धेरै सर्जकहरुले गरेका सृजना केही अनुभवका आधारमा हुन्छन, केही कल्पनामा डुबेरमा गरिन्छन् । तर, जब कल्पना गरेका केही सृजना बास्तबिक जिवनमै परिणत हुँदा भने सर्जकका लागि त्यो क्षण दुःखदायी नै हुन्छ ।
स्वरिलो स्वर र शब्दकी धनी लमजुङको सिन्दुरेकी बिमाकुमारी दुराले पनि जिवनमा यस्तै भोगेकी छन्, जो उनको कल्पना स्वरिलो स्वर गुञ्जिसकेको थियो ।
‘छुट्यो मायाजाल’ शीर्षकको गीत गाउँदा शायद उनलाई लागेको थिएन होला,सोही गित झैं जिन्दगीमा पनि त्यस्तै भोगाई होला भनेर ।
६ हजार भन्दा बढी गित गाएर सबैको मन जितेकी लोक गायिका बिमाकुमारी दुरा अहिले त्यस्तै भोगाईमा जिवन जिउन बाध्य छन् ।
‘लाइछु माया अर्कैको नासो’ भन्ने गीतबाट गायन यात्राको औपचारिक शुरुवात गरेकी दुराको वास्तविक जीवनमा पनि त्यस्तै भयो । आफूले माया गरेको मान्छे अर्कैको नासो भएको थाहा पाएपछि दुरा अहिले एकमात्र छोरीसँग बस्दै आएकी छिन् ।
काठमाडौंको भीडभाडबाट टाढा काभ्रेस्थलीमा बस्ने दुरालाई पोहोरको भुँइचालोले नराम्रोसँग तर्साएको छ । गोंगबुमा भएको आफ्नो साढे चार तले घर भाडामा लगाएर यहाँ टहरा बनाएर बसेकी छिन् उनी ।
२०४७ सालमा रेडियो नेपालले आयोजना गरेको प्रतियोगितात्मक लोकगीत सम्मेलनमा प्रथम भएपछि उनले आफ्नो सक्रिय गायन यात्राभर कसैसँग प्रतिस्पर्धा गर्नुपरेन ।
‘एक नम्बर’की गायिकाका रूपमा स्थापित गायिका बिमा कुमारी दुरा आफ्नो जमानाकी अब्बल गायिकाको रूपमा रहिरहिन् । उनको पहिलो एल्बम ‘छुट्यो मायाजाल’ त्यतिखेरको सबैभन्दा बढी बिकेको एल्बममा पर्छ । संयोग नै मान्नु पर्छ उनको पहिलो गीत र पहिलो एल्बमले उनको जीवनको वास्तविकता पहिले नै बोलिसकेका थिए ।
विवाहमा धोका
आमाबाबुको सहमतिविना नै दुराले बागलुङका भक्त श्रीषसँग लगनगाँठो कसिन् । तर उनको दुर्भाग्य, आफ्नो सर्वस्व सुम्पेर गएको मान्छे अर्कैको नासो भएको पछि मात्र थाह पाइन् । एउटी छोरी जन्मेपछि उनको श्रीमानसँग बस्ने सपना अधुरै रह्यो । अहिले संसार हेरेर आफूले चित्त बुझाउने गरेको बताउने दुरा आफ्ना श्रोताहरुलाई नै आफ्नो जीवनसाथी भन्न रुचाउँछिन् ।
२०४५ सालमा पहिलोपल्ट काठमाडौं देखेकी बिमा कुमारी दुरा तत्कालीन राजा वीरेन्द्रको जन्मदिनमा दोहोरी गाउन यहाँ आएकी थिइन् । तृतीय पुरस्कार जितेकी दुरालाई त्यसैबेला म्युजिक नेपालले एउटा एल्बम गर्ने अवसर प्रदान ग¥यो । एल्बम रेकर्ड गरेर गाउँ नै फर्केकी उनी रेडियो नेपालको लोकप्रिय कार्यक्रम चौतारीमा गीत गाउन फेरि आइन् काठमाडौं । यसरी काठमाडौं आउने जाने गर्दा गर्दै दुरा नेपालकै चर्चित गायिकाका रूपमा स्थापित भइसकेकी थिइन् ।
नपढेकोमा गुनासो छैन ।
स्कूलमा पाइला समेत नटेकेकी दुरालाई बाबुले खरानीमा अक्षर लेख्न सिकाएका हुन् । कखरा मात्र सिकेकी दुुरा अहिले सामाजिक सञ्जाल चलाउनुका अलावा अंग्रेजी पनि बुझ्छिन् ।
छोरीलाई पढाउने संस्कार नभएको बेलामा आफ्ना अभिभावकले पनि त्यही संस्कारलाई पछ्याएको उनको ठम्याइ छ । बेलामा पढ्न पाएको भए आफू देशमा मात्र नभई विदेशमा समेत चर्चित हुने उनको बुझाइ छ । तर पनि पढेका मान्छेले काम नपाएको अहिलेको अवस्था देख्दा नपढेकोमा उनको गुनासो छैन ।
मेलापातमा गीत गाउँदा नै उनको मनमा एउटा सपना थियो, देशको लोकप्रिय गायिका बन्ने । भयो पनि त्यस्तै । रेडियो नेपालका गीतहरू नै उनका प्रेरणाका स्रोत हुन् । उनलाई न गीतको गुरु थाप्नुप(यो न त उनलाई कुनै वाद्ययन्त्र बजाउन नै आउँछ ।
गाउन कुनै रियाजसम्म नगर्ने दुरा साँच्चिकै सरस्वतीको प्रसाद नै हुन् भन्दा अत्युक्ति नहोला । दोहोरी गाउँदा अब्बल ठानिएका गायक गायिकाहरूलाई समेत हराएको अनुभव छ उनीसँग । ‘यो दाजुको मिर्मिरे आँखा’ गायक प्रवीण गुरुङसँग गाएको गीतले त उनलाई अझ नयाँ चिनारी थपिदियो ।
‘वीरेन्द्र सरकारको जुठो रक्सी’
गायिकाको रूपमा सांस्कृतिक संस्थानमा जागिर पनि खाइन् दुराले । अस्थायी जागिर पाँच वर्षभन्दा टिकेन । दरबारकी गायिकाको रूपमा समेत दुई वर्ष गीत गाएकी दुरा राजा वीरेन्द्रको अगाडि गीत गाउँदा आफूलाई झन् बढी उत्साह थपिने गरेको अनुभव सुनाउँछिन् । ‘वीरेन्द्र सरकार’सँग बोल्न नपाएपनि गीत गाउने क्रममा राजा वीरेन्द्रको जुठो खाएको स्वीकारिन् ।‘सरकारको जुठो रक्सी खाएँ, यो भन्न मलाई लाज लाग्दैन’, सगर्व उनले भनिन् ।
अन्य गायक गायिकाहरूको एल्बममा पर्म गरेर गाउने प्रचलन थियो उतिबेला । बमबहादुर कार्कीसँग बिमाले धेरै गीत गाइन् । उनीहरूको ‘जोडी’ले गाएको दासढुङ्गा एल्बमको बिक्रीको रेकर्ड त नेपालमा अहिलेसम्म कसैले बनाउन नसकेको दुराले बताइन् । फुल्यो निमपत्ता, चिनो र छुट्यो मायाजाल एल्बम आफ्ना सबैभन्दा सफल मान्छिन् उनी तर आफूले गाएका सबै गीत अजर रहने उनको दाबी छ ।
एकदिनमा ६ वटासम्म गीत रेकर्ड गरेकी दुराले पछिल्लोपटक आफू चर्चामा रहँदा एउटा गीत गाएको १० हजारसम्म लिन्थिन् । तर सबैसँग उनले यो रकम लिइनन् । कहिलेकाहीँ रहर गरेर एल्बम गर्न खोज्नेलाई सित्तैंमा पनि गाउँथिन् ।
विदेशमा हुने कार्यक्रममा पनि बाक्लै उपस्थिति रह्यो उनको । आफ्नै कमाइमा बनाएको काठमाडौंको घर हेरेर आफ्ना विगतका दुःखका दिन सम्झने दुरा अहिले त्यही घरको भाडाबाट छोरी पढाउँछिन् ।
दुराको स्वरलाई मन पराउने भक्त श्रीषसँग २०५३ सालमा बिहेबन्धनमा बाँधिएकी दुरा अहिले यो कुराले चिमोटिरहन्छ । तीन वर्षको प्रेमपछि लुकीछिपी बिहे गरेकी दुरालाई एउटी छोरी चिनो दिएर भक्त छुट्टिएर बसे ।
सरकारी शिक्षक भक्त श्रीषसँग उनको भेट नभएको पनि अहिले १० वर्ष भइसक्यो । आफ्नो असफल वैवाहिक सम्बन्धलाई लिएर उनलाई कहिले पनि खल्लो लागेको छैन ।
‘राजीखुशी’ले श्रीमान्सँग अलग भएर बसेकी दुराको भविष्यको सहारा आफ्नी एकमात्र छोरी भएको बताउँछिन् । सपनाको संसारलाई ‘हुरीले उडायो’ भन्ने जस्तो लागेपनि गायनमै व्यस्त हुने भएकोले पतिसँग बिछोडिँदा पनि खासै नरमाइलो महसुस नभएको दुराको भनाइ छ ।
अचेल घर व्यवहार चलाउनैमा व्यस्त
आफू जन्मेको ठाउँमा केही गरेर आफूलाई ‘अमर’ बनाउने उनको धोको छ । गाउँमा केही चिनो दिने विचार छ उनको । अबको बाँकी जीवन घरव्यवहार चलाउने, छोरीलाई स्थापित गराउनेमा आफू केन्द्रित रहने दुराले बताइन् ।
आफ्ना शुभचिन्तकको मायाको कारणले आफू स्थापित भएको उनको ठम्याइ छ । श्रोताहरूले माया गरेर गीतहरू सुनिदिएका कारण आफूले मनग्गे पैसा कमाएको दुरा बताउँछिन् । आफ्ना समकक्षीहरूसँग कहिल्यै प्रतिस्पर्धाको सोच नराखेको उनको दाबी छ ।
एकल जीवन बिताउन अलि कठिन हुने उनको अनुभव छ । आफूलाई फेरि नयाँ जीवन शुरु गर्नुपर्छ भनेर उकास्ने मान्छे भएपनि आफूलाई यस विषयमा सोच्ने फुर्सदै नभएको दुरा बताउँछिन् । आमा बाबुले यो कुरामा केही भन्ने आँट नगरेपनि आफूलाई चाहिँ प्रस्ताव राख्लान् कि भनेर डराउँछिन् दुरा ।
अहिलेका गीतहरू जति नै चर्चित भनेपनि उतिखेरका गीत जति कहिल्यै पनि हिट नहुने उनको ठहर छ । प्रविधिमा आएको बदलावले गर्दा गीतहरूमा चोरी हुने भएकोले कलाकार अहिले मर्नेगरेको दुराले बताइन् ।
आफ्ना गीतहरू कहिल्यै पनि नमर्ने उनको दाबी छ । लोकदोहोरी रेष्टुरेन्टहरूमा अहिले पनि आफ्ना गीत गाइने हुनाले नयाँ गीतको भन्दा पुरानै गीत अमर रहने विश्वास दुरामा छ ।
कुराकानीको अन्त्यमा दुराले लोकान्तर मार्फत सञ्चारमाध्यमहरूलाई जथाभावी शब्द र दृश्य भएका गीतहरू प्रसारण नगरिदिन अनुरोध गरिन् । अश्लील प्रकारका शब्द र दृश्यहरूले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा समेत बदनाम भइरहेकोमा उनको गुनासो छ ।
(स्रोत ः लोकान्तर)


0 comments
प्रतिक्रिया दिनुहोस्...