काठमाडौं, २५ चैत । नयाँ वर्ष आउनैलाग्दा ज्योतिषहरुले डरलाग्दो भविष्यवाणी गरेका छन् ।
उनीहरुले यसवर्ष अत्यधिक गर्मी हुने, खडेरी पर्ने र अन्न उब्जनी घट्ने भन्दै खाद्यान्न अभाव र भोकमरी सिर्जना हुने सम्भावना रहेको बताएका हुन् ।
चर्चित युवा ज्योतिष सुनील सिटौलाले यसवर्ष गर्मी निकै बढ्ने र तराईमा जनजीवन कष्टकर हुने बताएका छन् ।
यस्तो छ नयाँ वर्षबारे ज्योतिष सिटौलाको बयानः
आजकाल गर्मी बढ्दै गइरहेको छ । हुन त बैशाख जेठमा गर्मी हुनु सामान्य प्राकृतिक कुरा नै हो । फेरी जलवायु परिवर्तनले पनि गर्मी बढ्ने भन्ने आइरहेको छ । यस्तोमा ग्रह गणितको पनि कुरो छ । जसको अनुसार अहिले शनि ग्रह वक्री भै रहेको छ । आउँदो बैशाखदेखि त मंगल ग्रह पनि वक्री हुँदैछ ।
यस्तो अवस्थामा अत्यधिक गर्मी बढ्ने भन्ने ज्योतिषका आर्ष ग्रन्थहरु, नारद सम्हिता, वाराही सम्हितामा पाईन्छ । त्यस्तै, मयुर चित्रकम नामक ग्रन्थमा पनि यसलाई अशुभ मान्दछ । त्यसकारण यसपाली अन्य वर्षको तुलनामा बढी गर्मी हुने हाम्रो ज्योतिष शास्त्रको पूर्व अनुमान छ ।
त्यस्तै वर्षा ऋतु भरी शनि वक्री हुनेछ । जसले खडेरी पर्ने, अन्न उब्जनी घट्ने भन्ने पनि छ, यसतर्फ सम्बन्धित सबैको ध्यान जानु आवश्यक देखिन्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...