-->
रणभूमि बन्दैछ डा केसीको अनशनस्थल, प्रधानमन्त्रीको हस्तक्षेप माग

काठमाडौँ, ५ साउन - प्राध्यापक डा गोविन्द केसीको अनशनका कारण चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को स्वास्थ्य शिक्षा र सेवा प्रवाह प्रभावित हुन थालेपछि सरोकारवालाले समस्या समाधानका लागि पहल थालेका छन्।
आमरण अनशनको १० औं दिन पुग्दा डा केसीको स्वास्थ्य अवस्था पनि नाजुक हुँदै गएको छ। आईओएमका निमित्त डिन प्राध्यापक डा विमलकुमार सिन्हाले मंगलबार प्रधानमन्त्री केपी ओलीलाई पत्र लेखी संस्थानको पठनपाठन, बिरामीको स्वास्थ्य उपचार र डा केसी स्वयंको स्वास्थ्य जोखिममा पर्दै गएकाले समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन्।
उनको पत्रमा उल्लेख छ, ‘डा केसीको अनशन, उहाँको मागका कारण सिर्जित समस्याले संस्थानको शिक्षा र स्वास्थ्य सेवा प्रवाहमा असर पर्न थालेको र डा केसीको स्वास्थ्य पनि नाजुक भइरहेको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि पहल गर्न आग्रह गर्दछौं।’
त्यस्तै डा केसीका मागप्रति सरकार उदासीन रहेको आरोप लगाउँदै उनका समर्थकले निकालेको र्यालीमा सहभागी विद्यार्थी र प्रहरीबीच मंगलबार केहीबेर झडपसमेत भएको छ। प्रधानमन्त्री निवास बालुवाटार घेर्ने उद्देश्यका साथ निकालिएको र्यालीमा सहभागी विद्यार्थीले निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो। त्यस क्रममा १२ जना चिकित्सक र विद्यार्थीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। करिब ६ घन्टापछि अधिकारकर्मीको पहलमा उनीहरूलाई छोडिएको थियो।
अनशन बस्नुअघि डा केसीले स्वास्थ्य शिक्षा र सेवा प्रवाह प्रभावित नहुने बताए पनि प्रतिकूल परिस्थिति उत्पन्न भएपछि आईओएमको डिन कार्यालय, त्रिवि शिक्षण अस्पताल र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले समस्या समाधानका लागि वार्ता प्रक्रिया अघि बढाउन सरकारलाई घच्घच्याएका छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.