-->
प्रेमीप्रेमिकाहरुको गन्तव्यस्थल धरानको बुढासुब्बा मन्दिर !!

हरेक शनिबार र मंगलबार एकाबिहानै युवकयुवती बास्केटमा पूजा सामग्रीसहित धरानको विजयपुर डाँडा परिसरमा रहेको बूढासुब्बा मन्दिर आउँछन् । मन्दिर आसपास रहेको बाँस झ्याङमा रंगीन धागो (गन्डा) बाँधेर प्रेम व्यक्त गर्छन् । एक्लै आएकाले आफ् नो प्रेमी वा प्रेमिकालाई सम्झेर अनि जोडी बाँधेर आएकाले सँगसँगै जुनीजुनीभर नछुट्टिने वाचा बाँध्छन् ।
धरानको बूढासुब्बालाई नयाँ पुस्ताले त प्रेमको देवताका रूपमा मान्न थालेको छ नै, घन्टा र बाँसमा धागो बाँध्ने चलनलाई बूढासुब्बा मन्दिरका पुजारी उत्तम आलेमगरलगायत स्थानीय समाजले पनि स्वीकारेको छ । भलै, बूढासुब्बा प्रेमका देवता नभएर वीरताको प्रतीक भएको किंवदन्ती छ ।
विभिन्न अनुसन्धानकर्मीले उक्त मन्दिर किराँत राजा बुद्धिकर्ण रायको चिहान भएको दाबी गरेका छन् । बुद्धिकर्णले धनुकाण त्यहीँ गाडेपछि ठुटेबाँस उम्रिएको कथा चाखलाग्दो छ । तर, वनस्पति विज्ञानले भने बूढो बाँसको झ्याङको आयु समाप्त हुँदै गएपछि टुप्पाविहीन बाँस उम्रने गरेको तथ्यलाई बिर्सन नहुनेमा जोड दिएको छ ।
बूढासुब्बालाई साक्षी राखेर नजिकै रहेको बाँस झ्याङ्मा प्रेमको धागो बाँध्दै गरेका भेटिए, धरान–१५, बाझोगराका दिनेश लिम्बू र सुस्मिता राई, धरान–१९ चौकीबारीका दीपक तामाङ र मेलिना मगर । उनीहरू तीन वर्षदेखि प्रेम गर्दै आएका जोडी हुन् ।
“आफूले मन पराएको मान्छेसँग गरेको प्रेम जस्तोसुकै अवस्थामा पनि नछुटोस् भन्ने सबैको चाहना हुन्छ,” दिनेशले भने, “पहिले हजारौँ प्रेमी–प्रेमिकाले बूढासुब्बाको बाँस झ्याङमा नाम लेख्थे, अचेल रंगीन धागो बाँधेर त्यसैलाई निरन्तरता दिएका हौँ ।”
धरान उपमहानगरपालिकाका कर्मचारी इन्द्र श्रेष्ठका अनुसार बूढासुब्बा मन्दिरमा पुरानो भाकल पूरा गर्न, हाँकेको, ताकेको र चिताएको पूरा गर्न लोकल भाले र पोथी, सक्नेले सुंगुर अनि केही रक्सी, पान, सुपारी, ल्वाङ, चुरोट चढाउने गरेका थिए । पछिल्लो समय ती सबै सामग्रीसँगै युवा पुस्ताले भने प्रेमको धागो पनि चढाउन थालेको हो । इटहरी बस्ने रोमी मगर भन्छिन्, “प्रमुख कुरा विश्वास हो । अनि, हामीजस्ता डिजिटल जमानाका नयाँ पुस्ताका लागि प्रेमलाई बुझ्ने र व्यक्त गर्ने मौका पनि हो ।”
आधुनिक उपभोक्तावादी समाज र भूमण्डलीकरणले गाँजेको समाजमा दिनदिनैको अन्तरद्वन्द्व, पारिवारिक र सामाजिक तनाव, समयको अभाव इत्यादि कारण युवा पुस्तामा भावनात्मक असुरक्षा बढ्दै गएको अवस्था छ । मनभित्र भएको त्यो भावनात्मक असुरक्षाको भर्पाई गर्न युवकयुवती अदृश्य शक्तिको पछि लाग्छन् र मानसिक शान्ति प्राप्त हुने ठान्छन् ।
विजयपुरका स्थानीय बासिन्दा प्रा डा राजेन्द्र शर्मा १० वर्षअघि राजधानीबाट प्रकाशित हुने एक साप्ताहिकमा कोरियाको समाचार आएपछि यस्तो चलन भित्रिएको बताउँछन् । समाचार अनुसार कोरियाको एउटा नदीको पुलमा प्रेमी जोडीले ताल्चा लगाएपछि एउटा–एउटा चाबी विपरीत दिशामा उभिएर फाल्ने चलन
विकास भएको थियो । त्यसपछि स्थानीय प्रेमी–प्रेमिकाले बूढासुब्बाको बाँस झ्याङमा धागो बाँध्ने चलन सुरु गरे । “त्यसअघि बूढासुब्बामा प्रेमी जोडीले काँटीको प्रयोग गरी नाम लेख्ने चलनले बाँसमा असर परिरहेको थियो,” शर्मा भन्छन्, “बाँस पनि संरक्षण गर्ने र प्रेमीहरूको पनि सम्मान हुने भएकाले धागो बाँध्ने चलन स्वीकारिएको हो ।”
ग्रीक कथामा प्रेमका देवता भनेर एफ्रोडाइटलाई चिनाइएको छ । तर, नेपाली संस्कृति र संस्कारमा प्रेमको देवता भनेर कोही चिनिँदैनन् । पछिल्लो समय बूढासुब्बा मन्दिर प्रेमीहरूको आस्थाको केन्द्र बन्न थालेको डा शर्माको विश्लेषण छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.