नेपालगञ्ज– प्रहरीले कुटपिट गर्दा नेपालगन्जका एक युवक गम्भिर घाइते भएका छन्। नेपालगञ्ज–१२ निवासी ३२ वर्षीय दिपु मल्ललाई सोमबार राति प्रहरीले कुटपिट गरेको हो।
मोटरसाइकल दुर्घटनामा परी घाइते भएका साथीको उपचारका लागि शिक्षण अस्पताल नेपालगञ्ज पुगेका बेला प्रहरीसँग विवाद भएपछि उनलाई कुटपिट गरेको आफन्तले बताएका छन्। गम्भिर घाइते मल्लको अहिलेसम्म होस नखुलेको र उनलाई शिक्षण अस्पतालको आइसीयु कक्षमा राखिएको आफन्त विष्णु खड्काले बताए। दिउँसोसम्म होस नखुले अन्यत्रै लैजान अस्पतालले सल्लाह दिएको उनले बताए।
'दुर्घटनाका घाइतेलाई अस्पताल लगेको बेला उपचारको व्यवस्था मिलाउनुको साटो त्यहाँ पुगेको प्रहरीले 'जाँड खाएर दुर्घटना भएको' भन्दै हेपेर बोल्यो, त्यसको प्रतिवाद गरेर बोल्दा प्रहरीले उल्टो कुट्यो,' खड्काले भने। प्रत्यक्षदर्शी शिक्षण अस्पालका सेकुरिटी गार्ड मानबहादुर थापाले पनि प्रहरीले नै कुटपिट गरेको बताएका छन्। 'बाहिरबाट तीन÷चार जना प्रहरी आएर बुटै बुटले हानेको देखिन्थ्यो,' उनले भने। प्रत्यक्षदर्शी थापालाई जिल्ला प्रहरी कार्यालय बाँकेले बिहान बोलाएर बयान फेर्न दबाब दिएको बिद्यार्थी नेताद्वय मोहित शाह र रमेश तिमिल्सिनाले बताए।
यता प्रहरीले कुटपिट गरेको भन्ने जानकारी आफुँ कहाँ मंगलबार बिहान मात्र आएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक टेकप्रसाद राईले बताएका छन्। घटनाको अनुसन्धान गर्न मुद्दा शाखा इन्चार्ज एवम् प्रहरी निरीक्षक बीरबहादुर थापालाई जिम्मा दिएको उनले जानकारी दिए। 'जाँड खाएर आएका केटाहरुले बबाल गरेको भन्ने कुरा मात्रै राति सुनिएको थियो, बिहान मात्र आफन्तहरुले प्रहरीबाट कुटपिट भएको कुरा गर्नु भयो,' राईले भने 'तर प्रहरीले त्यसरी कुटपिट गरेको होला भन्नेमा म विश्वस्त छैन।'


0 comments
प्रतिक्रिया दिनुहोस्...