-->
प्रचण्डले देखाए मन्त्रिपरिषदमा ‘पावर’, ओली सरकार पछि हट्यो !

काठमाडौं, ७ वैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको ठाडो निर्देशनपछि सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको चुनाव सार्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यही वैशाख १० गते हुने भनिएको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको चुनाव आगामी जेठ १९ गतेका लागि सार्ने निर्णय गरेको हो ।
नेपालको इतिहासमै पहिलो पटक हुन लागेको निजामति कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्नको लागि प्रचण्डले श्रम तथा रोजगार मन्त्रालयलाई ठाडो निर्देशन दिएपछि मन्त्री दीपक बोहोराले चुनाव पछि सार्ने प्रस्ताव लगेका थिए ।
कर्मचारीबीच प्रभावशाली ट्रेड युनियनको विरोधका बाबजुद प्रचण्डको दबाबमा सरकारले ट्रेड युनियनको चुनाव सारेको हो । यही वैशाख १० गते चुनाव गर्नका लागि निर्वाचन कार्यविधि, अन्तिम मतदाता नामावली, उम्मेदवारी दर्ता समेत भइसकेको छ । तर अब मन्त्रिपरिषद्को निर्णयपछि ट्रेड युनियन चुनाव १ महिना ९ दिन सरेको छ ।
यसअघि २०७२ चैत २८ तोकिएको चुनाव २०७३ बैशाख १० का लागि सारिएको थियो । नेपाली कांग्रेस र नेकपा एमाले निकट कर्मचारीहरुले भने तोकिएको मितिमै निर्वाचन गर्नुपर्ने माग गर्दै आएका थिए ।
सरकारको एक घटक एकीकृत माओवादी निकट राष्ट्रिय कर्मचारी संगठन, निजामतीले निजामती सेवा नियमावलीमा २० प्रतिशत मत ल्याउनुपर्ने सीमा (थ्रेसहोल्ड) को प्रावधान संशोधन गर्न माग गर्दै धर्ना र घेराउ गर्दै आएको छ ।
निजामती सेवा नियमावली संशोधन गरेर मात्र चुनाव गर्नका लागि राष्ट्रिय कर्मचारी संगठन, निजामतीले प्रचण्डलाई अनुरोध गरेको बताइएको छ । एमाओवादी संगठन र वैद्य माओवादी निकट कर्मचारी संगठनले चुनावमा मनोनयन नै दर्ता गरेका थिएनन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.