-->
रियललाई पुनरागमनमा विश्वास

चैत्र ३०, २०७२- रियल म्याड्रिडको लक्ष्य हो, लगातार छैठौं पल्ट युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश । तर, क्वाटरफाइनलको दोस्रो लेगमा रियलले मंगलबार उल्भबर्गको सामना गर्दा उसको सामु २–० ले पछाडि रहेको स्थिति उल्टाउनु पर्नेछ ।
जर्मन क्लब उल्भबर्गले आफ्नो घरेलु मैदानमा रियललाई दुई गोलले हराएर पछिल्लो साता अविश्वसनीय नतिजा तयार पारेको थियो ।
रियलका समर्थक र स्पेनी राजधानीका मिडियाले भने आफ्नो क्लब पुनरागमन रच्न सक्षम रहेको दाबी गर्दै यस्तो पछाडि रहेर पनि खेलमा फर्कने आफ्नो क्लबको लामो इतिहास रहेको बताइरहेका छन् ।
युरोपेली क्लब फुटबलमा समेत पहिलो लिगमा पराजित रहेर पनि रियलले दोस्रो लिगमा त्यसलाई उल्टाएका धेरै उदाहरण छन् र जिनेदिन जिदानलाई पनि यो सम्भव भएको पूरा विश्वास छ ।
‘सबैलाई थाहा छ, खेल रोमाञ्चक हुनेछ तर दुई गोलले पछाडि रहेको स्थिति उल्टाउन सजिलो पनि हुनेछैन । हामी यसका लागि सक्षम भने छौं,’ जिदानले दाबी गरेका छन् । उल्भबर्गका प्रशिक्षक डिटेर केकिङ्सले भने रियलले पहिलो लिगमा आफ्नो टिमलाई कमजोर मान्ने गम्भीर भूल गरेको दाबी गरे । उनले थपे, ‘यसपल्ट रियलले हामीलाई पक्कै पनि कमजोर प्रतिद्वन्द्वी मान्ने छैन ।’
मंगलबार रातिको क्वाटरफाइनल दोस्रो लिगमा म्यानचेस्टर सिटीले पीएसजीको आतिथ्य गर्नेछ । पछिल्लो साताको खेलमा सिटीले फ्रान्सेली भूमिमा २–२ को बराबरी निकालेको थियो र इङ्लिस प्रिमियर लिग क्लबलाई विश्वास छ, यो नतिजा उसलाई पहिलो पल्ट सेमिफाइनल पुर्याउने पर्याप्त हुनेछ । सिटीका लागि खुसीको समाचार रहेको छ, चोटबाट मुक्त हुँदा समिर नासरी र याया टुरेले खेल्न सक्नेछन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.