-->
बार्सिलोना छोडेर पिएसजी जाने नेइमारको चाहना

चैत २३ – बार्सिलोनाका ब्राजिलियन स्ट्राइकल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी जान चाहेका उनका एजेन्टले बताएका छन् । लिग वान च्याम्पियन पिएजसीले चासो देखाएमा नेइमार बार्सिलोना छोडेर जान सक्ने उनका एजेन्ट वाग्नर रिबेइरोले बताए । सन् २०१३ को जुनमा ब्राजिलियन क्लब सान्टोसबाट बार्सिलोना आएपछि नेइमारले स्पेनिस ला लिगाका ८६ खेलमा ५२ गोल गरिसकेका छन् । नेइमारको बार्सिलोनासँगको अनुबन्धमा उनलाई १५ करोड ४० लाख पाउण्ड तिर्न सक्ने क्लबले मात्रै लैजान सक्ने उल्लेख छ । यो नियम पालना गरेर नेइमारलाई लैजान सक्ने क्षमता पिएसजीमा मात्रै रहेको र नेइमारले पनि पिएसजी मनपराउने एजेन्ट रिबेइरोले बताए ।
उनले भने ‘यदी पिएसजीले नेइमारलाई लैजाने चासो देखायो भने हामी यसमा कुरा गर्न तयार छौं ।’ बार्सिलोनामा यो सिजन नेइमार, लियोनल मेस्सी र लुइस स्वारेजको एकता राम्रो छ । एमएसएनका रुपमा चिनिने यी तीन खेलाडीको राम्रो प्रदर्शनका कारण बार्सिलोना अहिले ला लिगाको शीर्ष स्थानमा छ भने कोपा डेल रेको फाइनल तथा च्याम्पियन्स लिगको क्वाटर फाइनलमा पुगेको छ । एजेन्ट रिबेइरोले भने ‘नेइमार बार्सिलोनामा खुसी छन् । उनले राम्रो गरिरहेका छन् । विश्वको उत्कृष्ट क्लबबाट खेल्नु सानो कुरा होइन । तर पेरिस जस्तो शहरमा बस्न र पिएसजी जस्तो क्लबबाट खेल्न सबै खेलाडीको चाह हुन्छ । नेइमारमा पनि यो चाहना छ ।’ नेइमारले बार्सिलोनासँग सन् २०१८ सम्मको सम्झौता गरेका छन् ।
अझै दुई वर्षसम्म हेर्ने र सम्झौता अवधि सकिएपछि अरु क्लबका बारेमा सोच्न सकिने एजेन्ट रिबेइरोले बताए । १५ करोड ४० लाख पाउण्ड धेरै भएको तर पिएसजीका लागि यो रकम तिर्नु ठूलो कुरा नरहेकाले नेइमार पिएसजी जाने सम्भावना रहेको उनले बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.