काठमाडौं-त्रिपुरेश्वरबाट कालिमाटीसम्मको सडकको लम्बाइ मुस्किलले डेढ किलोमिटर छ । सामान्यतया उक्त सडकमा कार्यालय समयमा सवारीसाधनले २० देखि २५ मिनेटको समयमा यात्रा पूरा गर्छन् तर केही दिनयता उक्त सडक पार गर्न एक घन्टाभन्दा बढी समय लाग्न थालेको छ ।
आधा घन्टा समयमा पूरा गर्न सकिने कलंकीदेखि कोटेश्वरसम्मको १० किलोमिटर सडकमा पनि केही समययता उक्त सडक पार गर्न सवारीसाधनलाई झन्डै दुई घन्टा समय लाग्न थालेको छ ।
राजधानीका मुख्य सडक कोटेश्वर–कलंकी र कालिमाटी–त्रिपुरेश्वरमा पछिल्ला दिन अत्यधिक मात्रामा चाप बढ्नुको कारण हो– अव्यवस्थित रुपमा जारी सडक विस्तार । विस्तारका क्रममा भत्काइएका संरचना असरल्ल छाड्ने र निर्माण सामग्री सडक नै ढाक्ने गरी राखेका कारण ती सडकमा यात्रा गर्ने यात्रुले घन्टौं लामो जामको सास्ती खेप्नुपरेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार राजधानीका केही सडक क्षेत्रबाहेक दर्जनभन्दा बढी स्थानमा अव्यवस्थित रुपमा सडक विस्तार भइरहेको छ । यही कारण सवारीसाधनले घन्टौं लामो जाममा बस्नुपर्ने बाध्यता छ । महाशाखाका अनुसार विस्तारित सडकमा ढल र सडक मर्मतका काममा भएको ढिलाइसँगै सडक नै ढाक्ने गरी थुपारिएका संरचनाले ट्राफिक व्यवस्थापनमा समस्या बढ्दै गएको छ । जसका कारण कार्यालय, विद्यालय, अस्पताल, क्याम्पस तथा अन्य कामका लागि सवारीमा आवातजावत गर्ने यात्री समस्यामा छन् ।
महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले राजधानीको मुख्य सडक र चोकमै निर्माणका काममा भएको ढिलाइले उक्त स्थानका सडक मात्र नभएर आसपास सडक व्यवस्थापनमा समेत समस्या परिरहेको बताए । यसका साथै मूल सडकमा परेका खाल्डाखुल्डी नबनाउँदा, जथाभावी सवारी पार्किङ गर्दा र पैदलयात्रीले जथाभाबी सडक पार गर्दासमेत जामको समस्या बढ्दै गएको मल्लले जानकारी दिए । सडकमा पर्याप्त मात्रामा सडक संकेत तथा लाइन नहुनु पनि यसको अर्काे कारण रहेको ट्राफिक महाशाखाको बुझाइ छ ।
‘सडक विस्तारसँगै निर्माणमा भएको ढिलाइका कारण उक्त सडक खण्डबाट आवातजावत गर्ने यात्रुले पट्यारलाग्दो जामको सामना गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘समयमै निर्माणका काम नसकिँदा ती खण्ड भएर चल्ने सवारीसाधनले कार्यालय समयमा घन्टौंसम्म जामको सामना गर्नुपर्ने अवस्था छ ।’ उनले कोटेश्वर खण्डसहित चक्रपथ क्षेत्रमा थुप्रिने गरेका रात्रिबस जथाभाबी पार्किङले समेत जाम बढाएको जानकारी दिए ।
उनका अनुसार अहिले नक्खुबाट भैंसेपाटीतर्फ आउजाउ गर्ने सडक निर्माणका क्रममा रहेका कारण सवारी आलोपालो जाने व्यवस्था गरिएको छ । ‘यसले सडक व्यवस्थापनमा समस्या थपिदिएको छ,’ उनले भने, ‘सडकका साना खाल्डाले पनि ठूलो असर गर्ने रहेछ । सवारीले उक्त खाल्डा छल्न तर्केर चलाउने गर्दा जामसाथै दुर्घटनासमेत बढाइदिने रहेछ ।’
महाशाखाको पछिल्लो तथ्यांकअनुसार अव्यवस्थित तरिकाले सडक र ढल निर्माण भइरहेका चक्रपथ विस्तार, त्रिपुरेश्वर कलंकी, सिनामंगल, सोह्रखुट्टे, बालाजु, सातदोबाटो, बाइपास, महांकाल, विशालनगर, चण्डोल, कपन, थानकोट–कलंकी सडक खण्डका कारण सबैभन्दा बढी जामको समस्या निम्त्याएको छ । उक्त सडकमा थुपारिएका संरचनाले आवतजावत असहज भएको महाशाखाले जनाएको छ ।
अव्यवस्थित निर्माण सामग्रीको थुप्रो र सडक निर्माणमा भएको ढिलाइसँगै पछिल्ला दिन बढेको भिभिआइपी चहलपहलले पनि उपत्यकाका सडकमा बढी जाम गराइरहेको ट्राफिक प्रहरी बताउँछन् । राजधानीको सडकमा खटिएका एक ट्राफिक भन्छन्, ‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री लगायत भिभिआइपीको आउजाउ पनि बढेको बढ्यै छ । त्यसका लागि सडक खाली बनाउनुपर्दा समेत जामको समस्या बढेको हो ।’
ट्राफिक प्रहरीका अनुसार भिभिआइपीका कारण राजधानीका प्रमुख सडक नयाँबानेश्वर, पुतलीसडक, महाराजगन्ज, लैनचौर, लाजिम्पाट, भद्रकाली–रत्नपार्क, चाबहिल, कुपन्डोल लगायत व्यस्त सडकमा बढी जाम हुने गरेको छ । भिभिआइपी र भिआइपीका कारण कहिलेकाहीँ जाममुक्त सडकका नाममा चिनिएको कोटेश्वर–सूर्यविनायक ६ लेन सडक र बानेश्वरको ८ लेन सडकमा समेत लामो समय सवारी जाम हुन थालेको छ ।
महाशाखाको तथ्यांकअनुसार उपत्यकाका सडकका अहिले निजी तथा सार्वजनिक गरी ५ लाख भन्दा बढी सवारीसाधन गुडिरहेका छन् । बागमती अञ्चलमा सानाठूला गरी ८ लाख सवारी दर्ता छन् । तीमध्ये एक लाखजति सवारी पुराना भएका कारण ‘ग्राउन्डेड’ भएको अनुमान छ । उपत्यकामा गुड्ने यी सबै सवारीको व्यवस्थापनका लागि जनशक्ति अभाव भएकाले पनि व्यवस्थापनमा समस्या बढिरहेको महाशाखाका प्रमुख डिआइजी प्रकाश अर्याल बताउँछन् ।
‘सडकको अवस्था उस्तै छ, त्यसमाथि थोरै जनसंख्याले कसरी व्यवस्थापन गर्न सकिन्छ ?’ उनले भने, ‘धुलाम्मे सडकको बीचमा बसेका चारपाँच जना ट्राफिक प्रहरीले हातको इशारामा लाखौँ सवारीलाई व्यवस्थापन गर्नु निकै चुनौतीपूर्ण छ ।’ उनले सडक विस्तारसँगै ट्राफिक बत्ती, मार्किङ, तालिम र अन्य प्रविधि प्रयोग नगरी राजधानीको सवारी व्यवस्थापन गर्न नसकिने बताए


0 comments
प्रतिक्रिया दिनुहोस्...