चितवन, वैशाख ९–
चितवनको भरतपुरमा भाट–भटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरको शाखा संचालनमा आउँदै छ । शाखाको यही वैशाख ११ गते शनिबार शुभाम्भ गरिने आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सुपरमार्केटका अध्यक्ष एवंम प्रवन्ध निर्देशक मिनबहादुर गुरुङले १२ औं शाखाको रुपमा भाट–भटेनी चितवनमा स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले वैशाख ११ गते विहान १० बजेदेखि साँझ ८ बजेसम्म शुभारम्भको समय रहने जानकारी दिनुभयो । गुरुङले गरिबदेखि धनी उपभोक्ताहरुलाई एउटै मूल्यमा समान उपलब्ध गराउनु भाट–भटेनीको उद्देश्य रहेको बताउनुभयो ।
काठमाडौंको टंगाल, भाट–भटेनीबाट सुरु भएको भाट–भटेनी सुपर स्टोरले १२ औं शाखासहित राजधानी बाहिरका उपभोक्ताहरुलाई पनि उत्तिकै महत्वका साथ सेवा दिने योजना लिएर अघि बढिरहेको उहाँले बताउनुभयो । “सबै शाखामा एउटै सेवा हुन्छ, यस शाखाबाट चितवनका सेवाग्राही सन्तुष्ट हुन्छ भन्ने मेरो विश्वास छ”–अध्यक्ष गुरुङले भन्नुभयो । भरतपुरको यो शाखा भाट–भटेनी सुपरमार्केटको १२ औं तथा काठमाडौं उपत्यका बाहिरको तेस्रो शाखा हो । यसअघि काठमाडौंमा ९, पोखरामा एक र हालै धरानमा एउटा शाखा खोलिएको छ । यस भरतपुर शाखाको संचालनमा ७५ करोडको लगानी रहेको छ । यसमा करिव दुई सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
भाट–भटेनी सुपरमार्केटमा सुनदेखि नुन सम्मको दशौं हजारका सामानहरु रहेका छन् । यस शाखाको शुभाम्भको अवसरमा ग्राहकहरुले रेडिमेड गार्मेन्ट, किचेन वेयर, सारी, कुर्ता, जुत्ता, चप्पल, इलेक्ट्रोनिक्स र कस्मेटिकका सामानहरुमा १० प्रतिशत छुटका साथै ग्रोसरी र विभिन्न ब्राण्डका मदिरामा ५ प्रतिशतको छुटको व्यवस्था रहेको भरतपुर शाखाकी म्यानेजर पुनम गुरुङले जानकारी दिनुभयो ।
भाट–भटेनी सुपरमार्केटले सामाजिक कार्यमा पनि उत्तिकै आफ्नो भुमिका निर्वाह गरिरहेको छ । उसले नेपालको दुर्गम स्थानका दुई जना विद्यार्थीहरुलाई निःशुल्क एमबिबिएस डाक्टर पढाउने व्यवस्था गरिरहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...