हिँड्दै जाँदा लगभग बस्ती सकियो । पुल तरेर आउने दुई–चार घर पनि पछाडि परेसी अब मलाई करिब आधा घण्टा जंगलको बाटो हिँड्नु थियो । जंगल सुरु हुनासाथ सबैभन्दा पहिला आउँथ्यो मुसलमानहरुको मसानघाट– जसलाई हामी भूत नाच्ने डाँडो भनेर चिन्थ्यौं ।
अनगिन्ती चिहानहरुको थुम्काथुम्की भएको त्यो ठाउँको बारेमा बाले सानैदेखि कथा सुनाउनुहुन्थ्यो । सुत्ने बेला बिस्तरामा सुनेका ती कथाले डराउन दिएर कति पटक त बाहिर जान डराएर बिस्तरामै मूत्र बिसर्जन गरिएको थियो । भूतप्रेत अनि किचकन्याका बारेमा बाले खुबै डरलाग्दा कथा सुनाउनुहुन्थ्यो । हामी बालाई अंगालोमा बेरेर सुन्थ्यौं । तर, समयक्रमसँगै भुतप्रेत र किचकन्याप्रति विश्वास लाग्न छाड्यो । बाले सुनाएको कथा फ्वाँसे लाग्न थाले ।
अलि अस्ति एउटा भूतसम्बन्धी चलचित्र हेरेको थिएँ । रातीमा हेरेको त्यो चलचित्रकै कारण पिसाब गर्नलाई ट्वाइलेटसमेत जान सकिनँ । नढाँटी भन्छु– मिनरल वाटरको बोतलमा पिसाब गरेर अर्को दिन फालेको भर्खरै हो । तर, पनि भूतप्रेत हुँदैनन् भनेर धाक लाउन छाडिदैँन् ।
भुतप्रेतको डर के हो भन्ने आज अनुभव भएको छ । मसानघाटभन्दा पर आधा घण्टा जंगल हिँडेपछि गाउँ सुरु हुन्छ । त्यो आधा घण्टाको जंगल हिँडाइलाई कसरी पार गर्ने हो भन्ने मनमा अर्को डर उत्पन्न भएको छ ।
सुनसान रात ! जंगल र मसानघाटको बाटो । एक जना मात्र साथी भेटाउन पाए पनि हिँड्न डर हुँदैनथ्यो । तर, ११ बजे राती को भेटियोस् र जंगलको बाटोमा । मनमा भएको डरलाई कम गर्दै अगाडि बढिरहें ।
मसानघाट पछाडि पारियो । अब अगाडि जंगल छ । चिरबिरे फिस्टे चराको आवाजले पनि मुटु झस्किन्छ । सालका सुकेका पातलाई खिस्रिक्क पार्दै खरायो दौडिँदा मुटु धड्केको आवाज बाहिरै सुनिन्छ– ढुकढुक ढुकढुक । तर, पनि तर्केर हिडिरहें ।
एकैछिन सुनसान भयो । न चरा कराए न भुईंमा झरेका पात खोस्रिए । बिल्कुलै शान्त ! आवाज थियो त केवल मेरो हात्तिछाप चप्पलको । पटाक–पुटुक पार्दै अगाडि बढ्दै थिएँ– एक्कासी कुउउउउउ गरेको आवाज आयो । म थुचुक्क बसें । डरको कुनै सीमा थिएन । स्याल रोएको त्यो आवाज पैला–पैला गाउँमा पनि सुन्थें तर गाउँमा हुँदा डराइदैँनथ्यो । आज त सातो गयो ।
फेरि उठेर हिडें । अलि पर कोही हिँड्दैछ जस्तो लाग्यो । मनमा आशा पलायो । त्यो मान्छेलाई भेटाउन पाए अलि सजिलो होला भन्ने मनसायले एकैछिन दौडिएँ । पच्चिस मिटरको फरकमा टक्क अडिएँ । त्यो आइमाई थिई । यस्तो मध्यरात ! जंगलको बाटोमा बिन्दास हिँड्ने आइमाई को होली भन्ने कौतुहलता मनमा थियो । तर, उसको नजिक जान पनि डराएँ । उ अघि–अघि म पछि–पछि थियौं । उसको हिँडाइको चाल कुनै चलचित्रकी हिरोइनको भन्दा कम थिएन । सेतो साडीमा कम्मर मर्काउँदै हिँडेकी त्यो आइमाईलाई देखेर किचकन्या सम्झिएँ । बाले कथामा भन्नुहुन्थ्यो– किचकन्याले सधैं सेतो कपडा लाउँछन् अनि कपाल जहिले पनि खुल्ला छाड्छन् । हो, त्यस्तै ठ्याक्कै मिल्ने थिई त्यो आइमाई ।
हिँड्दै थिए । उ अघि–अघि म पछि–पछि । तर एक्कासी उ टक्क अडिई र मतिर फर्किइ । म पनि आफ्नै ठाउँमा अडिएँ । भसक्कै डराएँ । मुटुले ठाउँ छाड्या भन्थिम् हो त्यस्तै भयो मलाई । उसले मलाई एकटकले हेरिरही । मैले मुन्टो बटारें । कता जाउँझैं भयो । न अगाडि बढ्न सक्छु न त पछाडि फर्कन ।
‘दिपक आऊ न सँगै जाऊँ । मैले तिमीलाई नै कुरेको ।’
उसले हातले इसारा गर्दै बोलाई । म अचम्म परें । हैन त्यो को केटी हो ठ्याक्कै किचकन्या जस्तो कपडामा ? मलाई पनि चिनेकी रै’छे त । म सुस्त अगाडि बढें । नजिकै पुगेपछि उसको अनुहार हेरें । मैले कहिल्यै नदेखेको र नचिनेको अनुहार रहेछ– बाल विधवाजस्तो । न मेकअप छ न त कुनै गहना । तर, राम्री चैं छे ।
‘चिनेनौ र ?’
उ फेरि बोली ।
‘नाइँ चिनिनँ, तिम्ले मलाई चिन्छ्यौ र ?’ डराएरै भए पनि बोलें ।
उ खित्का छाडेर हाँस्न थाली । सुनसान जंगलमा राती करिब साढे एघार बजे खित्का छाडेर ऊ हाँस्दा म झनै डराएँ । उसको हाँसो किचकन्यासँग मिल्दो थियो । पोहोर साल हलमा हेरेको चलचित्र अमरमा किचकन्या बनेकी मेलिना मानन्धरको हाँसो र यो आइमाईको हाँसो ठ्याक्कै उस्तै थियो । यो किचकन्या नै हो भन्ने फिक्स भयो अनि उसले हाँसोका फोहरा छुटाउँदै गर्दा कुलेलम ठोकें ।
‘ए डरपोक दिपक मलाई चिनेनौ र ? किन भाग्या, रुक न सँगै जाऊ के ।’
हाँसोका फोहरासँगै बोलीरही । मैले उसलाई धेरै पछाडि पार्दै अगाडि आइहालें ।
मध्य रात ! जंगलको बाटो ! मस्त जवानीले भरिपूर्ण उ अनि म सुनसान रातमा हिँडिरह्यौं । बेला–बेला उसले मेरा हात पकड्न थाली मलाई पनि कस्तो–कस्तो अनुभूति हुन थाल्यो । गफैगफमा उसले अंगालो मारेर हिँड्न थाली– मानौं उ मेरी गर्लफ्रेण्ड हो । म पनि के कम, जवानीले भरिपूर्ण उमेरमा एक युवती आफैँ पछि लाग्छे भने कसले बेवास्ता गर्छ होला र ? मैले पनि अंगालोमा कसेरै हिँड्न थालें ।
‘आज मेरो घरमा जाऊँ, उतै बसौला नि है दिपक ।’
पछाडि फर्केर हेरें, अहँ उ थिइन् । बचियो यार । हिजोसम्म भूत हुँदैनन भन्दै आधुनिक जमानाको कुरा गर्ने म आफैँ आज भूतदेखि डराएर भागें । मुटु कमाउँदै नभाग्दासम्म कसैले भूत हुन्छन् भनेर कल्पनासम्म गर्दैनन् । म पनि त्यस्तैमा परें ।
‘ओए किन भागेको ? मलाई पनि जंगलको बाटो हिँड्न डर लागेर पो सँगै जाउँ भनेको त ।’
पछाडिबाट प्याट्ट काँधमा हिर्काउँदै उ बोली । म झस्कें । अघि धेरै पछाडिसम्म नदेखिने यो आइमाई कसरी मेरो नजिकै आइपुगी ? झनै डरलाग्दो बिषय भयो । गाउँ आइपुग्न अझैं आधी बाटोभन्दा धेरै थियो । म उसँग केही पनि नबोली दौडिएँ । उ पनि म सँगै दौडिइ । डर र थकानले मेरो सास फुलेर स्वाँस्वाँ भयो तर उसलाई थकानको कुनै महसुस नै थिएन ।
उ मेरो बारेमा सबै जानेको जस्तो गफ लाउँदै थिइ– नाम, काम, पढेको स्कुल अनि बाआमाको बारेमा । सबै भन्दै अतितका दुई–चार रमाइला कहानी पनि सुनाउन थाली । म तनावमा थिएँ– आखिर यो हो को ? सायद बाटो हिँड्न डराएकी परिचित आइमाई पनि हुनसक्छे जसलाई मैले नचिनेको होला ।
थकाई लागेको थियो । धेरै दौड्न सक्ने अवस्थामा थिइन म । सास फुलेर धेरै गाह्रो भयो अनि अडिए । उ पनि अडिई अनि सुस्तरी हिँडेरै जाने प्रस्ताव गरी । आफुलाई छाडेर नजान आग्रह गरी । म पनि त्यो किचकन्या या भूत हैन भन्ने कुरामा ढुक्क भएँ र उसलाई सँगै लिएर अगाडि बढें ।
उसको हिँडाई उस्तै बैंसले उन्मत्त तरुनीको जस्तो थियो । बोल्दा पनि कामुक लाग्ने स्वर । बिना मेकअप बाल विधवाजस्ती देखिने उसको अनुहारमा फूल मेकअप गरे कस्ती होली भनेर आफैँ कल्पनामा हराउँदै हिडिरहें ।
मध्य रात ! जंगलको बाटो ! मस्त जवानीले भरिपूर्ण उ अनि म सुनसान रातमा हिँडिरह्यौं । बेला–बेला उसले मेरा हात पकड्न थाली मलाई पनि कस्तो–कस्तो अनुभूति हुन थाल्यो । गफैगफमा उसले अंगालो मारेर हिँड्न थाली– मानौं उ मेरी गर्लफ्रेण्ड हो । म पनि के कम, जवानीले भरिपूर्ण उमेरमा एक युवती आफैँ पछि लाग्छे भने कसले बेवास्ता गर्छ होला र ? मैले पनि अंगालोमा कसेरै हिँड्न थालें ।
‘आज मेरो घरमा जाऊँ, उतै बसौला नि है दिपक ।’
जिस्किदैं हिँडिरहेको बेला उसले एक्कासी प्रस्ताव गरी ।
‘कता पर्छ तिम्रो घर ? कति टाढा हो ?’
ठीक मेरो घरभन्दा उल्टोतिर उसको घर बताई । उसको घर जानका लागि अरु आधा घण्टा जंगलको बाटो हिँड्नु पर्दथ्यो । घरमा कोही हुनुहुन्न भनेर जिकीर गर्न थालेपछि म उसकै घरमा जान राजी भएँ । म राजी भएको देखेर उ खुशी भई । खुशी हुँदा पनि उसको हाँसो ठ्याक्कै किचकन्याजस्तो थियो– लामो हाँसो अझ जंगलभरि गुञ्जिने गरी भयंकर आवाजमा ।
केही अगाडि हिँडेपछि खोला आयो । खोलामा आगो बालेर निभेकाजस्ता थुप्राहरु थिए– जहाँबाट सेतो धुँवा आइरहेको थियो । खोलाको बगरमा पुगेपछि बेग्लै खालको आवाज सुनिन थाल्यो । त्यो आवाज सुन्दा कुनै भूतको चलचित्र हेर्दै गरेको अनुभूति हुन थाल्यो र अलि–अलि डर पनि लाग्न थाल्यो । त्यो आवाजमा उ नाच्न थाली– खित्का छाडेर हाँस्दै ।
‘ओए, मलाई डर लागेको छ, तिमी चैं नाच्न थाल्दै छौै है ।’
उ नाचेको देखेर मलाई भित्र–भित्रै रिस उठ्दै थियो । तर, उ हाँस्दै बोली ‘कमन यार दिपक, इट्स अमेजिङ । हाम्रो दुनियाँमा तपाईलाई स्वागत छ ।’
यति भन्नासाथ उतापट्टि बगरमा अरु धेरै सेता साडीवालाहरु देखिए । उसले मेरो हात समातेर उतै लान खोजी । त्यसपछि के भयो मलाई थाहा भएन ।
अर्को दिन बिहान भयो– झिसमिसे बिहानी । चिसो बगरमा मेरो नाङ्गो शरिर थियो । न कपडा थियो न त रातभरि होस । कहाँ लगे, के–के गरे मलाई केही थाहा थिएन । मलाई यति मात्र थाहा थियो– म ज्यूँदै छु । शरिरमा कुनै घाउ थिएन । चोटपटक कतै थिएन । बिहानपख म पूरै होसमा थिएँ ।
भूतप्रेत हुँदैन्न भन्नेहरुका लागि म ज्यूँदो भूत बनेर बगरमा पल्टिएको थिएँ । हिजोसम्म भूतप्रेतका फाल्टु कुरामा आफुलाई आधुनिक ठान्ने म चिसो बगरबाट उठेर नाङ्गै वनमान्छेसरि घरतिर लागें ।¬¬¬


0 comments
प्रतिक्रिया दिनुहोस्...