काठमाडौँ असार २१ – काठमाडौँका गुण्डा नाईके/डनहरु को पत्तासाफ गरेर एकाएक चर्चामा आएका महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सर्वेन्द्र खनालको सरुवा हुनेभएको छ । अपराध अनुसन्धान महाशाखामा नियुक्ति भएको वर्ष बित्दा नवित्त्दै उनको सरुवा हुने लगभग निस्चित भएको हो ।
अब उनको ठाउँमा प्रहरी कार्यलयले कसलाई पठाउने भन्ने बारेमा गृहकार्य गर्न थालिसकेको बताइएको छ । त्यहाँ नेतृत्व गर्न सक्ने क्षमताका तत्काल कुनै अधिकृत नभएको कारणले उनको सरुवा रोकिए पनि प्रहरी प्रधान कार्यालयलले खनाललाई साउनभन्दा पछी त्यहाँ नराख्ने निष्कर्ष निकालेको छ । राम्रो अधिकृतले जान्छु भनेर आए अहिले नै पठाइदिने भन्दै प्रधान कार्यालयले महाशाखामा पठाउनका लागि केही अधिकृतहरूसँग सल्लाह लिएको छ । तर, कसैले पनि म सर्वेन्द्र खनालभन्दा यो मानेमा राम्रो काम गर्छु भनेर प्रस्ताव नगरेको स्रोतले जनाएको छ ।
राम्रा अधिकृतलाई एकै स्थानमा राख्दा उनीहरूको करियमा समेत केही राम्रा र केही नराम्रा पक्षहरू एक साथ देखिने भएकाले राम्रो हुँदाहुँदै सरुवा गरेर उनीहरूलाई सुरक्षित गर्ने प्रहरीको सुरुदेखिको योजनालाई पनि यसपटक एसएसपी खनालको हकमा लागू हुने भएको छ । उनकै ब्याजीमध्ये वा अन्य कसलाई पठाउने भन्ने विषयमा गृहमन्त्री शक्ति बस्नेतले धेरै पटक चासो राखे पनि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले केही बताएका छैनन् । हाल अमेरिकामा रहेका खनालको यही असारमा एक वर्ष पुगेको छ । उनका ब्याजीमध्ये महाशाखामा कसैले पनि नेतृत्व गर्न सक्दैनन् भन्ने प्रधान कार्यालयको निष्कर्ष रहेको छ । उत्तम कार्की परिसर बसेका हुनाले उनको सम्भावना नरहेको, श्याम खत्री एयरपोर्टमा रहेकाले उनलाई पनि परिसरमा पठाउन नसकिने तथा मिलन बस्नेत ट्राफिकमा रहेकाले महाशाखामा उनलाई पठाउन नहुने तर्कअघि सारिएको छ ।
त्यस्तै लागुऔषधमा रहेका गणेश केसी जमीम शाहको हत्या हुँदा काठमाडौं परिसरबाट तानिएका कारण उनलाई पनि दिन नहुने तर्कअघि सारिएको छ । रणबहादुर बम हत्या काण्डको समया ललितपुरको कमाण्ड सम्हालेका राजेन्द्रमान श्रेष्ठ दुइ वर्ष नयाँ दिल्लीस्थित दूतावासमा सुरक्षा सहचारी भएर काठमाडाै आएपछि उनी अहिले महाशाखा प्रमुख हुन दौडधुप गरिरहेका छन् । प्रधान कार्यालयले खासै रुचि नदेखाए पनि कांग्रेसजनहरूले भने उनलाई त्यहाँ लैजान निकै दबाब दिएका छन् भने उनी आफै पनि भावी आइजिपीको दाबेदार रहेकाले खनाल र अर्का चर्चित प्रहरी अफिसर्स रमेश खरेललाई टक्कर दिन आफू त्यहाँ जानुपर्ने निष्कर्षमा पुगेका छन् ।
उनको दावीलाई धेरैले कांग्रेस सरकारमा रहे उनी आइजिपी हुने संकेतसमेत गरेका छन् । तर, मर्यादाक्रम खरेल र खनाल प्रतिस्पर्धी रहेकाले उनी आइजिपी हुन सक्ने सम्भावना निकै कम छ । माओवादीको फेर समातेर सुवास चौधरी पनि महाशाखाको दाबी गरिरहेका छन् भने छविलाल जोशी पनि पछिल्लो समय एकपटक काठमाडांै परिसरको नेतृत्व गर्ने अवसरको खोजीमा छन् ।
राजेन्द्र श्रेष्ठको भने अवकाशको समय नजिकिएकाले उनलाई प्रहरी प्रधान कार्यालयले भदौमा बिदाइ गर्ने तयारी गरेको छ । उनको भदौ ५ गते अवकाश हुँदै छ । पुष्पचन्द्र रञ्जित र बलराम शर्मा पौडेलले पनि मुख मिठाइयाए पनि उनीहरूको सम्भावना नहरेको प्रधान कार्यालय स्रोतले जनाएको छ । काठमाडांै परिसरका प्रमुख विक्रमसिंह थापा भने आगामी मंसिरसम्म काठमाडौं परिसरमै रहने भएका छन् । उनको ३० वर्षे सेवा हदका कारण आउँदो मंसिरमा जागिरबाटै बिदा हुँदै छन् । त्यही कारण उनको स्थानमा भने अहिले कसैलाई पनि त्यहाँ पठाउने सोच नभएको प्रधान कार्यालयले जनाएको छ । आजको जनप्रहार साप्ताहिकबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...