७५ हजार वर्षअघि मानिसहरूको समूहले नयाँ ठाउँको खोजी गर्दै अफ्रिकाबाट बसाइँ सरेका थिए। युरी मिल्नरजस्ता अर्बपति चाहिँ पृथ्वीको साटो अन्य ग्रहमा बसाइँ सर्ने कल्पना गरिरहेका छन्। तत्काल यो कल्पना साकार पार्न नसके पनि गएको मंगलबार सलाइका बट्टा जत्रा अन्तरिक्ष यानलाई लाइट बिमहरूले धकेल्दै ४.३७ प्रकाश वर्ष टाढा पुर्याकउने अभियान सुरु गरेपछि अहिले 'ब्रेकथ्रु स्टारसट' कार्यक्रम चर्चामा छ।
अन्तरिक्षमा पुग्ने पहिलो व्यक्ति युरी गागरिनबाट ज्यादै प्रभावित भएर मिल्नरकी आमाले उनको नाम युरी राखिदिएकी थिइन्। तिनै गागरिनको सपना पछ्याउँदै मिल्नरले भौतिक शास्त्री स्टेफन हकिङ र फेसबुकका सहसंस्थापक मार्क जुकरबर्ग मिलेर यस्तो फुच्चे यान (नानो क्राफ्ट) बनाउन अर्बौं लगानी गर्दैछन्, जसले हाम्रो तारा प्रणाली नजिकैको अल्फा सेन्टौरीमा पुगेर बस्न लायक ग्रह भए/नभएको अनुसन्धान गर्दैछ।
यस अभियानलाई नासाका पूर्व निर्देशक पिट वार्डेनले अगुवाई गरिरहेका छन्। योजनाअनुसार सयौं सलाइका बट्टा जत्रा यानले आफूसँग क्यामेरा बोक्दै आफ्नो यात्राको जानकारी पृथ्वी पठाउने छन्। यी फुच्चे यानको गति २१५ मिलियन प्रतिघण्टाको हुनेछ। त्यो भनेको प्रकाशको गति (लाइट स्पिड) भन्दा २०Ü ले बढी हो। २५ टि्रलियन किमि टाढा अल्फा सेन्टौरीमा छिर्न अहिलेका यानलाई ३० हजार वर्ष बढी लाग्छ। तर प्रस्तावित फुच्चे यानलाई त्यहाँ पुग्न २० वर्ष मात्र लाग्ने आँकलन वैज्ञानिकहरूको छ।
यो सम्भव छ? कतिपय वैज्ञानिकहरू मान्न तयार छैनन्। अहिले उपलब्ध प्रविधिले यसलाई तत्कालै पूरा गर्न असमर्थ रहेको र थप अनुसन्धान आवश्यक रहेको केहीको धारणा छ। त्यस अनुसन्धानका लागि चाहिने १० खर्ब डलर जुटाउने र त्यसका लागि चाहिने प्राथमिक रकम मिल्नर र जकरबर्गले दिने घोषणा गरिसकेका छन्।
घोषणा कार्यक्रममा स्टेफन हकिङले यो सपना चाँडै पूरा हुने बताए। उनले भने, 'किनभने हामी मानव हौं र हाम्रो प्रकृति नै उड्ने हो।'
विज्ञान लेखक एलन डफी स्पेस डटकममा लेख्छन्, 'आउँदा दशकमा नयाँ खोजका जुन लक्षण देखिएका छन्, त्यसले हकिङ र उनको टोलीको सपना पूरा नहोला भन्न सकिन्न।' तर यो सम्भव भएको खण्डमा भौतिकशास्त्रका क्षेत्रमा ठूलो फड्को हुने डफी बताउँछन्।
अहिलेको सिद्धान्त के हो?
एउटा फुच्चे यानलाई अन्तरिक्षमा छाडिन्छ। त्यो यानलाई पृथ्वीबाट पठाइने प्रकाशका पार्टिकल (भाग)हरू ठोक्काइन्छन्। त्यसको धक्काले फुच्चे यान तीव्रतम गतिमा अघि बढ्छ। प्रकाशले कुनै चिज धक्का दिँदा त्यो एक सेकेन्डमा ६० मिलियन मिटर अघि बढ्छ। यसका लागि अझ धेरै मिहिनेत बाँकी नै छ किनभने वैज्ञानिकहरूले त्यो 'धक्का' दिनका लागि आवश्यक फोटोनमाथि अनुसन्धान गर्न बाँकी नै छ। यस्तो धक्काले अन्तरिक्षमा रहेको फुच्चे यानलाई हेल्दै अघि बढाउँछ, जसरी हावाको वेगले समुद्रमा पानी जहाजलाई अघि बढाउँछ।
त्यस्तो धक्का दिने लेजर प्रकाशको सुविधा अमेरिकाको क्यालिफोर्नियास्थित एउटा प्रयोगशालामा छँदैछ। जसले ५ सय टेरावाटको लेजर शक्ति फ्याँक्ने गरेको छ। यसले एक माइक्रोसेकेण्डमा एक पटक मात्र प्रकाश फ्याँक्ने गर्दछ जबकि फुच्चे यानलाई अघि बढाउन एक पटकमा १० मिनेट लामो प्रकाश फ्याँक्नु आवश्यक ठानिएको छ।
त्यो पनि सम्भव भयो भने यसमा लाग्ने खर्च यति बढी छ कि आँट्ने कि नआँट्ने भन्ने सोच्न बाध्य भइन्छ किनभने यसको मूल्य १० बिलियन डलर आँकलन गरिएको छ, जुन एउटा ठूलो विमान कम्पनीले निर्माण गर्ने विमान बराबरको हो।
हार्डवेयरको समस्या
लेजर बिमको एउटा प्रकाशले यानलाई निमेषमै जलाइदिन सक्छ। अर्बौं मिनेटको धक्का सहन सक्ने यान निर्माण र अनुसन्धान अर्को चुनौती छँदैछ। यो यानमा क्यामेरा जडान गरिएको हुनेछ। इलेक्ट्रोनिक्स ट्रान्समिसन गर्न आवश्यक विद्युत सप्लाइ समेत हुनेछ। यो यान कहाँ छ र कुन ठाउँबाट तस्बिर लगायतका क्रियाकलाप रकेर्ड गर्ने हुनाले ती सबै क्रियाकलाप सुरक्षित हुने किसिमको हार्डवेयर बनाउनु पर्नेछ।
'स्टार सट' : अल्फा सेन्चुरीतर्फ हेलिँदै
द ब्रेकथु्र स्टार सट कार्यक्रमको उद्देश्य यो पुस्ताभित्रै सबैभन्दा नजिकको ताराको अन्तरीक्ष खोजी गर्नु हो। (माथिः रातो प्रकाश पृथ्वीबाट पठाइएको लेजर प्रकाश हो, जसले फुच्चे यानलाई धक्का दिन्छ।)
एउटा चिपबाट अन्तरिक्षको खोजी
सानोभन्दा सानो इलेक्ट्रोनिक सामग्री बनाउने दौडका कारण १ ग्राम तौलको कागजी क्लिप निर्माण सम्भव देखिएको छ। यसभित्र लेजर सम्वाद, क्यामेराहरू, आणविक ब्याट्री, कम्प्युटर र अन्य डिभाइस अटाउने आवश्यकता छ। यसलाई 'स्टारचिप' नामाकरण गरिएको छ। हुलाक टिकट आकार र तौलमा यो निर्माण गर्ने सोच वैज्ञानिकहरूको छ।
तारातर्फ धक्का दिन लेजरको प्रयोग
एक साथ कयौं स्टारचिपलाई अन्तरिक्षमा धक्का दिन सकिन्छ। १ सय गिगावाटको लेजर विस्फोट (तलको तस्बिर) ले स्टारचिपलाई हेलाउँदै अघि बढाइन्छ। यो शक्ति भनेको एउटा अन्तरिक्ष वायुयानलाई पृथ्वी छाड्न चाहिने आवश्यक ऊर्जा पनि हो। अनुसन्धानले देखाएअनुसार यो धक्काले पृथ्वीको गुरुत्वाकर्षणभन्दा ६० हजार गुणा बढी धक्का दिएर यानलाई अघि बढाउँछ।
चुनौतीहरू
स्टारचिपलाई अन्य सौर्य प्रणालीमा पठाउनुअघि विभिन्न चुनौती समाधान गर्न आवश्यक देखिएको छ।
• पृथ्वीबाट धक्का दिने लेजर विस्फोट स्टेसन बनाउने
• पृथ्वीमा भएको वातावरणीय बाधा छिचोल्नु
• अन्य तारा मण्डललाई ठ्याक्कै निशाना बनाउनु
• स्टारचिपलाई अन्तरिक्षमा निरन्तर २० वर्षसम्म बहाउनु
• अन्तरिक्षमा भएका धुलो, ग्यास तथा कस्मिकजस्ता चिजले तीव्र यात्राको बाधा
• अन्तरिक्षमा दशकौंको कार्यक्षमताको निरन्तरता
• निरन्तर क्यामेराले सोही ठाउँमा ठ्याक्कै निशाना लगाइरहनु
• लेजरको प्रयोग गरी प्राप्त तस्बिर पठाउनु
• ऊर्जा उत्सर्जन र भण्डारण
• नीतिगत समस्या


0 comments
प्रतिक्रिया दिनुहोस्...