै सबैभन्दा उत्तम र उपयुक्त मौसम मानिने वसन्त ऋतुको समय भएको त्यो भयानक प्राकृतिकका कारण मुलुकको पर्यटन उद्योगलाई निकै नराम्रोसँग धक्का दियो । भूकम्पका कारण २०७१ सालमा समेत हिउँ पहिरोले अवरुद्ध भएको विश्वको सर्वोच्च शिखर सगरमाथासहित यहाँका सम्पूर्ण हिमाल आरोहण पूरै रोकियो । लाङटाङ, मनासलु, अन्नपूर्णलगायतका पदमार्गहरू पूरै ठप्प भयो । विनाशकारी भूकम्पको त्रासले नराम्रोसँग सताइरहेकै बेला नयाँ संविधान निर्माणप्रति व्यापक असहमति जनाउँदै भारतले गरेको अघोषित नाकाबन्दीले झन् मुलुकको पर्यटन क्षेत्रलाई चौपट नै बनाइदियो । नाकाबन्दीका कारण इन्धन लगायत अन्य अत्यावश्यक सामानको चरम अभावले राजधानीका ठूला तारे होटल, रेस्टुरेन्ट लगायत अधिकांश व्यक्तिका घरका भान्साको चुलो बाल्न दाउराको प्रयोग भयो । दाउरा पनि नपाएर धेरैले त कयौ दिन काँचै वस्तु खाएर बाँच्नुपर्ने अवस्था समेत सिर्जना भयो । भूकम्प र नाकाबन्दीपछिको त्यो दुःख नेपालीका लागि इतिहासकै पहिलो घटना बन्यो । जुन घटनालाई नेपालीले कहिल्यै नभुल्याउने अभाव र त्रासको वर्षका रूपमा बित्यो २०७२ साल । मुलुकको हवाई यातायतका क्षेत्रमा पनि बितेको वर्ष निकै दुःखद रह्यो । गत १२ फागुनमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान म्याग्दीमा दुर्घटना हुँदा सो विमानमा सवार यात्रु र चालकदलका सबै १९ जनाको निधन भएको थियो भने सोही वर्ष नेपालगन्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको विमान कालिकोटमा दुर्घटना हुँदा चालकद्वयले आफू मरेर भए पनि सो विमानमा सवार नौजना यात्रुको ज्यान जोगाएका थिए । गएको वर्षभर नेपाली आकाशलाई असुरक्षित भन्दै युरोपियन युनियनले यहाँको हवाई क्षेत्रमा लगाएको प्रतिबन्द अझै खुलेको छैन । सन् २०१४ मा ७ लाख ९० हजार १ सय १८ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । अध्यागमन विभागको तथ्याङ अनुसार सन् २०१५ मा सो संख्या ह्वातै घटेर जम्मा ५ लाख ५४ हजार ७ सय ४७ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...