-->
नेपालमा मोटोपनका कारण हुने मधुमेह पुरुषमा भन्दा महिलालाई निकै बढी

काठमाडौँ- नेपालमा मधुमेह हुने प्रमुख कारण मोटोपना भएको एक तथ्याङ्कले देखाएको छ । नेपालमा १६ दशमलब ७ प्रतिशत मोटोपनका कारण मधुमेह हुने गरेको पाइएको हो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार यसमा महिला १६ दशमलब ६ प्रतिशत रहेका छन् भने पुरुष १३ दशमलब ६ प्रतिशत रहेका छन् । मधुमेह गराउनसक्ने अन्य कारणमा रहेका अल्छीपना भएका ३ दशमलब ३ प्रतिशत रहेका छन् । यो तथ्याङ्कले नेपाल मधुमेहको उच्च जोखिममा रहेको देखाउने चिकित्सकको भनाइ छ ।
विश्व स्वास्थ्य सङ्गठनको आँकडाअनुसार नेपालमा अहिलेसम्म मधुमेहपीडित कति छन् भन्ने तथ्याङ्क नै छैन तर सन् २०१६ को मधुमेह प्रोफाइलअनुसार एक सर्वेक्षणले ९ दशमलब १ प्रतिशतमा मधुमेह रहेको उल्लेख छ । त्यसमा १० दशमलब ५ प्रतिशत पुरुषमा र ७ दशमलब ९ प्रतिशत महिलामा मधुमेह रहेको देखाएको छ ।
मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराई मानिसको जीवनशैलीमा आएको परिवर्तन, जस्तै गुलियोप्रेमी हुनु, बढी नुनिलो चीज मन पराउनु, चिल्लोयुक्त खानपान, अत्यधिक कार्बोहाइड्रेटयुक्त खानेकुराका कारण मोटोपना बढाएको र त्यसैले मधुमेहले महामारीको रूप लिँदैगएको बताउँछिन् ।
उनले नेपाललगायत दक्षिण एसियाली मुलुकमा खानपानले प्राथमिकता पाउने गरेको र अस्वस्थकर खानपानका कारण मधुमेहले ठूलोरुप लिन थालेको बताए । उनले भनिन् ‘मधुमेहको भयावह स्थिति छ । हामी मधुमेह हुने विश्वका दुई ठूला देश चीन र भारतको बीचमा बस्दछौँ । त्यसले पनि हामीलाई रोगबाट बच्न चुनौती थपिदिएको छ ।’
नेपालमा खासगरी सबैभन्दा बढी असर परेकामा मोटोपना भएका र शारीरिक व्यायाम कम गर्नेमा मधुमेह देखिएको छ । यी दुवै समस्यालाई समयमा नै सचेत बनेमा रोकथाम गर्न सकिने र उपचार सम्भव भएको छ । यदि यिनलाई बेलैमा समाधान नगरे पछि गएर खतरनाक अवस्था पनि हुन सक्छ ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलका अनुसार यसले पछि गएर मानिसका महत्वपूर्ण अङ्गलाई काम नलाग्ने बनाउन सक्छ, जस्तै–हृृदयरोग, मस्तिष्कघात, अन्धोपना र पक्षघात गराउने या मिर्गौलाले काम गर्न नसक्ने तथा मुटुमा समस्या ल्याउन सक्ने प्रवल सम्भावना हुन्छ । त्यसकारण व्यक्तिगत कुरामा ध्यान दिन सक्यौ“ भने यसबाट बच्न सकिन्छ ।
उनी भन्छिन्, ‘मधुमेह भएका ९० प्रतिशत मानिसलाई उच्च रक्तचापको समस्या देखिने हुन्छ भने सामान्य मानिसलाई भन्दा तीन गुणा बढी हृदयाघात हुने र उच्च रक्तचापको समस्या देखिने गर्दछ ।’ डा भट्टराईका अनुसार ‘स्वस्थ खानेकुरा खाने र चिनीगुण भएका खानेकुरालाई नियन्त्रण गर्ने, हामीले प्रोटिनयुक्त, रेसादार खानेकुरा आवश्यकताअनुसार मात्र खाने गर्दा पनि धेरै कम हुन्छ ।”
दैनिक ३० मिनेट व्यायाम गर्दा वयस्कलाई तौल नियन्त्रण गर्न मद्दत गर्छ । सरकारले बालबच्चालाई प्रभाव पार्न बनाइएका बजारिया खानामा नियन्त्रण गरी मधुमेहको जोखिम नियन्त्रण गर्न कार्यक्रम ल्याउन पनि आवश्यक छ । अव्यवस्थित, खानेकुरामा लेबल नलगाइएका वस्तुहरू बिक्रीमा प्रतिबन्ध लगाउनुपर्छ । सरकारले मधुमेह नियन्त्रणका लागि स्वास्थ्य हेरविचार कार्यक्रमलाई बढाउने र मधुमेहबारे शैक्षिक जागरण कार्यक्रमलाई बढाउनुपर्ने चिकित्सकको सुझाव छ ।
त्यस्तो मानिसमा जटिल अवस्थामा पुगेपछि मात्रै थाहा हुन सक्छ । त्यसैले जोसुकैले पनि कम्तीमा वर्षमा एकपटक सुगर जाँच गराउनुपर्ने चिकित्सकहरु बताउँछन् । मुख सुक्खा हुने, पिसाब लागिरहने, धेरै भोक लाग्ने, तौल घट्ने, घाउ हत्तपत्त निको नहुने, हातगोडा झम्झमाउने, निदाउने या गल्नेजस्ता लक्षण देखिएमा तुरुन्त जाँच गराउनु आवश्यक छ । मधुमेह लागिसकेका बिरामीले चिकित्सकले भनेअनुसार औषधि सेवन र खानपानमा विचार पु¥याउनुपर्दछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.