-->
काठमाडौंमा अनौठो तरिकाले लुटियो ३६ लाख, बेहोसै भए पोखरेल

काठमाडौं, ७ बैशाख । राजधानीमा लुटेराको समूहबाट सोमबार दुई जना अनौठो तरिकाबाट लुटिएका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं भोटेवहालस्थित बाटोमा हिँडिरहेको अवस्थामा काठमाडौं कीर्तिपुर–५ बस्ने अर्घाखाँची केरुङ-१ का ३९ वर्षीय शोभाकर पोखरेललाई अपरिचित व्यक्तिहरुले नशालु पदार्थ सुघाई उनले बैंकबाट निकालेर ल्याएको ३६ लाख रुपैयाँ नगद र पानासोनिक मोवाइल १ थान सोमबार लुटी फरार भएका छन् ।
सिटिसि मल सुन्धारामा इलेक्ट्रोनिक पसल गर्ने शोभाकर होसमा आउँदा बल्खुस्थित कुमारी क्लबको झाडीमा रहेको खुल्न आएको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी काठमाडौं टोखा नगरपालिका–२ चण्डेश्वरी नजिक जंगलमा म्युजिक सुनि बसिरहेको अबस्थामा टोखा नगरपालिका–८ झोर बस्ने २४ वर्षीय बिजय अधिकारीलाई सोमबार ४ जना अपरिचित व्यक्तिहरूले आक्रमण गरी साथमा रहेको मोवाइल २ थान, नगद ४ हजार ६ सय रुपैयाँ नगद र एटिएम कार्ड १ थान लुटी जंगलतर्फ फरार भएका छन् । लुटेराको आक्रमणबाट उनको बायाँ आँखामाथि चोट लागेको छ ।
लुटपाट गर्ने व्यक्तिहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.