एजेन्सी– नेपालमा भारतीय नाकाबन्दीले चरम संकट निम्त्याइरहेको बेला उत्तरी छिमेकी मुलुक चीनबाट सहयोग जुटाएर उदाहरणीय काम गर्ने व्यक्ति हुन् तत्कालीन चीनका लागि नेपाली राजदूत डा.महेश मास्के ।
मास्के जो काठमाण्डुलाई चरम संकटमा पारेर तहसनहस बनाउन खोज्ने भारत र उसको नाकाबन्दीलाई फिक्का बनाइदिने व्यक्ति हुन्, जसले त्यसबेला निकै मिहेनतका साथ केरुङ–रसुवागढी नाका थप खुलाउन मद्धत गर्दै बेइजिङसँग हातेमालो गरेर थोरै भएपनि नेपालीहरुलाई राहात दिलाउन सफल भएका थिए ।
राजदूत महेश मास्केको कार्यकाल भर्खरै सकिएको छ । उनले नेपाल र चीनबीचको सम्बन्धलाई सुमधुर बनाउन जति कोसिस गरे, त्यतिनै चरम संकटमा तड्पिरहेका नेपालीहरुको मन जित्न सफल भएका थिए ।
नाकाबन्दीका बेला चीनबाट पेट्रोलियम पदार्थ भित्र्याउनेदेखि प्रधानमन्त्रीको भ्रमण र नेपाल र चीनबीच दिर्घकालीन महत्वका सम्झौता गराउन समेत डा. मास्के सफल भएका थिए । उनै मास्केलाई केहीदिन अघि चीन सरकारले निकै खुसीका साथ विदाईको हात हल्लायो । चीनका परराष्ट्रमन्त्रीका सहायक खुङ स्युआन यौलेले उनको खुलेरै प्रशंसा गरे ।
मास्केले चीनका लागि नेपाली राजदूतको पद सम्हाल्दाको अवधिमा चीन र नेपालको सम्बन्धलाई थप विकास गर्न पुर्याएको योगादनको उनले प्रशंसा गरे । भविष्यमा समेत चीन र नेपालको सम्बन्ध विकासमाथि निरन्तर रुपमा ध्यान दिने र समर्थन गर्ने विश्वास लिएको स्युआन यौले बताए ।
भेटका क्रममा डा. मास्केले भने नेपाल र चीनको सम्बन्ध विकासका लागि आफु जहिल्यै सकारात्मक योगदान दिन तयार रहेको र चीनले आफ्नो कार्याविधिमा दिएको मूल्यवान समर्थनप्रति कृतज्ञता प्रकट गरेका थिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...