काठमाडौं, २१ असार । कलाकारितामा धेरै फन्डा हुन्छन् कतिपय सत्य घटना पनि हुन्छन् । पर्दाबाट हराए पनि मिडियाबाट नहराउने आस धेरै पुराना अभिनेत्रीहरूलाई हुने गर्छ ।
तर, कतिपय अभिनेत्री यस्ता पनि छन्, जसलाई चर्चाभन्दा पनि गहनताले बढी प्रभाव पार्छ । यसकारण पनि हुर्मत लिनेहरूविरुद्ध उनीहरू न्यायिक रूपमा लड्छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
अभिनय गरेको दशकौंसम्म त्यति विवादमा नतानिएकी अभिनेत्री गौरी मल्ल अहिले विवादित विषयमा अगाडि आएकी छन् । उनले जापानको नेपाली दूतावास र गैरआवासीय संघ जापानमा यौनहिंसामा परेको भनी दिएको उजुरीका कारण विवादित भएकी हुन् ।
जापानमा व्यापार गरिरहेका अनोज शाक्यले मल्ललाई एक महिनाअघि जापानमा दुव्र्यवाहार गरेको उजुरी दूतावास र एनआरएनमा परेको थियो । उक्त अभियोग अस्वीकारेका शाक्यले भने मल्लसँग आफ्नो भनाभन भएको स्वीकारे । आफूले यौनजन्य दुर्व्यवहार गरेको आरोप झुटो भएको शाक्यले बताए । गौरीलाई गालीगलौज गरेको विषयमा शाक्यले क्षमायाचना गरेका छन् ।
शाक्यले अब माफी माग्नुपर्ने पालो मल्लको रहेको बताए । ‘मैले उहाँलाई गाली गरेकोमा माफी मागेँ,’ शाक्यले भने, ‘अब ममाथि नचाहिँदो आरोप लगाएर मेरो परिवारलाई आघात पु¥याएकोमा उहाँले माफी माग्नुपर्छ ।’
शाक्यका अनुसार एयरग्रिन नामक जापानी उत्पादनको नेपाली विज्ञापनमा अभिनय गर्न उनले मल्ललाई जापान डाकेका थिए ।
टिकट तथा अन्य खर्चका लागि ३ लाख रुपैयाँ उनले अग्रिम रूपमा गौरीलाई पठाएको बताए । जापान आएपछि गौरीले पूर्व सर्तहरू पालना नगरेकाले विवाद बढेको उनको तर्क छ ।
मल्लसँग शाक्यले गरेको सम्झौतामा एसिया फ्रेन्डसिप एसोसिएसनको अध्यक्षका हैसियतमा अनोज र नेपाल ह्युमन डेभलपमेन्ट प्रालीको निर्देशकका हैसियतमा गौरीले हस्ताक्षर गरेका छन् । औद्योगिक प्रशिक्षार्थी कामदारका रूपमा जापानमा तालिम लिन जान इच्छुक नेपाली युवाहरूको परामर्शदाताका रूपमा गौरीलाई नियुक्त गरिएको सम्झौतामा उल्लेख छ ।
शाक्यले जापानमा १० दिन गौरी आफूसँगै बसेको बताए । उनले भने, ‘हामी दिदीभाइ जस्तो भएर बसेका थियौं । उहाँसँग लामो सहकार्य गर्ने सोचसहित मैले बोलाएको थिएँ । तर, उहाँले मैले भनेका ठाउँमा नजाने र मैले भनेको नमान्ने गरेपछि हप्काएको हुँ ।’
दुईजनाबीच भनाभन हुँदा दुबैले अपशब्द प्रयोग गरेको शाक्यको स्वीकारोक्ति छ । ‘उहाँले पनि मलाई ‘यु ब्लडिफुल‘ बास्टर्ड’ भनेर गाली गर्नुभयो, मैले पनि चलनचल्तीका नेपाली शब्दहरू प्रयोग गरेर गाली गरेँ ।’, उनले भने ।
ललितपुरको बुङमतीमा घर भएका शाक्य करिब २५ वर्षदेखि जापानमा बस्दै आएका छन् । उनी नेपाली कामदारलाई जापानमा बोलाएर तालिम दिने कम्पनीमा म्यानेजमेन्ट कन्सल्टेन्टका रूपमा कार्यरत रहेको बताउँछन् । नेपालमा उनका श्रीमती र दुई छोराछोरी छन् । शाक्यविरुद्ध १८ जेठमा मल्लको उजुरी परेको थियो ।
dainiknepal


0 comments
प्रतिक्रिया दिनुहोस्...