नेकपा माओवादी केन्द्रले नौ बुँदे सहमति कार्यान्वयन नभए बजेट पारित गर्न नदिने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रको आज सम्पन्न पोलिट्ब्युरो बैठकले एमालेसँग दुई महिना पहिले भएको शान्ति प्रक्रियासँग सम्बन्धित नौ बुदे आवश्यक परे सरकारबाट बाहिरिने निर्णय गरेको हो । नौ बुँदे सहमति कार्यान्वयनका लागि प्रमुख सत्तारुढ नेकपा एमालेसँग गम्भिरतापूर्वक छलफल गर्ने र सहमति कार्यान्वयन नहुने स्थितिमा सरकारबाट बाहिरिने निर्णय गरेको हो । सो सहमतिमा अदालतमा विचाराधीन द्वन्द्वकालीन मुद्दाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको दायरामा ल्याउने लगायत शान्ति प्रक्रियासँग सम्बन्धित रहेको छ ।
पोलिट्ब्युरो बैठकले राष्ट्रिय सहमतिविना स्थानीय, प्रदेश र संघीय तहको निर्वाचन गर्न सम्भव नहुने भन्दै सहमतीय सरकारका लागि पहल गर्ने निर्णय गरेको छ । सहमतीय सरकार जुन दलको नेतृत्वमा बनेपनि स्वीकार गर्ने भन्दै त्यसका लागि पहल गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिने केन्द्रीय कार्यालयको निर्णय बैठकले अनुमोदन गरेको छ । सहमतीय सरकार गठन नभएको तथा सरकारले नौ बुँदे सहमति कार्यान्वयन नगरे काँग्रेससँग मिलेर बहुमतीय सरकार बनाउने संकेत गरेको छ ।
बैठकले पार्टीको आठौं राष्ट्रिय महाधिवेशन पुस २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । पार्टीको आन्तरिक सांगठनिक ब्यवस्थापन र समसामयिक राजनीतिक परिस्थितिवारे निर्णय लिन बसेको पोलिटब्युरो बैठकले पुस २३ गते महाधिवेशन गर्ने निर्णय गरेको प्रबक्ता पम्फा भुसालले जानकारी दिनु भयो । गत बैशाखमा १० वटा माओवादी समुहसँग एकता गरी माओवादी केन्द्र बनाइएको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...