-->
दाहालले भने 'द्वन्द्वका सबै घटनाको जिम्मेवारी म लिन्छु'

दाङ-द्वन्द्वकालीन एक मुद्दाको उजुरीमा नामै किटान गरेर दोषी दाबी गरिएका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका सम्पूर्ण घटनाको जिम्मेवारी आफूले लिने बताएका छन्। आफू तत्कालीन जनयुद्धको सर्वोच्च कमाण्डर रहेकाले माओवादी बिरुद्ध पर्ने सबै उजुरीको जिम्मा आफ्नो रहने उनले बताए।
एक महिलाले दाहालको नामै किटान गरेर सत्य निरुपण तथा मेलमिलाप आयोगमा दिएको उजुरीका सम्वन्धमा उनले भने, 'म जनयुद्धको सर्वोच्च कमाण्डर भएकाले नाताले म माथि परेको मुद्दा मात्रै होइन,द्वन्द्वकालमा माओवादीबाट भएका सम्पूर्ण घटनाको जिम्मेवारी म लिन्छु।' उजुरीका सम्बन्धमा सत्यतथ्य छानविन हुनु पर्ने भन्दै दाहालले आयोगको सत्य छानविनलाई आफूले स्वीकार्ने बताए।
'उजुरी उपर सत्य तथ्य छानविन हुनुपर्छ,' क्रान्तिकारी पत्रकार संघले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा दाहालले भने, 'सत्य तथ्य छानविनबाट दोषी कहलिने जो कोहीलाई कारवाही पनि हुनुपर्छ।' उनले घटनाको छानविनमा लागेका आयोगहरुको काममा आफूहरुबाट कहिँकतै बाधा नपुग्ने बताए। 'हामीहरु आयोगको कामदेखि कत्तिपनि शशंकित र डराएका छैनौ यसर्थ आयोगको काममा हाम्रो कहिँकतै बाधा रहन्न,' उनले भने, 'सही रुपमा दोषी पत्ता लगाएर कारवाही गरिनुपर्छ ।'
तर झुठा मुद्दा हालेर विगतमा जस्तै फसाउने नियत राख्न नहुने उनको भनाइ छ। यसअघि आफूलाई पाँचवटा झुठा मुद्दा दर्ज गराएर फसाउने नियत राखिएको प्रसंग उल्लेख गर्दै दाहालले यस्तो नियतले समाजमा झगडा पैदा हुन नहुने बताए। 'मेरो बिरुद्ध ताप्लेजुङ र हुम्लाबाट एकै दिन पाँचवटा मुद्दा हालिएका थिए,ति सब झुठा मुद्दा थिए,' दाहालले भने 'त्यस्ता झुठा मुद्दा हालेर कसैलाई फसाउने नियत राख्नु भएन, नत्र यसले समाजमा फेरि झैँझगडा पैदा हुन्छ।' आफूहरु द्वन्द्वकालीन घटनाको उजुरी दिने प्रकृयाको बिरोधी नभएको भन्दै दाहालले उजुरी दिन सबै पीडितहरुलाई आह्वान गरे । उनले भने, 'यो काम धेरै राम्रो छ,त्यसैले सबै पीडितहरुले उजुरी दिनुस् ।'
आममाफीको प्रसंगमा उनले आफूरुले सर्वोच्चको केही निर्णयको बिरोध गरेको तर आममाफी हुनु पर्छ भनेर नभनेको बताए। 'सर्वोच्चको केही निर्णयको बिरोधमा मैले अन्य माओवादीसँग कुराकानी गरेको सत्य हो,' उनले भने, 'तर आममाफीका लागि उत्रिनु पर्छ भन्ने होइन।' तर सत्य निरुपण तथा मेलमिलापको कामलाई आफूहरुले कहिँकतै बाधा नपुर्याउने उनको भनाइ थियो।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.