-->
बार्सिलोना बाहिरियो

मड्रिड- च्याम्पियन्स लिग फुटबलमा बुधबार एट्लेटिको मड्रिडसँग पराजित भएपछि बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेले अचानक टोलीले लय गुमाएको बताएका छन्। बार्सिलोना पछिल्लो ४ खेलमध्ये ३ मा पराजित भएको थियो।एन्टोनियो ग्रिजम्यानको २ गोल मद्धतमा बुधबार एट्लेटिकोले घरेलु मैदानमा बार्सिलोनामाथि २–० को जित निकाल्दै सेमिफाइनल सुरक्षित गरेको हो। ३६औं मिनेटमा पहिलो गोल गरेका ग्रिजम्यानले खेल सकिन दुई मिनेट बाँकीमा पेनाल्टीबाट अर्को गोल थपेका थिए।
पहिलो लेगमा २–१ ले अघि रहेको बार्सिलोना समग्रमा ३–२ ले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ। पछिल्लो तीन संस्करणमा बार्सिलोना क्वार्टरफाइनलबाट बाहिरिएको यो दोस्रोपटक हो। यो वर्ष तीन ठूला उपाधि जित्ने टोलीको लक्ष्य समाप्त भएको छ।
'प्रस्ट छ कि हामीले आफ्नो लय गुमाएका छौं। यसअघि हाम्रो जुन प्रदर्शन थियो त्यो पछिल्लो खेलमा देखिएको छैन। अब हामी यसबाट माथि निस्कनु आवश्यक छ,' इनरिकेले भने।
ला लिगामा चिरप्रतिद्वन्द्वी रियाल मड्रिडसँग पराजित हुनु अघि बार्सिलोना ३९ खेलसम्म अपराजित थियो। घरेलु मैदानमा 'एल क्लासिको' भिडन्तमा पराजित क्याटलन क्लबले रियाल सोसिडाड भ्रमणमा पनि पराजय भोगको थियो। लिगमा लगातार दुई खेल हारेपछि बार्सिलोनाको उपाधि होड पनि कमजोर भएको छ। लिगमा ६ खेल बाँकी रहँदा बार्सिलोनाभन्दा दोस्रो स्थानको एट्लेटिको ३ अंक र रियाल ४ अंकले पछि छन्।
च्याम्पियन्स लिगबाट बाहिरिए पनि इनरिकेको टोलीले कोपा डेल रे र लिग उपाधि जित्ने सम्भावना कायम छ। बुधबारको हारले सन् १९९२ पनि युरोपका तीन ठूलो उपाधि रक्षा गर्ने पहिलो टोली बन्ने सम्भावना सकिएको छ।
'हामी सबै उपाधि आफैसँग राख्न चाहन्थ्यौं। समर्थक पनि त्यसका लागि उत्साही थिए तर त्यो हुन सकेन,' इनरिकेले थपे, 'सामान्यतया हाम्रो गोल स्कोरिङमा समस्या देखिएको छ र रक्षपंक्तिमा पनि। त्यसैले सबैले आफूलाई सुधार गर्नुपर्छ र पहिलो नम्बरमा मेरो नै। बार्सिलोनाको सम्भावना सधँै उच्च हुने गर्छ र सदैव दाबेदार हुनुमा हामीलाई गर्व पनि छ। अब हामी अन्य खेलमा केन्द्रित हुनेछौं। एक प्रशिक्षकका रूपमा दुई उपाधि जित्नु पनि सफल सिजन नै हुनेछ।'
२०१४ मा क्याम्प नोउमै ला लिगा जितेपछि एट्लेटिको बार्सिलोनासँगको ७ भेटमा पराजित थियो। त्यो हारको शृंखला बुधबार रोकिएको छ। उक्त सिजन डिएगो सिमोनीको टोलीले च्याम्पियन्स लिगको फाइनल पनि खेलेको थियो। जसमा डर्बी प्रतिद्वन्द्वी रियालसँगमा हारेको थियो। सिमोनीले एट्लेटिको युरोपियन लिगको यात्रा अन्तिम ४ मा नरोकिने बताए।
'सेमिफाइनलमा जित बाहेक हामीले अरु कल्पना गरेका छैनौं,' सिमोनीले भने, 'हाम्रा लागि केही पनि सजिलो छैन। म्यानचेस्टर सिटी आर्थिक रूपमा बलियो टोली हो भने रियाल र बायर्न म्युनिख प्रतियोगिताको परम्परागत बलियो टोली हो। हाम्रा लागि अन्तिम ४ पनि ठूलो हो तर हामी अझै धेरै जित्न चाहन्छौं।'
बुधबारै अर्को खेलमा जर्मन जायन्ट बायर्न म्युनिखले बेन्पि्ककासँग २–२ को बराबरी खेलेपनि समग्रमा ३–२ को नतिजा निकाल्दै सेमिफाइनलपक्का गरेको हो। राउल जिमिनेजको गोलबाट अग्रता लिए पनि बेन्पि्ककाले घरेलु मैदानमा अग्रता जोगाउन सकेन। ३८ औं मिनेटमा अर्टुरो भिडालले बायर्नका लागि बराबरी गोल फर्काए। दोस्रो हाफमा थोमस मुलरले भ्रमणकारी टोलीका लागि दोस्रो गोल थपेका थिए। ७६औं मिनेटमा एन्डरसन टालिस्काले घरेलु टोलीबाट बराबरी गरे। म्युनिखले पहिलो लेगमा १–० को नतिजा निकालेको थियो।
'अहिले हाम्रो उद्देश्य पूरा भएको छ र अब हामी फाइनल जित्न चाहन्छौं,' बायर्नका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, 'च्याम्पियन्स लिगबिना मैले जर्मनी छाडेँ भने मेरो काम अपूर्ण हुन्छ।'


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.