काठमाडौं, ३० असार । ओली सरकारबाट बहिगर्मनपूर्व प्रचण्डमात्र हैन, साझेदार दलका नेतासमेत ‘फुटबल मुड’ मा थिए । आइतबार साँझ बालुवाटार वार्ता शुरु हुनुअघि नेताहरु चर्चा गर्दै थिए, युरो कपको । त्यसदिन युरो कपअन्तर्गत फ्रान्स र पोर्चुगलबीच निर्णायक भिडन्त थियो । साँझ साढे ६ बजे बालुवाटार छिर्नासाथ प्रचण्डले प्रधानमन्त्री ओलीसँग भने, ‘आज त युरो कप छ नि !’ सरकार ढाल्ने खेलोका मुख्य पात्र प्रचण्ड नै त्यस्तो मुडमा भएपछि अरु नेतालाई पनि के चाहियो र, कुरा थाले फुटबलकै । प्रधानमन्त्रीले भने, ‘अँ त, हेर्नुपर्ने..† रातिको पौने १ बजे रहेछ ।’ कमल थापाले ‘फ्रान्सको टीम राम्रो छ’ भन्दै आफूलाई फ्रान्सपक्षधरको रुपमा उभ्याए । सँगै बसेका श्रममन्त्री दीपक बोहोराले ‘म त पोर्चुगलको पक्षमा’ भनेपछि सबै गलल हाँसे । कानुनमन्त्री अग्नी खरेलले भने, ‘हामीलाई के पोर्चुगल, के फ्रान्स । आखिरमा यी दुबै कुनै बेलाका साम्राज्यवादी देश हुन् ।’
प्रचण्डले ‘त्यही त’ भन्दै अग्नीको समर्थन गरे । गर्नु छ गम्भीर राजनीतिक वार्ता, कुरा चल्छ युरो कपको † यस्तो सुनेर नारायणकाजी श्रेष्ठ दिक्क मान्दै बसेका थिए । भने, ‘उसो भए आज रमाइलो गरौँ, फुटबल हेरौँ, वार्ता भोलिपर्सि गरौँ †’ सुन्नासाथ ओलीले भने, ‘अहिले सरकारको भविष्यबारे एकखालको तरलता सिर्जना गर्ने कोसिस भएको छ । सवा दुई महिनादेखि सरकार ढल्दैछ भनेर अस्थिरता सिर्जना भयो । त्यसकारण हामीभित्रै छलफल गरौँ ।’ उनले भने, ‘पारस्परिक समझदारी र विश्वासमा समस्या भएको बाहिर चलेको हल्लाबाट बुझिन्छ । प्रधानमन्त्रीको हैसियतले सरकारलाई टिकाउने र चलाउने पार्टीहरु एक ठाउँमा छन् । हामी आफैँले समस्या सिर्जना नगर्ने हो भने यो गठबन्धन सुदृढ छ ।’
ओलीले विषय प्रवेश गर्नासाथ प्रचण्डले भने, ‘हामीलाई गम्भीर बनाएको विशेषगरी शान्ति प्रक्रियाको विषयले हो । यसबीच अदालतबाट पनि केही भनाइ आए । टिआरसीमा परेका उजुरीमा एमालेसम्बद्ध मानवअधिकारवादी र वकिलहरु बढी क्रियाशील भए । कानुन मन्त्रालय एमालेकै हातमा छ । दोस्रो कुरा, राजनीतिक नियुक्तिलगायतमा एकपक्षीय भयो ।’
प्रचण्डले भने, ‘अझै पनि चिजहरु हाम्रै हातमा छन् । सकारात्मक रुपमा अगाडि बढाऔँ भन्ने हो । यो गठबन्धन टुटिहालोस् भन्ने पक्षमा छैनौँ । ९ बुँदे समझदारी भएपछि धेरै काम त्यहीअनुसार अगाडि बढेको छ । त्यहीबेलाको अलिखित तीन बुँदे समझदारी छ । त्यसमा प्रधानमन्त्रीले सही गर्नुभएन, मैले पनि सही गर्नुस् भनेर जोड गरिनँ । तर, समझदारी भएकै हो । नारायणकाजीले त्यो तयार पार्नुभएको र वामदेवजीले हेर्नुभएको हो । त्यस्तो तीन बुँदा आउँदा हामी सबै बस्नचाहिँ मौन बसेकै हो । अहिले त्यही कुरामा समस्या भएको छ । तीन बुँदे भएको छैन भन्यो भने म पनि निरीह हुन्छु । प्रधानमन्त्रीले तीन बुँदेलाई अस्वीकार गर्छु भन्नुभयो भने उहाँ पनि निरीह बन्नुहुन्छ । त्यसैले यो गठबन्धन तोड्ने हाम्रो इच्छा होइन । तीन बुँदेका आधारमा सत्ताको नेतृत्व फेरौँ भन्ने कुरा मात्रै हो, हाम्रो ।
यसपछि कमल थापाले बोले । ‘संविधानप्रति हाम्रो सतप्रतिशत समर्थन भएर सरकारमा आएको होइन । यो संविधानप्रति आलोचनात्मक समर्थन छ । हामी तीन बुँदे र ९ बुँदे जान्दैनौँ, त्यो आधारमा सरकारमा बस्ने र नबस्ने पनि भनेका छैनौँ’, उनले भने, ‘प्रधानमन्त्री, प्रचण्डजी र विजय गच्छेदारजीसँग मेरो छलफल भएपछि सरकारमा सहभागी हुन उत्प्रेरित भएको हुँ । सरकारले जनताले चाहेअनुसार काम गर्न नसकेको होला । हामीभित्रै पनि समस्या होलान् । तर, यो सरकार लोकप्रिय छ ।
प्रचण्डजीको चिन्तालाई पनि यही गठबन्धनले समाधान गर्छ ।’ उनले चेतावनीको शैलीमा भने, ‘हेर्नुस् प्रचण्डजी, गठबन्धन तोड्ने तपाईंको चाहना क्षणिक मात्र हुनेछ । चीनसँग हामीले गरेको समझदारीले देशभित्र र बाहिरै पनि कतिपयलाई ठूलै छटपटी भएको छ । यो सरकारले गरेको शुरुवातलाई डिरेल गर्ने कोसिस भइरहेको छ । भारत र चीनसँग गरेका कतिपय सम्झौताहरु कार्यान्वयनमा जाँदैनन् । हामीले हिम्मतका साथ फास्ट ट्रयाक बनाउने निर्णय ग¥यौँ । प्रचण्डजी, तपाईंले लेखेर राख्नुस्, अर्को सरकारमा तपाईं नै प्रधानमन्त्री भए पनि त्यो फास्ट ट्रयाक नेपालले बनाउन पाउँदैन । नेपाललाई बनाउन नदिने खेल हुन्छ । त्यो खेललाई चाहेर पनि रोक्न सक्नुहुन्न । त्यसैले यो गठबन्धनलाई इन्ट्याक्ट राखौँ । तपाईं र प्रधानमन्त्री बसेर कुरा गर्नुस् ।’
कमल थापाले केही बाँकी राखेजस्तो, अर्थात् कुरा टुङ्याएका थिएनन्, विजय गच्छेदार बोल्न थाले । प्रचण्डतिर इङ्गित गर्दै गच्छेदारले भने, ‘कांग्रेसलाई मैलेजति तपाईंले चिन्नु नै भएको छैन । कांग्रेसहरु कस्ता हुन्छन्, त्यो तपाईंलाई के थाहा छ ? मैले त जीवन नै कांग्रेसमा बिताएको हुँ । कांग्रेससँग गठबन्धन गर्ने मोह तपाईंमा एकदम धेरै पलायो । म यो तीन बुँदे र सिनबुँदे केही जान्दिनँ । त्यो विषयमा तपाईंहरु ठूलो पार्टी आफैँ बसेर टुङ्गो लगाउनुस् । हामी नौ बुँदे जान्दछौँ । तपाईंले पोजिसन लिँदा निश्चित छ, यो गठबन्धन त हल्लिन्छ । यो गठबन्धन हल्लिएर सरकार गिरेपछि के–के हुन्छ भन्ने कुरा म अहिल्यै खोल्न चाहन्नँ । तपाईं र प्रधानमन्त्री बस्नुस् । अहिले यत्तिमात्रै बुझ्नुस् कि, तपाईंले यो गठबन्धन तोडिहाल्नुभएछ भने देशलाई ठूलो क्षति हुनेछ ।’
दीपक बोहोराले पनि प्रचण्डलाई गठबन्धन तोड्न नहुने बताए । भने, ‘यो देशका राष्ट्रवादी शक्तिहरु एक ठाउँमा भएको गठबन्धन हो । भोलि बन्ने गैरराष्ट्रवादी गठबन्धनले संविधान कार्यान्वयन गर्दैन । तपाईंहरुको पार्टीभित्र आन्तरिक द्वन्द्व छ भने त्यसलाई पन्छाएर भए पनि सरकारचाहिँ नछोड्नुस् ! ’ सीपी मैनालीले गठबन्धनमा समस्या छ भने ठूला पार्टी बसेर छलफल गरौँ भन्दै देशलाई स्वतन्त्र रुपमा लैजाने कुरालाई बिथोल्ने प्रयास भइरहेको बताए । भने, ‘यो कुरा प्रचण्ड कमरेडले बुझ्नुपर्छ । आफ्नो पार्टीको आन्तरिक समस्याका नाममा गठबन्धन नतोडिदिनुस् ।’
सीपीलगत्तै चित्रबहादुर केसी बोल्न थाले । ‘मैले त चैतको २० गते एयरपोर्टमै भेट्दा प्रचण्डजीलाई भनेको हो, भारतको आशा अहिले तपाईंमाथि छ । यो सरकार ढाल्नका लागि तपाईंमाथि धेरै भरोशा गरेका छन्,’ भने, ‘आखिर यो दिन त आयो नि † तर, यति कुरा ख्याल गर्नुस्, यो गठबन्धन तोडिनासाथ तपाईंलाई सिंहासनबाट झारिदिन्छन् ।’
यतिबेलासम्म प्रधानमन्त्री ओली घडी हेरेर अत्तालिँदै थिए । सबै पार्टीका कुरा आएपछि उनले प्रचण्डलाई भने, ‘नीति कार्यक्रम आउने बेला यस्तै गर्नुभयो । अब बजेट पास गर्नुपर्ने छ, फेरि त्यस्तै गर्न थाल्नुभयो । कांग्रेससँग बसेर आगामी सरकारको भित्री तयारी गर्ने र यता आएर फेरि यसो र उसो भन्ने ? मलाई प्रधानमन्त्रीको साह्रै मोह भएको पनि होइन । अविश्वास र असहयोगमा सरकार अगाडि बढ्न सक्दैन । एउटा निर्णयमा पुग्नैपर्छ । नेतृत्वको प्रश्न त्यति ठूलो होइन । समय आएपछि यो स्वतः हस्तान्तरित हुन्छ ।’
यसरी ओली बोल्दाबोल्दै प्रचण्ड चर्किए, ‘त्यसो भए मैले कुरा बुझेँ । चिजहरु अब नमिल्नेभयो ।’ कमल थापाले भने, ‘आवेशमा आइरहनुपर्दैन ।’ ओलीले थपे, ‘अघि एउटा सन्दर्भमा एक थोक भनिहालेँ । केही छैन । मिल्ने ठाउँहरु छन् । मिलेर जाने ठाउँ भएसम्म मिलेरै जाऔँ भन्न खोजेको हुँ ।’
कमल थापाले भने, ‘आजै सबै कुरा टुङ्गिदैन । हामी साक्षी बस्ने र नबस्ने कुरा होइन, प्रधानमन्त्रीज्यू र प्रचण्डजी बस्नुस् । कोलिसन नढाल्ने गरी जेजस्तो सहमति गर्नुहुन्छ, स्वीकार्छौं ।’ र, अर्को वार्ता तय भयो भोलिपल्टका लागि । सोमबारको वार्तामा एमाले नेताहरु वामदेव गौतम, माधव नेपाल, ईश्वर पोखरेल, सुवास नेम्बाङ (एकछिनमा हिँडे), भीम रावल, अग्नी खरेल, भानुभक्त ढकालसहित सीपी मैनाली, चित्रबहादुर केसी, विजयकुमार गच्छेदार, टोपबहादुर रायमाझी, कमल थापा, दीपक बोहोरा, मेघराज निसाद, राजिव पराजुली, विश्वेन्द्र पासवान, शिवलाल थापाको पार्टीबाट काजीमान आत्रेयहरु थिए ।
भोलिपल्ट, सोमबार साँझ ५ बजेको समय तोकियो, तर प्रधानमन्त्री र प्रचण्डमात्रै भेट्ने गरी । त्यसदिन प्रचण्ड ४ बजेर ५० मीनेट पुग्दा बालुवाटार छिरे । र, ७ बजेर १५ मीनेटमा बाहिरिए । साथमा छोरा प्रकाश पनि थिए । प्रधानमन्त्रीसँग वार्ता गर्ने कोठाभित्र राजेश बज्राचार्य, प्रमोद दाहाल र निरु पाल थिए । तर, उनीहरु सबै बाहिर निकालिए । अर्थात्, ढोका थुनेर दुईबीच मात्र कुराकानी भयो ।
प्रकाश क्यान्टिन छिरेर सिगरेट पिउन थाले । निरु पाल गाडी चढेर हिँडिन् । सोमबार दिउँसो ओलीले प्रचण्डलाई फोनमा भनेका रहेछन्, ‘बेलुकी आउँदा एउटा निचोड लिएर आउनुहोला । अब यसो–त्यसो भनेर जाने स्थिति छैन ।’ प्रचण्डले जवाफ दिए, ‘म कोसिस गर्दैछु । भरै सबै कुरा भनौँला !’ स्रोतका अनुसार, प्रचण्डले कुराकानीको शुरुवातमै ओलीलाई भने, ‘मैले सकिनँ ।’ भनिन्छ, ओलीले प्रचण्डलाई महिना–डेढ महिनाभित्र प्रधानमन्त्री पद दिने संकेत गर्दा पनि प्रचण्डले बाध्यता सुनाए, ‘मैले नसक्ने नै भएँ ।’ ओलीले आफ्ना निकटस्थलाई सुनाएअनुसार, सरकार ढाल्ने अभिभारा पूरा गर्नु प्रचण्डका निम्ति सबैभन्दा जरुरी विषय थियो । अाजकाे जनआस्था साप्ताहिकमा खबर छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...