गणतन्त्र कोरियाका नेशनल एसेम्ब्लीका सभामुख चुङ विह्वाले नेपाली कामदारका लागि उपयुक्त क्षेत्रका रुपमा कोरिया विकास भएको भन्दै इपीएस कोटा बढाउन कोरियाली सरकारलाई आग्रह गर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री कार्यालय सिंहदरवारमा सोमबार भेटवार्ता गर्दा सभामुख चुङले नेपालको सहयोगकोलागि आफुले पहल गर्ने बताउँनुभएको छ ।
नेशनल एसेम्बलीको प्रतिनिधिमण्डलको नेतृत्व गरी नेपाल भ्रमणमा आउनुभएका सभामुख चुङले भूकम्पपछिको पुनर्निर्माणलाई गणतन्त्र कोरिया सरकारले सहयोग गरेको स्मरण गर्दै निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपालले नयाँ संविधान जारी गरेकोमा स्वागत गर्दै नयाँ संविधानले नेपालमा राजनीतिक स्थायित्व ल्याउने र त्यसले आर्थिक रुपमा समृद्ध नेपाल निर्माण गर्ने बिश्वास समेत उँहाले व्यक्त गर्नुभयो ।
उहाँले नेपालको जलबिद्युत लगायतका क्षेत्रमा लगानी गर्न कोरिया तयार रहेको उल्लेख गर्दै त्यसका लागि लगानी मैत्री वातावरण आवश्यक रहेकोमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले भूकम्पपछिको अप्ठ्यारो बेलामा गणतन्त्र कोरियाका तर्फबाट भएको सहयोगका लागि नेपाल सरकार र नेपाली जनताका तर्फबाट कोरिया सरकार र जनतालाई धन्यवाद ज्ञापन गर्नुभयो ।
यस्तै गरी दक्षिण कोरियाली सभामुख चुङले नेपालकी सभामुख ओनसरी घर्तीसंग भेटवार्ता गरी दुई मुलुकबीचका संसदहरुको सम्वन्धलाई थप बलियो बनाउनेवारे छलफल गर्नुभएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...