काठमाडौं: सरकारमा सामेल तेस्रो ठूलो घटक राप्रपा नेपालले धर्म निरपेक्षता खारेज गर्नका लागि संसद्मा संविधान संशोधन प्रस्ताव लैजाने भएको छ । चैत १८ देखि २० सम्म बसेको पार्टीको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।
‘संविधानमा पूर्ण धार्मिक स्वतन्त्रता र सर्वधर्मका बीचमा समानता कायम राख्दै नेपाललाई हिन्दु राष्ट्रका रूपमा उल्लेख गर्न तथा धर्म निरपेक्षताको खारेजी गर्न संसद्मा राप्रपा नेपालले उपयुक्त समयमा संविधान संशोधन प्रस्ताव राख्नेछ । उक्त प्रस्ताव स्वीकृत नभएमा हिन्दु राष्ट्रबारे जनमतसंग्रह माग गर्दै पार्टीले देशव्यापी संघर्ष गर्नेछ', बैठकको निणर्यमा उल्लेख छ ।
त्यसैगरी हिन्दुत्वप्रति जनचेतना अभिवृद्धि गर्न, हिन्दु राष्ट्र पुनस्र्थापनाका निमित्त सशक्त दबाब सिर्जना गर्न, धर्म निरपेक्षताका आडमा योजनाबद्ध र संगठित रूपमा भइरहेको धर्म परिवर्तनलाई निरुत्साहित गर्न तथा जातीय आधारमा मन्दिर प्रवेश निषेध, बालविवाह, दहेज प्रथाजस्ता कुरीतिहरूको अन्त्यका लागि दबाब दिन आगामी जेठ मसान्तभित्र पचहत्तरै जिल्लामा हिन्दुत्व जागरण भेला तथा सभा आयोजना गर्ने निर्णय गरेको सहप्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले आगामी जेष्ठ मसान्तभित्र जिल्ला परिषद् सम्पन्न गरी जिल्ला कार्य समिति गठन गर्न निर्देशन दिएको छ । जेठ मसान्तभित्र जिल्ला परिषद् हुन नसकेको अवस्थामा जिल्ला कार्य समिति स्वतः विघटन हुने पनि बैठकले निर्णय गरेको छ ।
बैठकले संविधान निर्माणको अन्तिम चरणदेखि नै विभिन्न माग राखी मधेसमा भइरहेको आन्दोलनको समस्या समाधान राजनीतिक सहमति र वार्ताका माध्यमबाट हुनुपर्ने निष्कर्ष निकालेको छ


0 comments
प्रतिक्रिया दिनुहोस्...