-->
वीरगन्जमा एम्बुलेन्स आतंक

वीरगन्ज – वीरगन्जमा रहेका नीजी अस्पताल , नर्सीङ होम र क्लिनिकहरुले एम्बुलेन्स चालकहरुलाई प्रभावमा पारेर आफूकहाँ विरामी भित्र्याउने गरेको पाइएको छ ।
बिरामी वा कुरुवाले सरकारी अस्पतालमा लैजान भनेपनि कमिशन पाइने लोभले एम्बुलेन्स चालकले बिभिन्न बहाना बनाएर आफनो सम्पर्क रहेको अस्पतालमै बिरामीलाई लैजाने गरेका छन् । वीरगन्जका नीजी अस्पताल र नर्सीङ होमले बिरामी ल्याइदिए बापत बिरामीको अवस्था हेरेर एम्बुलेन्स चालकलाई तीन सय देखि एक हजार रुपैया सम्म कमीशन दिने गरेका छन् ।
‘आइसियु ÷एनआइसियु वा सुत्केरीका बिरामी छन् भने एक हजार रुपैया दिन्छन् ,नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले भने ,‘ नर्मल केस छ भने एम्बुलेन्स ड्राइभरले तीन सय त जसरी पनि पाउछ ।’ अस्पतालमा बिरामी झारे लगत्तै एम्बुलेन्स चालकले अस्पतालको काउण्टरबाट कमीसनको नगद वा स्लिप बुझने गर्छन् । वीरगन्जमा निजी क्लिनीक सन्चालन गरेका चिकित्सकहरुले पनि बिरामी ल्याइदिए बापत एम्बुलेन्स चालकलाई एक सय देखि दुई सय रुपैयासम्म कमीशन दिने गरेका छन् ।
वीरगन्जबाट थप उपचारका काठमाण्डौका लागि रिफर गरिएका बिरामी ओसार्ने एम्बुलेन्स चाकललाई त्यहाँका नाम चलेका र महङगा नीजी अस्पतालले एउटै बिरामी बापत १० हजार रुपैया सम्म कमीशन दिने गरेको नाम उल्लेख नगर्ने शर्तमा वीरगन्जका एक एम्बुलेन्स चालकले बताए । वीरगन्जमा कमीशनको लोभमा नीजी अस्पताल र नर्सीङ होममा बिरामी ओसार्नेहरुमा भारतीय नम्बर प्लेटका एम्बुलेन्सहरु बढि छन् ।
यहाँका हरेक नीजी अस्पताल र नर्सीङ होम अगाडि भारतीय नम्बर प्लेटका एम्बुलेन्सहरु लाम लागेर बसेका हुन्छन् । नेपालमा भारतीय नम्बर प्लेटका एम्बुलेन्सले बिरामी ओसार्न नपाइने भएपनि वीरगन्जमा ३०÷३२ वटा भारतीय नम्बर प्लेटका एम्बुलेन्सहरु सन्चालनमा छन् । नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले पनि भारतीय नम्बर प्लेटका एम्बुलेन्स खरिद गरेर वीरगन्जमा चलाउदै आएका छन् । भारतीय नम्बर प्लेटका एम्बुलेन्सले नेपालमा बिरामी ओसार्न नपाउने जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति पर्साका अध्यक्ष समेत रहेका पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए ।
‘भारतबाट बिरामी लिएर आउन पाउछन् , उनले भने , तर नेपालमै नेपालका बिरामी ओसार्न भने उनिहरुले पाउदैनन् ।’
एम्बुलेन्स चालकहरुले बिरामी ओसारे बापत नीजी अस्पतालबाट कमीशन लिनु गैरकानूनी काम भएको भन्दै घिमिरेले भने ,‘एम्बुलेन्स चालकले कमीशनको लोभमा बिरामी ओसारेको सुन्नमा त आएको छ , तर यस बारे कसैले औपचारिक रुपमा हामीलाई गुनासो भने गरेको छैन । प्रजिअ घिमिरेले वीरगन्जमा रहेका भारतीय एम्बुलेन्स र नीजी अस्पतालबाट कमिशन लिने एम्बुलेन्सको बारेमा अब अनुगमन गरिने बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.