-->
पूर्वमन्त्री शर्मा गाडी च्यासिस फेर्ने धन्धामा

काठमाडौं: नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री कमलेशकुमार शर्मा गाडीको च्यासिस फेर्ने अवैध धन्धामा संलग्न रहेको पाइएको छ ।
महानगरीय ट्राफिक महाशाखाले शर्माको टोयोटा ल्यान्ड क्रुसर बा २ च ९९५५ नम्बरको गाडीमाथि शंका लागेर नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । गाडी बनाउने मेकानिकले सडकमा ‘टेस्ट ड्राइभ' गर्न लागेको अवस्थामा ट्राफिकले दरबारमार्गबाट नियन्त्रणमा लिएको हो । उक्त गाडी नम्बर शर्माको नाममा दर्ता छ ।
गाडीको च्यासिस नम्बर काटिएको छ । सक्कली गाडी भए च्यासिस नम्बर काट्नु नपर्ने बुझाइ ट्राफिक प्रहरीको छ ।
ट्राफिक प्रहरीले गाडीका चालकबाट शर्माको नाममा जारी ब्लुकसमेत बरामद गरेको छ । ब्लु बुकमा सांसदको प्रयोजनका लागि लेखिएको छ । २०५४ जेठ १९ गते बागमती अञ्चलमा दर्ता गरिएको शर्माकै नाममा रहेको ब्लु बुकमा प्रज्ञापन पत्र नम्बर ६७०८ र रजिस्ट्रर नम्बर ५६३६६ उल्लेख छ । कानुनतः कुनै पनि सवारीसाधनको इन्जिन र च्यासिस नम्बर दर्ता कितामा जे छ त्यही उल्लेख हुनुपर्छ ।
पूर्वमन्त्रीको गाडी नम्बर अर्कै गाडी खरिद गरेर च्यासिस नम्बर टाँस्न लागिएको पाइएपछि अनुसन्धानमा संलग्न ट्राफिक प्रहरी अधिकृतहरू अचम्मित बनेका छन् । ‘प्रारम्भिक अनुसन्धान गर्दा गाडीको मोडल मिलाएर च्यासिस नम्बर टाँस्न खोजिएजस्तो देखिन्छ । शर्मा सम्पर्कमा आएका छैनन्, छानबिन भइरहेको छ', महाशाखाका एक उच्च अधिकृतले भने । शर्माको गाडीको नम्बर ल्यान्ड क्रुसर गाडीमै टाँसिएको छ । कपिलवस्तु तौलिहवाका शर्मा नेपाली कांग्रेसको हालै सम्पन्न १३ औं महाधिवेशनमा खुलातर्फबाट केन्द्रीय सदस्यमा चुनाव लडेर हारेका थिए ।
महाशाखाले अर्को इन्जिन नम्बर फेरिएको गाडी पनि नियन्त्रणमा लिएको छ । ग १ च १९०४ नम्बरको निसानको गाडीको सक्कली इन्जिन नम्बर टिडी ४२४१६९ हुनुपर्नेमा त्यो भाग काटेर ४२०८७११२ नम्बर टाँसिएको छ । पोखरास्थित एच कन्ट्रक्सन प्रालिका नाममा रहेको उक्त गाडी सुरुमा बागमतीमा दर्ता हुँदा बा २ च ५८८० भए पनि पछि गण्डकी अञ्चलमा दर्ता सारेर ग १ च १९०४ नम्बर बनाइएको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.