बर्दिवास—पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले संविधानसभाबाट नयाँ संविधान घोषणा अपूर्व ऐतिहासिक उपलब्धि रहेको बताएका छन्। सोमबार अबेर राति महोत्तरीको बर्दिवासमा सम्पन्न अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले त्यो उपलब्धिलाई आत्मसात् गर्न नसक्नु लोकतान्त्रिक आन्दोलनकै अबमूल्यन हुने स्पष्ट पारे।
नयाँ संविधान घोषणासँगै मुलुक अब आर्थिक विकास र समृद्धिको चरणमा प्रवेश गरेको डा भट्टराईको भनाई छ । आफूले यसै चरणलाई पहिचान गरेर आर्थिक विकास र समृद्धिको लडाइँका लागि राजनीतिमा नयाँ शक्तिको आवश्यकता महसुस गरेर अघि बढेको उनले बताए।
मधेसमा आन्दोलनको तयारीमा रहेका दललाई भट्टराईले विगतको नाकाबन्दी र हडतालले आर्थिक, सामाजिक र राजनीतिक रुपमा थिलथिलो भएको मधेसमा अब आर्थिक समृद्धिको आन्दोलनको अगुवाइ गर्न अपिल गरे। संविधान मान्दैनौँ भन्दै खुरुखुरु संसद्को भत्ता लिँदै सत्ताका लागि भइरहेका दाउपेच जनताले देखिबुझी मूल्याङ्कन गरिरहेका छन् भन्ने यथार्थ बुझ्न मधेसवादी दलसँग भट्टराईको आग्रह थियो।
अब संविधानमा उल्लेख हुन छुटेका राजनीतिक अधिकार र प्रदेश सीमाङ्कनसम्बन्धी असन्तुष्टिको सम्बोधन आपसी वार्ताबाटै समाधान हुनसक्ने भट्टराईको निचोड थियो। यसमा सरकार र मधेसी दल दुवै लचिलो भने हुनुपर्ने उनले बताए।
भट्टराईले सोमबारै जिल्ला सदरमुकाम जलेश्वर र मनरामा आयोजित कार्यक्रमलाई पनि सम्बोधन गरेका थिए।


0 comments
प्रतिक्रिया दिनुहोस्...